५ हजार ट्याक्सी चालक कारबाहीमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘हाउमच’ अभियान सुरु गरेको तीन महिनामा ५ हजारभन्दा बढी ट्याक्सी कारबाहीमा परेका छन् । ट्याक्सी चालकले विभिन्न बाहनामा यात्रुहरूलाई ठग्ने गरेको पाइएकाले ट्याक्सी चालकमाथिको कारवाहीलाई तीव्रता दिएको महाशाखाले जनाएको छ ।

प्रहरीले २० मंसिरदेखि सो अभियान सुरु गरेको थियो । महाशाखाले सोमवार र मंगलबार मात्र १ सय २० ट्याक्सी चालकलाई कारवाही गरेको छ । यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराम सापकोटाले जानकारी दिए ।

मानिसको चाप बढि हुने स्थान हस्पीटल, ट्राफिक प्रहरीको उपस्थिति कम हुने क्षेत्रमा ट्याक्सी चालकले ठग्ने गरेको सापकोटाले जनाए । महाशाखाले सोमबार पनि उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने ट्याक्सी चालकलाई कारवाही गरेको हो ।
ट्राफिक प्रहरीले यात्रुसँग भाडा बागेनिङ गर्ने ट्याक्सी चालकलाई ‘हाउमच’ अभियान सञ्चालन गरेरै कारवाही गर्ने गरेको छ ।

‘हाउमच’ अभियानमा कारवाहीमा पर्ने ट्याक्सी चालकलाई प्रत्येक पटक प्रहरीले तीन हजार जरीवाना गर्ने गरेको छ । त्यस्तै पाँच पटकभन्दा बढी ‘हाउमच’ कारवाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिश गर्ने गर्ने महाशाखाले जनाएको छ ।

मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने ५ सयदेखि एक हजार ५ सयसम्म जरिवाना गर्ने छ । प्रहरीले उपत्यकाका विभिन्न स्थानमा नियमित अनुगमन गरी कसुर फेला परेका ट्याक्सी चालकलाई कारवाही गर्दै आएको छ ।

ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल खबर गर्नसमेत महाशाखाले आग्रह गरेको छ ।

यसअघिको तुलनामा यात्रु ठगिने क्रम न्यूनीकरण भएको दाबी गर्दै प्रवक्ता सापकोटाले ट्राफिक प्रहरीले आफ्नो क्षमताले भ्याएसम्म ठगी न्यूनीकरणको अभियान चाल्दै आएको बताए । ट्राफिक प्रहरीले कारबाहीलाई तीव्रता दिए पनि ठगिने क्रम नरोकिएको यात्रुको गुनासो छ ।

प्रतिक्रिया