विमानस्थल बन्यो गौचरन

पच्चीस वर्षदेखि हवाईजहाजले उडान भर्न छाडेपछि गोकुलेश्वर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । हवाईजहाज आउन जान छाडेपछि उक्त विमानस्थल अहिले केटाकेटीको खेल मैदान र गौचरनका रुपमा प्रयोग हुँदै आएको छ ।

मुलुकमा सशस्त्र द्वन्द्व सुरु भएसँगै विसं ०५० देखि जहाजले उडान भर्न छाडेकाले यो विमानस्थल गाईभैँसीका लागि चरन क्षेत्र बनेको छ । द्वन्द्वका बेला तत्कालीन माओवादीले विमानस्थलमा रहेको टावर, टर्मिनल भवन, साइड अफिसलगायतमा आगजनी गरेपछि त्यसयता भवन पुनःनिर्माण हुनसकेको छैन । विमानस्थलका कार्यालय सहयोगी रामदत्त विष्टले भने, ‘यो विमानस्थलसँगै बन्द भएका सुदूरपश्चिम प्रदेशका अन्य केही विमानस्थल कालोपत्रे भएर सञ्चालन आइसक्दा पनि यो विमानस्थल अझै सञ्चालन हुने छाँटकाँट छैन ।’ उनले विमानस्थल सञ्चालन नभएकोमा दुःख समेत व्यक्त गरे ।

सिंगो दार्चुला जिल्ला र बैतडी जिल्लाको आधाभन्दा बढी भू–भागले सजिलै सेवा पाउने यो विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाका थुप्रै विकासका योजनामा असर पर्नाका साथै उपचारका लागि अन्यत्र पठाउनुपर्ने जटिल अवस्थाका बिरामीले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेको छ ।

‘विमानस्थल सञ्चालनमा ल्याउने भनेर जिल्ला र जिल्ला बाहिरका नेताहरूले पटक÷पटक भाषणमा जोड दिए पनि अझै पहल गरेको देखिदैन,’ उनले भने, ‘यो विमानस्थल सञ्चालन हुँदादेखि नै कार्यरत छु । अहिले नेपालगञ्ज गएर हाजिर बुझाएर तलव लिन्छु तर आफ्नै जिल्लाको विमानस्थलको अवस्था नाजुक बन्दै गएकामा खिन्न छु । अतिक्रमणको चपेटामा विमानस्थल परेको देख्दा नियास्रो लाग्न थालेको छ ।’ वर्षो पहिला उनकै अघि हवाईजहाज बसेको ठाउँमा अहिले गाई भैसी चरन र खेल मैदान बनेको देख्दा उनलाई चित्त बुझेको छैन । तर, नबुझे पनि उनी गर्न केही सक्दैनन ।

तत्कालीन बोहरी गाउँको देवस्थलीमा विमानस्थल निर्माणका लागि प्रस्ताव गरिएकामा स्थानीयवासीले स्वीकृति नदिएकाले चमेलिया नदी किनारमा रहेको गोकुलेश्वरमा विसं ०४४-४५तिर विमानस्थल निर्माण गरिएको थियो ।

हप्तामा एक–दुई उडान त्योवेला पनि निरन्तर हुन्थ्यो कार्यालय सहयोगी विष्टले भने, ‘नेपालगञ्ज–गोकुलेश्वर र गोकुलेश्वर–महेन्द्रनगरका लागि उडान हुँदै आएको थियो । रातिसमेत हवाई टिकट काट्नुपर्ने यो विमानस्थल ०५० देखि भने पूर्ण रूपमा बन्द छ ।’
विमानस्थलको वरिपरिका तारजाली फालिएकाले निर्बाध रूपमा गाईवस्तु भँैसी चरिचरनका लागि बाटो बनेको छ । अहिले पनि सुदूरपश्चिम प्रदेशको राजधानीबाट झण्डै ३ सय ४५ किलोमिटर सडक मार्गबाट दार्चुला सदरमुकामसम्म पुग्न कष्टप्रदयात्रा गर्नुपर्ने बाध्यता छ, स्थानीयवासी गंगादत्त जोशीले भने ।

वेला वेलामा तालुक मन्त्रालयबाट टोली सर्भेक्षणका लागि आए पनि त्यसपछि के पहल भयो भन्ने जानकारी बाहिर आउँदैन । गत मङ्सिरमा पनि एउटा टोलीले यो विमानस्थल निरीक्षण गरेर फर्केको थियो । उक्त टोलीले विमानस्थल बन्द भएपछि निर्माण भएका भवन तथा दुई जिल्ला जोड्ने चमेलिया पुल पनि विमान सञ्चालनका लागि बाधक बन्ने प्रारम्भिक जानकारी मात्रै गरायो, जोशीले भने, ‘अहिले पनि विमानस्थल सञ्चालनका लागि ठोस पहल भएको छैन् ।’

विमानस्थल सञ्चालन गर्न सके पर्यटन प्रवद्र्धनका साथै व्यापार वृद्धि हुने अवस्था छ, स्थानीय नेता लालबहादुर विकले भने । तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरले सुदूरपश्चिमभरका विमानस्थलमा हेलिकप्टर सञ्चालनमा ल्याएर तिनलाई व्यवस्थित गराउने यही विमानस्थलको धावनमार्गमा आयोजित कार्यक्रम उल्लेख गर्नाका साथै चार लाख ३० हजार रुपैयाँ बजेटसमेत विनियोजन गरे पनि कुनै प्रगति हुन सकेन ।

दिलेन्द्रप्रसाद बडू ,प्रेमसिंह धामी, लक्ष्मणदत्त जोशी, गणेशसिंह ठगुन्नालगायत नेताले मेरै पालामा यो विमानस्थल सञ्चालनमा ल्याउँछु भनेर भाषण गर्दै आए पनि विमानस्थलको अवस्था नसुध्रिएकाले ती नेताका वाचा र भाषण कोरा गफ मात्र भएको स्थानीयवासीले भन्न थालेको शैल्यशिखर नगरपालिका– ९ गोकुलेश्वरका युवा नेता कालु चन्दको भनाइ थियो ।

प्रतिक्रिया