ललितपुर गोदावरी नगरपालिका–४ बडिखेलका पहरी समुदायको पहिचान बेतबाँसबाट विभिन्न हस्तकलाका सामग्री निर्माण गर्नेमा चिनिने गरेको छ । यो समुदायको सदियौँदेखिको पुख्यौँली पेसा बेतबाँसबाट हस्तकलाका विभिन्न सामग्री निर्माण गरी बजारमा बिक्री वितरण गर्ने र दैनिकी चलाउने रहेको छ ।
‘एकदशक पहिले बडिखेलका बस्ने ९५ प्रतिशत यो समुदायका मानिसले बेतबाँसको काम गरी जीवन निर्वाह गर्ने गरेका थिए । तर, हाल करिब ६० प्रतिशतले मात्र अहिले यो पेसा गर्छन्,’ गोदावरी नगरपालिका–४ का वडाध्यक्ष मुकुन्दबहादुर पहरीले बताए ।
‘यो हाम्रो सदियौँ पुरानो पुख्यौँली पेसा हो, मुकुन्दले भने, ‘हाल ४० प्रतिशत हाम्रो समुदायका मानिस अध्ययन गर्ने, विदेश जाने र भिन्नभिन्न पेसामा आकर्षित हुँदा यो हस्तकलाको व्यवसाय विगतको तुलनामा पछि पर्दै गएको छ ।’
यो समुदायले बेतबाँसबाट नाङ्लो., डालो, ¥याक, डसबिन, टोपी, गमला, भित्तेघडी बनाउने गर्छन् । अन्य स्थानका पहरीको तुलनामा विशेष त बडिखेलका पहरीको पहिचान बेतबाँसबाट हस्तकलाको सामग्री निर्माण गर्नेमा विशेष चिनिने गरेका सर्वविदित नै छ । त्यसैले, बडिखेलमा हस्तकला कसरी निर्माण हुन्छ भन्ने अध्ययन, दृश्यावलोकन गर्न थेसिसका विद्यार्थी, विभिन्न संघसंस्थामा आबद्ध मानिसलगायत मुलुकका बाह्य पर्यटक आउने गरेका देखिन्छन् ।
बडिखेलका स्थानीय शिवराम पहरीले बडिखेलमा पर्याप्त मात्रामा बेतबाँस नपाइने हँुदा ललितपुरको सिस्नेरी, लुभु, लामाटार र लेले जानुपर्ने बाध्यता भएको बताए । ‘गर्मी मौसममा बाँसको पालुवा पलाउँछ, त्यसैले मंसिर, पुस र माघ महिनाभर हामी वर्ष दिन भर काम गर्न पुग्ने बेतबाँस जोहो गर्छौं, शिवरामले भने, ‘एउटा बेतबाँसको मूल्य हाल २५० देखि ३०० रुपैयाँ पर्छ, त्यसैले बाँस खोज्न र ल्याउन निकै परिश्रम गर्नुपर्ने हुदा चार–पाँच जना मानिस मिली खोजेर ल्याउछौँ ।’
पहरीले पहिलो चरणमा बाँस खोज्न जाने, काट्ने, बोकेर थुपार्ने, गाडीमा हाल्ने, घर ल्याउने, खसाल्ने, चिर्ने, टुक्राउने, सुकाउने र भण्डारण गर्ने गर्छन् । भने दोस्रो चरणमा घर बसि एकले बाँस खुर्किने, चिर्ने, चोया बनाउने र अन्यले बुन्ने गर्दा जति बुन्यो त्यति धेरै सामग्री उत्पादन हुने पहरी जातिका महिला बताउँछन् ।
‘दिनमा जतिवटा नाङ्लो, डालो, र्याक, डसबिन, टोपी, गमला, भित्तेघडी बुन्दा बुनेकामा आधा नाफा हुन्छ, बडिखेलकी अम्बिका पहरीले भने, ‘एउटा नाङ्लाको मूल्य २०० देखि २५०, डालाको २५० देखि ३००, ¥याक र डसबिनको ३०० देखि ३५०, गमलाको ४० देखि ६०, टोपी र भित्तेघडीको ३०० देखि ४०० रुपैयाँ लिने गर्छौं ।’
पहरीले बुनेका हस्तकलाको सामग्रीको बजार व्यवस्थापन अभावका कारण विचौलियाले बजारमा मनलाग्दो दरमा उनीहरूसँग सामग्री खरिद गरी बिक्री वितरण गर्ने गरेका छन् । वडाले ती सामग्रीको बजार व्यवस्थापन गर्न छिट्टै पहल गर्ने जानकारी दियो ।
बाँसको हस्तकला निर्माणमा पहरी समुदाय त केवल साधनका रूपमा प्रयोग भएका छन् । यो समुदायमा महिनैपिच्छे एउटा चाड पर्ने गर्छ । घर व्यवहार धान्न, रीतिरिवाज, परम्परा, संस्कृति, चाडपर्व मनाउन यिनीहरूले दैनिक हस्तकला निर्माणको काम गर्ने गर्छन् ।
यी समुदायका हरेक मानिसको नाममा व्यक्तिगत जग्गा त छ, तर वर्षदिन खान भने सदियौँ वर्षदेखि नै पुग्दैन थियो । आफूले कुन किसिमको हस्तकलाको सामग्री बुन्न जानेको छ त्यो बुन्ने र दैनिक बजारमा बिक्री वितरण गरी जीवन निर्वाह गर्नेमा हाल ६० प्रतिशत पहरी जाति रहेका बताइएको छ ।
नेपालमा रहेका ५८ जनजातिमध्ये २८औँ मा पहरी जाति पर्छन् । पहरी समुदाय सीमान्तकृत वर्गभित्र पर्छन् । ललितपुरको साविकका गाविस गोटिखेल छम्पी, लेले बडिखेल झरुवारासी चापागाउँ, गोदावरीमा करिब १८ हजार जनसंख्या पहरी जातिको छ । त्यसमा ६ हजार बडिखेलमा बस्ने पहरी विकास संघको तथ्यांकमा उल्लेख छ ।
विशेषगरी प्रदेश–३ को काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, मकवानपुर गरी लगभग आठ जिल्लामा पहरी समुदायको बाहुल्यता बढी छ । अन्य जिल्लाको तुलनामा ललितपुरका पहरीले बढी मात्रामा बेतबाँसबाट नाङ्लो, डालो, ¥याक, डसबिन, टोपी, गमला, भित्तेघडी बुनि जीवन निर्वाह गर्ने गर्छन् । प्रहरी विकास संघले बडिखेलको हस्तकला प्रवद्र्धनका लागि केही समय पहिले लगनखेलमा प्रदर्शनी गरी प्रचारप्रसार गरेको थियो । प्रचारप्रसारका कारण हाल बडिखेलका घरघरमा व्यवसायी सामग्री खरिद गर्न आउने गरेका देखिन्छ ।
आधुनिक किसिमको विद्युतीय बाँस काट्ने प्रविधि बडिखेलमा भित्रिएको छ । बडिखेलवासीले आफ्नो सामग्री प्रचारप्रसार गरी बिक्री वितरण गर्न ललितपुरको टौखेल, कुपण्डोललगायत काठमाडौंको लाजिम्पाट र पानीपोखरीमा पसल खोली आफ्नो सीपमा थप टेवा पु¥याएका बताइएको छ ।
प्रतिक्रिया