१२औं दक्षिण एसियाली शारीरिक सुगठन हुने

काठमाडौं । सातौँ मिस्टर हिमालय शारीरिक सुगठन र दोस्रो पुरुष फिटनेस फिजिक्स तथा महिला एथ्लेटिक्स फिजिक्स च्याम्पियनसिप आगामी वर्षको पहिलो महिना काठमाडौंमा हुने भएको छ । बालुवाटारमा मंगलबार एक कार्यक्रम गर्दै नेपाल शारीरिक सुगठन तथा फिटनेश संघले आगामी वर्षको वैशाखमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता हुने जानकारी दिएको हो । मिस्टर हिमालय वैशाख २० र २१ गते तथा १२औं दक्षिण एसियाली शारीरिक सुगठन आगामी असार ५ र ६ गते काठमाडौंमा हुनेछन् ।

मिस्टर हिमालय १२औं दक्षिण एसियाली शारीरिक सुगठनको छनोट प्रतियोगितासमेत रहेको संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिए । उक्त प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीमाथिको तौल गरी ६ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

एउटा क्लब तथा संस्थाबाट प्रत्येक समूहमा दुई खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् । प्रत्येक तौलसमूहका खेलाडीबीच २० गते हुने प्रिजजिङबाट २१ गते हुने अन्तिम चरणका लागि गरेको प्रदर्शनका आधारमा खेलाडी छानिनेछ भने शीर्ष दुईलाई अन्तर्राष्ट्रिय प्र्रतियोगितामा सहभागी गराइने संघका उपाध्यक्ष राजभण्डारीले जानकारी दिए ।

प्रत्येक तौलमा शीर्ष तीन स्थान हात पार्नेले २५, १५ र १० हजार रूपैयाँ प्राप्त गर्नेछन् । चौथो र पाँचौं हुनेले ट्रफी प्राप्त गर्नेछन् । ओभरअल च्याम्पियनले ‘मिस्टर हिमालय’ उपाधिका साथै नगद २ लाख ५० हजारसहित ट्रफी तथा ब्यानेटले सुसज्जित हुँदै उपाधि हात पार्नेछ । प्रत्येक दुई वर्षमा मिस्टर हिमालय आयोजना हँुदै आएको छ ।

सोही प्रतियोगितामा महिला एथ्लेटिक्स फिजिक्स २०७६ पनि आयोजना हुनेछ । प्रत्येक समूहबाट फाइनल चरणमा शीर्ष तीन स्थान हात पार्ने खेलाडी २५, १५ र १० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।  संघले १२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताबाट छानिएका खेलाडीको क्षमतालाई आधार मानी ३ वर्षभित्र एसियन तथा विश्व शारीरिक सुगठन प्रतियोगितामा स्वतः प्रतिस्पर्धा गर्न पाउने प्रावधान रहेको जनाएको छ ।

प्रतिक्रिया