च्याउखेतीबाट जुम्लाका महिला आत्मनिर्भर

जुम्ला । च्याउखेतीबाट जुम्लाका महिला आत्मनिर्भर बन्न थालेका छन् । महिला समूह तथा व्यक्तिगतरूपमा समेत च्याउ उद्योग सञ्चालन गरेर यहाँका महिलाहरू आत्मनिर्भर बन्न थालेका हुन् । जिल्लामा रहेका सरकारी तथा गैरसरकारी संस्थाले सञ्चालन गरेको तालीममा सहभागी भएर महिलाले सामूहिक च्याउखेती गर्न थालेका छन् ।

आफ्नो आयस्रोत नहुँदा अरुसँग मागेर भए पनि दैनिक आवश्यकता पूरा गर्दै आएका महिलाले अहिले आफैँ कमाउन थालेका छन् । आफूले कमाउन थालेपछि घरायसी खर्च टार्नुका साथै छोराछोरीलाई पढाउन सहज भएको चन्दननाथ नगरपालिका–२ की लक्ष्मी बुढ्थापाले बताईन ।

उनले भनिन, ‘च्याउखेती शुरु गरेपछि कसैसँग पैसा माग्न परेको छैन । आफ्नै कमाइ भएपछि आवश्यकता अनुसारको खर्च गर्न पाएकी छु । पहिला श्रीमान्सँग माग्न सारै गाह्रो हुन्थ्यो । अहिले आफूलाई मन लागेको खर्च गर्न र अरुलाई दिन सजिलो भएको छ ।’ आफ्नै कमाइ भएको हुनाले कसैको मुख ताक्नु र हात थाप्नु नपरेको उनको भनाइ छ । वर्षमा ७० देखि ९० हजारसम्म च्याउखेतीबाट आम्दानी हुने गरेको नगरपालिका ९ की शोभा शाहीले बताईन । घरको अन्य सबै काम सकेर च्याउखेती गर्दै आएको उनले बताईन । ‘छ वर्ष अगाडि श्रीमान्को कमाइले जीवन जिउनु पथ्र्यो । अहिले आफ्नै कमाइले आवश्यकता पूरा गर्न सहज भएको छ’, उनले भनिन् ।

पछिल्लो केही समययता महिला पनि सक्रियरूपमा काम गरेर आत्मनिर्भर बन्दै आएको तिला गाउँपालिका–२ की च्याउ उत्पादन कृषक लछी बोहोराले बताईन । च्याउखेतीबाट राम्रो आम्दानी हुने भएपनि बजार व्यवस्थापनमा भने केही समस्या रहेको उनको भनाइ छ । लछी च्याउ उद्यमी बनेको चार वर्ष भयो । यसबाट सहकारीमा बचत गर्न, छोराछोरीको कापी कलम किन्न सजिलो भएको छ । सबै महिला समूहमार्फत काम गर्न थालेपछि छिटो हुने तर कमाइ राम्रो बनाउन बजार व्यवस्थापन राम्रो नभएको उनको गुनासो छ ।

प्रतिक्रिया