चरिकोटदेखि दिल्लीसम्म जिउँदो आकाश

“मैले नाटक सकिएपछि पनि ताली बजाइनँ ।” भारतको आसामको गुहाटीस्थित श्रीमन्त माधवदेव अन्तर्राष्ट्रिय प्रेक्षागृहमा नाटक हेरेका एक दर्शकले भने ।  सोही नाटक दुई दिनको फरक पारेर दिल्लीको नेसनल स्कुलको अभिमञ्चमा मञ्चन भयो । त्यहाँ नाटकको सुरु हुनासाथ बीचबीचमा ताली पड्किरहे । अन्त्यमा त तालीको गड्गडाड र हुटिङसमेत भयो ।  यो प्रसंग हो आठौँ अन्तर्राष्ट्रिय ओलम्पिक थिएटरमा प्रदर्शित नाटक जिउँदो आकाशको ।

नेपालका नाटकघरमा नाटक सुरु हुनुभन्दा अगाडि उद्घोषक मञ्चमा उभिन्छ र दर्शकलाई के गर्न हुन्छ, के गर्न हुँदैन भन्दै दर्शकलाई नाट्य अनुशासनका केही नियमहरू बताउने गरिन्छ । साथीभाइसँग कुरा गर्न हुँदैन, चुपचाप हेर्नुपर्छ, तर हाँस्ने ठाउँमा हाँस्न र रुने ठाउँमा रुन छुटाउन भने पाउनु हुँदैन, पानी पिउन पाइन्छ, खाना खान पाइँदैन, नाटक नराम्रो माने निदाउन पाइन्छ तर घुर्न पाइँदैन आदि दर्शकहरूलाई नाटक अवधिभर नियमले बारबुर गरी राखिन्छ नाटकघरभित्र । प्रायः दर्शक पनि यस विषयमा आफूलाई अभ्यस्थ बनाइसकेका छन् । कहिलेकाहीँ त तपाईंहरूलाई थाहा भएकै कुरा हो केही भन्नु पर्दैन होला भन्दै पूरै नियमहरू भनीटोपल्छन् । कतिपय नाटकमा त झन् नाटककै एक दृश्यकै रूपमा प्रयोग गर्दै पात्रलाई भन्न लगाइछाड्छन् ।

हामी यसै परिवेशबाट हुर्केका रंगकर्मी नेपालबाट भारततर्फ नाटक देखाउन भारतीय भूमिमा पुग्यौँ ।

२०७४ फागुन २६ गते रातको ११ बजे गुहाटीको रेलस्टेसनमा उत्रियौँ । हामीलाई लिन आउने मान्छे मस्त सुतेछन् या हाम्रा नाटकका संयोजक दिपल बरालको सञ्चार गडबडीले हो एक घन्टा लामखुट्टेले दह्रो आक्रमण गरे । रेलस्टेसन परिसरमा मान्छेहरू उत्तानै पल्टेका छन् । कल्याङमल्याङ आवाज छ, हामी १२ जनालाई भने पोषण पाएका मोटामोटा लामखुट्टेले नराम्रोसँग स्वागत गरे । हातपाउशिर कतै पनि बाँकी राखेनन् । यतिसम्म कि मोजामै आक्रमण गरेर पनि भोजनमा सक्रिय हुन खोज्ने दुस्साहास गरे ।

रातको १२ बजे दुई जना एउटा गाडी लिएर आए अनि २४ सै घन्टा खुल्ला हुने होटलमा लगे । हामीले खाना खायौँ र सुत्न गयौँ सामान्य लजमा । अर्को दिन हामीलाई होटल ब्ल्युमुनमा सारियो । जहाँ नजिकै ब्रह्मपुत्र नदी विशाल रूप लिएर बगेको थियो ।  गुहाटीमा नाटक मञ्चनको ११ देखि २५ मार्चसम्मको समय तालिका तय रहेछ । विवाहमण्डपजस्तै नाट्यगृह सिँगार्दै थिए कालीगढ/रंगकर्मीहरू । पहिलो दिन भएर होला सबै जना आ–आफ्नै विभागका काममा दौडधुप देखिन्थे ।

विभिन्न नाट्य समूहहरू भेला हुँदै थिए । हाम्रा टिमका साथीहरू जिउँदो आकाश नाटकको ब्यानरमुनि आफूलाई राख्दै मोबाइल र क्यामराबाट तस्बिर लिन व्यस्त भए । त्यसपछि वर्कसपमा हामीले पठाएको डिजाइनअनुरूप बन्दै गरेका सेटका सामानहरूमा केन्द्रित भयौँ ।

२०७४ फागुन २७ गते साँझ करिब ५ बजेतिर त्यो नाटकघरअगाडिको विशाल मैदानमा विभिन्न सांस्कृतिक झाँकीहरूको आगमन भयो । अनेक खाले लोक नाच, प्रयोग गरिएका रंगीविरंगी वेशभूषा, वाद्यवादन तथा गीत संगीत र संस्कृतिहरूको प्रदर्शनले कलापारखीहरूलाई आकर्षित ग¥यो । म त्यो कलाकारहरूको मानवसागर देखेर रोमाञ्चित भएँ । हाम्रा साथीहरूले क्यामरा, मोबाइलमा ती दृश्यहरूलाई कैद गर्न छुटाएनन् । कलाको सामथ्र्य नै त्यही हो–जसले भूगोल चिर्छ, सीमा चिर्छ अनि सम्प्रदायिक साँघुरोपनालाई चिर्दै एकताको मालामा उन्दै सबैको सम्पत्ति बनाइदिन्छ ।

सांस्कृतिक झाँकीलगायतका कला प्रदर्शनपश्चात प्रेक्षालयभित्र हामी प्रवेश ग¥यौँ । आसामका मुख्यमन्त्रीले मन्तव्य दिए । उद्घाटन भयो । कलकत्ताको टोलीको नाटक हे¥यौँ । मञ्चमा आसिन सीमा विश्वासलाई देखेपछि आफन्ती देखेजस्तो भयो । उनी पटकपटक नेपाल आएकी थिइन् र उनले अभिनय गरेको एकल नाटक मैले काठमाडौमा हेरेको थिएँ । म उनीसँग केही संवाद गरँ । नेपालबाट आएको खबर सुनेर खुसी भइन् । हामीलाई शुभकामना दिइन् । हामी कलकत्ताको टोलीले देखाएको नाटक हेरेर होटलतर्फ रमाना भयौँ ।


अर्को दिन (फागुन २८ गते) हाम्रो नाटकको प्रदर्शनी थियो । चिटिक्कको करिब ३०० दर्शकहरूको खचाखच भरिएको प्रेक्षालयमा मधुरो प्रकाशमा महिला उद्घोषकको नेपथ्यबाट अत्यन्त सुमधर आवाज आयो । जिउँदो आकाशको नाटकका निर्देशक, नाटकको कथासार तथा नाटकका नियमहरू सम्प्रेषण गरिएको थियो । सुनुसुनु लाग्ने कर्णप्रिय स्वरलहरीले मन्त्रमुग्धै पा¥यो । पिन ड्रप साइलेन्समा नाटक मञ्चन भयो । हाम्रो १२ जनाको टिमलाई मञ्चमा बोलाइयो । नाटककार, निर्देशक र कलाकारलाई दर्शकदीर्घाबाट प्रश्नहरू सोधियो ।
त्यहाँका नाट्यप्रमुख प्राञ्जल शाहले जिउँदो आकाश नाटक छनोट गर्दाको संस्मरण सुनाए । उनले भने, “हामीले संसारका धेरै देशका एकल नाटकहरूमध्ये यो नाटक उत्कृष्ट लागेर यहाँ पारेका हौँ । नाटक हेर्दा सो कुरा प्रमाणित भयो ।” हामी मञ्चबाट ओर्लेपछि त्यहाँका नेपाली समूहका संयोजक बिजितले भने, ‘मैले नाटक सकिएपछि पनि ताली बजाइनँ ।” म छक्क परेर सोधेँ, किन ? उनले सहज उत्तर दिए,“नाटकको अन्त्यले जुन प्रभाव पा¥यो, त्यो प्रभाव तालीको कारण कतै मेरो मानसपटलमा कमी हुन्छ कि भनेर । नाटकले दिएको ऊर्जा साँचेर राखूँ भन्ने भो ।”

कामाख्य मन्दिर र ब्रह्मपुत्र

फागुन २९ गते २ः५ को गुहावाटीदेखि दिल्लीसम्म एयर इन्डियाको यात्रा थियो । अर्को नाटक प्रदर्शनको लागि दिल्ली जानु थियो । गुहावटीको प्रदर्शन राम्रो भएकोले हाम्रोे मन चंगा भएको थियो । हामीले बिहानको खाली समयलाई सदुपयोग गर्ने विचार ग¥यौँ । हाम्रा लागि त्यहाँ घुम्नयोग्य प्रमुख कुरा दुुई कुरा भए–प्रसिद्ध कामाख्याको मन्दिर र ब्रह्मपुत्र नदी ।
कामाख्या मन्दिर पार्वतीको योनी पतन भएको हिन्दूहरूको पवित्र तीर्थस्थल रहेछ । भक्तहरूको लामो पङ्क्ति थियो । कामख्याको मन्दिरको दर्शनले मनोकांक्षा पूरा हुने जनविश्वास रहेछ । रातो वस्त्रधारी पण्डाहरू यत्रतत्र घुमिरहेका देखिन्थे । दर्शनपछि मन्दिर परिसरमै रहेको म्युजियममा पुग्याँै । त्यहाँ रहेका प्राचीन हातहतियार, वाद्यवादन, राजा–महाराजाले प्रयोग गरेका सरसामानहरू नियाल्यौँ ।

मलाई लीलाबहादुर क्षेत्रीको ‘ब्रह्मपुत्रको छेउछाउ’ भन्ने उपन्यासको याद आयो । त्यसले मलाई प्रवासी नेपाली समाजको जीवनचित्र महसुस गराएको थियो । जुन उपन्यासमा वर्णित परिदृश्य गुहाटीमा पाइनँ; कारण समयको फेरबदल हुन सक्छ । गुहाटी राम्रो र विकसित सहर रहेछ । ब्रह्मपुत्र नदी हामी बसेको होटल नजिकै भएकोले हेर्न नपाई छुट्छ कि भनेर मैले नै कर गरेर ४, ५ जना साथीहरू लिएर बिहानै पुगेको थिएँ । धीत मरेको थिएन । कामख्याको दर्शनपछि पुनः विशाल नदी ब्रह्मपुत्रलाई एकपटक स्पर्श गर्ने इरादाले पुग्यौँ । हामीलाई अझै २, ३ घन्टा समय थियो । सिमसिम पानी परिरहेको थियो । विशाल रूप लिएर बगेको नदीको किनारमा मज्जा आयो । नाउचालकहरूको खाना बनाउने समय भएको रहेछ । पानीमा तैरिरहेको नाउभित्रै सानो ओत बनाई खाना बनाउने रहेछन् । हाम्रा साथीहरू बडो चनाखो भई हेरिरहे । भाँडा माझ्ने त्यही पानी, खाना बनाउने त्यही पानी अनि घटघट पिउने पनि त्यही पानी । मलाई सिकसिको लाग्यो । हाम्रा साथीहरूले नाउचालकलाई साथी बनाइहाले । उनले कालो कराइमा केही थान बुढीऔँलाजत्रा माछा तारे । एकैछिनमा नदीबाट एक मग पानी उहाए र कराईमा झ्वाइँ गराए । एकैछिनमा माछा तयार पारी हाम्रो टोलीलाई १२ वटा माछा गनेरै थालमा दिए; बाँकी आफूलाई सुरक्षित गरे । साथीहरू रमाई रमाई त्यो माछाको स्वाद लिए ।

गुहावटी हवाई मैदानबाट दिल्लीको लागि जहाज ठिक समयमा उड्यो । करिब साढे तीन घन्टा भारतीय आकाशमा बितायौँ । साथीहरूले कागजका केही नयाँ खेल खेलाए । दिल्लीको अन्तर्राष्ट्रिय इन्दिरागान्धी एयरपोर्टमा हामीलाई लिन एउटा गाडी पर्खेर बसेको रहेछ । साँझ दि अशोका होटलमा लिएर गए । हामीले मन्डीहाउस अवस्थित राष्ट्रिय नाट्य विद्यालयमा पुगी त्यहाँको थिएटर हेर्ने योजना बनाएका थियौँ । धेरै थाकेर लोत परेको र साँझ भएकोले आराम गर्नतिर लाग्यौँ । दुई दुई जनालाई एक एकवटा अपार्टमेन्ट तय गरिएको थियो । मेरो भागमा परेका थिए पत्रकार सुकृत नेपाल ।

अर्को दिन बिहानै हामी थिएटरतिर लाग्यौँ । त्यही साँझ (फागुन ३०) मा हाम्रो नाटक अभिमञ्चमा प्रदर्शन गर्ने समय तालिका थियो । अत्यन्त व्यवस्थित मञ्च रहेछ । प्रकाश, ध्वनि, सेट सबै विभागका प्रमुखहरूसँग सहकार्य गर्दै मञ्च तयार पा¥यौँ । नेपाली दर्शकहरू पनि नेपाली नाटक हेर्न इरादा राखेर प्रतीक्षारत रहेछन् । नाटक मञ्चनको सुरुआतमा मात्रै होइन, बीचबीचका दृश्यहरूमा तालीको वर्षा हुन थाल्यो । नाटकको नियम त बताइएको थियो । चुरो कुरा के रहेछ भने नेपाली दर्शकहरूले मन थाम्न नसकेर बिच बिचका दृश्यहरूमा ताली नै बजाए । कलाकार अनिल सुब्बाले दर्शकको मनोभावना बुझ्दै आफ्नोे सुन्दर कला प्रस्तुत गरे । नाटक सकिएपछि सम्मानपत्र ग्रहण गर्ने क्रममा एकजना पत्रकार मञ्चमा आइन् र केही प्रश्न सोधिन्, मैले टुटेफुटेको अंग्रजी र हिन्दी भाषामा उत्तर दिएँ ।

अर्को दिन गोदावरी हलमा निर्देशक तथा कलाकारको बिचमा अन्तत्र्रिmया कार्यक्रममा निर्देशक आर के मेहेता र अनिल सुब्बाले सबालको जवाफ दिए । सायद हाम्रा निर्देशक उक्त आठौँ अन्तर्राष्ट्रिय ओलम्पिक थियटर फेस्टिबलका कान्छा निर्देशक थिए । सो कार्यक्रमपछि अर्को दिन हाम्रो नेपाल प्रस्थान गर्ने योजना थियो । दि अशोका होटलबाट बिहानको ११ बजे नाट्यशालामा पुग्यौँ । पोका पन्तरा एउटा कोठाको कुनामा थन्क्याएपछि हामी केही घन्टा स्वस्तन्त्र भयौँ ।

आ–आफ्नै तालमा घुम्ने विचार गरी हामी केही साथीहरू चाँदनी चोकमा किनमेलका लागि मेट्रो चढेर गयौँ । जमिनको सतह, जमिनमुनिको सतह अनि जमिनमाथि आकाशे पुलमा सवारी साधन अनवरत कुदेका छन् । हरित सहर निर्माणको अभियानस्वरूप ठाउँठाउँमा सुन्दर बगैँचाहरू देखिन्छन् । सडकछेउ रुख विरुवा ढकमक्क छन् । सफा छ सहर । गरे के हुँदैन र ? मनमा गन्थन हुन्छ ः ‘हाम्रो काठमाडांैका आगन्तुकले देख्ने सडक सार्क सम्मेलनमा रातारात बनाएका थिए । फूलबिरुवा पनि बोटैसहित गाडेका थिए । अहिले पनि राम्रो देखिन्छ । तर नदेखिने चाबहिल, नयाँ बस्तीलगायतका ठाउँहरू जस्ताको तस्तै छन् । सडकमा जमेका साना साना पोखरीलाई छलाउँदै चालकहरूले सवारी हाँकिरहेका छन् ।’ जहाँ गए पनि मनले त आफ्नै भूमिलाई सम्झिँदो रहेछ ।

साँझ ६ बजे दिल्ली रेलस्टेनसनबाट राजधानी एक्सप्रेसमा गोरखपुरसम्मको यात्रा तय भएको थियो । हामी एक घन्टापहिले नै स्टेसन पुगेर आरम कक्षमा लगेज जति सबै एकै ठाउँ थुप्रो बनाई आराम ग¥यौँ । जिम्मेवारी पूरा गरेकोमा एक किसिमले स्वतन्त्र महसुस ग¥यौँ पनि । १२ जना सदस्यमध्ये विनोद ढकाल व्यक्तिगत काममा दिल्लीमै रहने भए । गायक विश्व काफ्ले सुनील पोखरेल निर्देशित नाटक ‘जयामाया आफू मात्रै लिखापानी आइपुगी’ को प्रदर्शनको लागि प्रत्यक्ष संगीतमा संलग्न भएकोले उनी भोपालतर्फ प्रस्थान गरे । टंक टाइगरले पनि सिलगुडी जाने प्लेन समाए । अब बाँकी हामी ९ जना थियौँ ।

साँच्चै भन्ने हो भने मलाई यात्रा गर्न खुब मन पर्छ । नयाँ नयाँ ठाउँ घुम्ने अवसर मैले रंगमञ्चीय यात्राबाटै धेरै पाएको छु । नेपालका धेरै जिल्लाहरू यस्तै प्रसङ्गबाट घुम्न पाएको छु । यसपटक आफैँले लेखेको नाटक आठौँ अन्तर्राष्ट्रिय ओलम्पिक थिएटर फेस्टिभलमा छानिएर टोलीकै एक जिम्मेवार व्यक्तिको हैसियतमा पुग्दै थिएँ । मनमा रमाइलोपन, एक किसिमको नाटकयात्रा सफल पार्ने चुनौती, नयाँ ठाउँ घुम्ने आकांक्षा सबै सबै मिसिएको थियो यात्रामा ।

२०७४ फागुन २५ गते काठमाडांैबाट हिँड्ने हाम्रो योजना थियो । तर त्यही दिन बन्दको हल्लाले २४ गते राति ८ बजे नै गौशालाबाट छुटेका थियौँ सिन्धुलीको बाटो हुँदै । भनिन्छ यात्रामा हिँड्दा मान्छेका सबै आनीबानी चिनिन्छ । उसको असली चरित्र पनि बुझिन्छ । हामी १२ जना एउटा परिवार भएर ११ दिनसम्म सँगै यात्रा ग¥यौँ । पहिलो दिनको अँधेरी रातमा कुशल तबलावादक सुशान्त चालिसेले सिन्धुलीसम्म एक्लै लिड गरे । सानो माइक्रो भ्यानभित्र पुलिंगी पात्रहरूको मात्र जमघट थियो । अनेक चुड्किला, गीतभजन गाउँदै सबैलाई खुतुतु हँसाए । बीचबीचमा कलाकार अनिल सुब्बाले थपथाप गरी चालिसेलाई साथ दिए ।

काठमाडौंमा छँदा जहिले व्यस्त रहने काजी राना चाँडै नै घुलमिल भए र घोचपेच गर्न थाले र यात्रालाई मसालेदार बनाए ।
अर्का मुरलीवादक विनोद बन्जराले अचानक ः ‘नरिसाउनु न मेरो मुखै यस्तो हो । कालै छ, रिसाइहाल्नु पर्छ त’ भन्दै प्रश्न गर्छन् र उत्तर दिने मान्छे पक्क परेर उनलाई हेर्छ । उनी निरन्तर बोल्छन् ः ‘मेरो मुखै आगो हो’ .. अनि खुतुतु हाँस्छन् र सबैलाई गलल्ल हँसाउँछन् ।
हरेकपटकको भान्सामा ‘कागती छ ?’ भन्दै होटलवालासँग कागती मागीपठाउने टंक टाइगर (सङ्ग्रौलाले पनि यात्रालाई रमाइलो बनाए ।
सधैँ दौडधुपमा रहिरहने नाटकका संयोजक नरेन्द्र बराल, निर्देशक आर. के. मेहता, पत्रकार सुकृत नेपाल, मञ्च व्यवस्थापक सम्रान्त थापाले पनि यात्रालाई रोमाञ्चक बनाउने अनेक प्रपञ्चहरू गरे ।

जिउँदो आकाश नाटक वि.सं.२०७३ जेठ २९ गते दोलखाको चरीकोटमा सर्वप्रथम मञ्चन भएको थियो । त्यसमा निर्देशक र कलाकार दुवै आर.के. मेहता थिए । पछि कलाकार अनिल सुब्बाले २०७४ साउन देखि जिउँदो आकाशलाई डो¥याउँदै दिल्लीसम्कको यात्रा गराए । हालसम्म यो नाटक ८६ पटक मञ्चन भइसकेको छ ।

मानसपटलमा अझै ताजै छ, काकडभिट्टा हुँदै सिलगुडीको यात्रा, सिलगुडी रेलस्टेसननेरको बसाई, त्यहाँको चौपट गर्मी, धाधर एक्सप्रेस हुँदै गुहावाटी, गुहावाटी हुँदै दिल्ली अनि दिल्ली हुँदै गोरखपुर अनि काठमाडौंको फिर्ती सवारी । अझै ताजै छ गुहावाटीमा ताली नबजाउने दर्शक र दिल्लीमा नाटकको बीचबीचमा ताली बजाउने दर्शकको छायाचित्र ।

प्रतिक्रिया