सडक दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं । सिन्धुली र तनहुँमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । ५२ जना घाइते छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ चण्डीभञ्ज्याङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सातजना घाइते छन् ।

दुर्घटनामा परी फिक्कल गाउँपालिका, २ का ५५ वर्षीया तिलमाया बिक, ६५ वर्षीय कुनमान तामाङ, ४० वर्षीया लक्ष्मी बिक, २५ वर्षीया अनीता महत र वडा नम्बर ३ की ३५ वर्षीया शान्तिमाया श्रेष्ठ मृत्यु भएको प्रहरीले जनाएको छ । महादेवडाँडाबाट १२ जना यात्रु बोकेर सदरमुकाम सिन्धुलीमाढी आउँदै गरेको बा१५च ९४२२ नम्बरको जिप बिहान अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते मानबहादुर सुनुवार, गंगामाया बिक र दीपक श्रेष्ठलाई उपचारका लागि काभ्रेस्थित धुलिखेल अस्पताल ल्याइएको छ ।

यसैबीच, बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–२, कमेरेफाँटमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ४० जना घाइते छन् । रामेछापको खाँडादेवी गाउँपालिका–१, कडोरेबाट जन्ती लिएर काभ्रे फर्कँदै गरेको बा४ख ९४३८ नम्बरको टिपर दुर्घटना भएको हो । दुर्घटनामा काभ्रेकी २२ वर्षीय कृष्णमाया माझी र १६ वर्षीय चुन्पाई लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते तिमाल गाउँपालिका, ९ का १२ वर्षीय दिनेश तामाङ र निरज माझीसहित ९ जनाको राजधानीको ट्रमा सेन्टर तथा अन्यको काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले बताए ।

यस्तै, तनहुँको आँबुखैरेनी गाउँपालिका, ६ जालभञ्ज्याङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ४५ वर्षीया चिजमाया गुरुङ र ५० वर्षीय मनबहादुर गुरुङको मृत्यु भएको डिएसपी श्यामु अर्यालले बताए । गम्भीर घाइते उनीहरूको उपचारका क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको हो । जालभञ्ज्याङबाट बन्दीपुर ५ झारगाउँ जाँदै गरेको ग२च ३२७० नम्बरको जिप सडकबाट तल खसेको थियो ।

प्रतिक्रिया