‘सातै प्रदेशमा हिंसापीडित महिलाका लागि आश्रयस्थल’

काठमाडौं । हिंसापीडित महिलाका सातै प्रदेशमा स्थापना गरिने भनिएको आवासगृह निर्माण कार्य के हुँदै छ ? प्रतिनिधिसभाको आजको बैठकमा सांसद सरिता न्यौपानेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापालाई सो प्रश्न गरे ।

सांसद न्यौपानेको प्रश्नको जवाफमा मन्त्री थापाले सात वटै प्रदेशमा हिंसापीडित महिलाका लागि आवासगृह निर्माणको काम शुरु भएको जानकारी दिइन् । उनले काठमाडौँको सिफलमा केन्द्रीय रूपमा आश्रयस्थल निर्माण भई सञ्चालनमा आइसकेको उल्लेख गर्दै प्रदेश नं १ का विराटनगरमा अमेरिकी दूतावासको सहयोगमा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइन् ।

उनले भवन निर्माण सम्पन्न भए पनि हस्तान्तरणको प्रक्रिया बाँकी रहेकाले केही समयभित्रै सो भवन नेपाल सरकारको स्वामित्वमा आउने र प्रदेश सरकारको समन्वयनमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ भनिन् । मन्त्री थापाले प्रदेश नं ३ को सिन्धुपाल्चोकमा आवासगृह निर्माण जारी रहेको सदनलाई जानकारी दिइन । यस्तै प्रदेश नं ५ को बर्दियामा पुनः स्थापना केन्द्रमा हिंसापीडित महिला बसिराखेको भन्दै मन्त्री थापाले निकट भविष्यमा नै सातवटै प्रदेशमा पुनः स्थापना गृह निर्माण भई सञ्चालनमा आउने बताइन् ।

उनले चालू आवको बजेटमा व्यवस्था भएको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’मा विनियोजन भएको ७० लाख खर्च गर्ने योजना तय गरिएको स्पष्ट पारिन् । उनले प्रदेश सरकारसँग समन्वय गरेर पनि केही स्थानमा आवासगृह निर्माण हुने जानकारी दिइन् ।

अल्पकालीन आश्रयस्थल मुलुकका विभिन्न १७ जिल्लामा सञ्चालन भइरहेको छ । अल्पकालीन सेवा केन्द्रमा हिंसा प्रभावित महिलालाई उपचार गर्नुपर्ने, समस्यामा परेकालाई आश्रय दिने तथा मनोसामाजिक परामर्श र सीप विकास कार्यक्रम अगाडि बढेको मन्त्री थापाको भनाइ छ ।

यस्तै मुलुकका २५ जिल्लामा हिंसापीडित महिलाका लागि दीर्घकालीन सेवा दिने लक्ष्यका साथ कार्यक्रम अगाडि बढाउन खोजिए पनि बजेट अभाव रहेको गुनासो गरिन् । विगतमा ७७ जिल्लामा महिला विकास शाखा कार्यालय भए पनि स्थानीय तहमा हस्तान्तरण भएपछि महिला विकास कार्यक्रम सञ्चालन गर्न केही समस्या भएको स्वीकार गर्दै मन्त्री थापाले त्यस्तो समस्या समाधानका लागि कार्यनीति बनाएर काम गर्ने योजना अगाडि बढाइएको जानकारी दिइन् ।

प्रतिक्रिया