धनकिरण साँझ हुँदै

झापा । गायक धनकिरण गुरुङको सांगीतिक प्रस्तुति हुने भएको छ । बेलायतको फक्सटन सिटीका पूर्वकाउन्सिलर गुरुङलाई आगामी फागुन ३ गते काँकडभिट्टामा साङ्गीतिक अवतारमा देख्न पाइने भएको छ ।  मेचीनगर–६ काँकडभिट्टामा घर भएका उनी बेलायतमा काउन्सिलर निर्वाचित हुने प्रथम नेपाली समेत हुन् । बेलायती गोर्खा सैनिक सेवामा १८ वर्ष बिताएका गुरुङलाई काउन्सिलर बनेपछि राजनीतिक रुपमा देख्न पाइएको थियो । फौजी र राजनीतिक अवतारपछि अब उनलाई साङ्गीतिक अवतारमा देख्न पाइने भएको हो ।

द गोर्खा मेमोरियल फाउन्डेसन नेपाल र काँकडभिट्टा भेट्रान फुटबल क्लबको संयुक्त आयोजनामा फागुन ३ गते ‘धनकिरण गुरुङ, गोर्खा साङ्गीतिक साँझ’ हुन लागेको हो । कार्यक्रममा गुरुङले आफैँ गिटार बजाउँदै आफ्नो सुमधुर स्वरले नेपाली सङ्गीतप्रेमीलाई ‘फ्यान’ बनाउने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रम काँकडभिट्टा मावि मैदानमा साँझपख हुनेछ । प्रवेशका लागि एक हजार, ५००, र १०० दरका टिकट लाग्ने आयोजकले जानकारी दिएको छ । ‘कन्सर्ट’ मा भाग लिन गुरुङ बेलायतबाट झापा आइसकेका छन् । उनले कन्सर्टबाट सङ्कलन हुने सम्पूर्ण रकम स्थानीय क्षेत्रको शिक्षा, स्वास्थ्य, खेलकूद र विपद् व्यवस्थापनका निम्ति प्रदान गर्ने घोषणा गरेका छन् ।  कार्यक्रममा गायिका मेलिना राई र लोकप्रिय हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको समेत प्रस्तुति रहने जनाइएको छ ।

प्रतिक्रिया