स्टेफानोस सिनसिपास सेमिफाइनमा

एजेन्सी, मेलबर्न । २० वर्षे स्टेफानोस सिनसिपासले पनि करियरको उत्कृष्ट प्रदर्शन गर्दै वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका छन् । उनी कुनै पनि ग्रान्डस्लाममा पुग्ने पहिलो ग्रीसका खेलाडी समेत बनेका छन् ।  साथै स्टेफानोस सन् २००७ पछि ग्रान्डस्लाम पुग्ने पहिलो युवा खेलाडी समेत बने । ०७ मा २० वर्षको उमेरमा नोभाक जोकोभिच युएस ओपनको सेमिफाइनलमा पुगेकी थिए । १४औं वरीयतामा रहेका स्टेफानोसले क्वार्टरफाइनलमा स्पेनिस स्टार रोबर्टो बाउटिस्टामाथि ७–५, ४–६, ६–४ र ७–६ (७–२) को सेटमा जित निकाले ।

स्टेफानोसले सेमिफाइनलमा १७ पटकका ग्रान्डस्लाम च्याम्पियन स्पेनिस स्टार रफाइल नाडलको चुनौती सामना गर्नेछन् । नाडालले भने क्वार्टरफाइनलमा अमेरिकी युवा खेलाडी फ्रान्सेस टाइफोईलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका थिए ।  सेमिफाइनलमा भने नाडलले युवा खेलाडी स्टेफानोसको पनि चुनौती सामना गर्नेछन् । स्टेफानोसले अन्तिम १६ मा स्वीस स्टार रोजर फेडेरलाई स्तब्ध बनाएकी थिए । नाडलले पनि स्टेफानोसको खेलप्रति जानकार रहेकाले निकै सजक हुनुपर्ने बताएका छन् । ‘उनी (स्टेफानोस) सँग सबै पक्ष उत्कृष्ट छ,’ एक पनि सेट नगुमाएका नाडलले भने,‘उनको खेल निकै तीव्र छ । सर्भिस र फोरह्यान्डमा पनि उनी माहिर छन् । उनीसँग आक्रामक खेल शैली छ ।’

विश्व नम्बर–६ की पेत्रा केभितोभाले वर्षको पहिलो ग्रान्डस्लामको सेमिफाइनलमा गैरवरीयताकी डेनिइली कोलिन्सविरुद्ध चुनौती प्रस्तुत गर्ने भएकी छन् । गत २०१६ को डिसेम्बर चोरको आक्रमणबाट घाइते भएपछि पहिलो पटक सेमिफाइनलमा पुगेकी पेत्राले उपाधि भिडन्त गर्नका लागि आगामी बिहीबार अमेरिकी स्टार डेनिइलीविरुद्ध चुनौती प्रस्तुत गर्न लागेकी हुन् । घरमा आएको चोरको आक्रमणबाट दायाँ हातमा चोट बोकेपछि पेत्रा करिब ६ महिना बाहिर रहेकी थिइन् । त्यसपछि पनि उनको यात्रा अन्तिम आठमै टुंगिएको थियो ।

तर, यस वर्ष भने सेमिफाइनलको यात्रा तय गर्दै पेत्राले करियरको तेस्रो ग्रान्डस्लाम जित्ने दाबेदारी सम्भावना कायमै राखिन् । मेलबर्न पार्कमा भएको खेलमा दुई पटक विम्बल्डन च्याम्पियन पेत्राले घरेलु स्टार एस्लेघ बार्टीमाथि पहिलो सेट ६–१ ले सहजै आफ्नो पक्षमा पारेकी थिइन् । पेत्राले पहिलो सेट २७ मिनेटमै आफ्नो बनाएकी थिइन । तर, दोस्रो सेटमा बार्टीले कडा चुनौती दिए पनि पेत्राले ६–४ ले समाप्त पारिन् ।

त्यो हारसँगै ३५ वर्षपछि ग्रान्डस्लामको सेमिफाइनलमा पुग्ने पहिलो अस्ट्रेलियन खेलाडी बनेकी बार्टीको उपाधि दिलाउने चाहना पूरा हुन सकेन । यता जितपछि प्रिक्वार्टरफाइनलमै विश्व नम्बर एक सिमोना हालेप स्तब्ध भएपछि पेत्रा शीर्षमा पुग्ने सम्भावना पनि बढेको छ । ‘फर्किएर विश्व चर्चित स्टेडियममा विश्वकै उत्कृष्ट खेलाडीसँग खेल्नेछु भन्ने सोचेको पनि थिइन्,’ दुई पटक विम्बल्डन च्याम्पियन पेत्राले भनिन्,‘ तर सबै सम्भव भएको छ । त्यसैले एकदक हर्षित छु ।’

यता, यस प्रतियोगिताको दोस्रो राउन्डमै विश्व नम्बर दुई एन्जेलिक केरबरलाई स्तब्ध बनाएकी अमेरिकी स्टार कोलिन्स पनि पहिलो पटक ग्रान्डस्लामको सेमिफाइनलमा पुगेकी हुन् । २५ वर्षीया कोलिन्सले रसियाकी स्टार एनास्तासिया पेयलुचेन्कोभालाई २–६, ७–५ र ६–१ ले हराउँदै करियरको ठूलो सफलता प्राप्त गरिन् ।

पहिलो सेट सहजै गुमाएपछि दबावमा परे पनि कोलिन्सले संघर्ष गर्दै खेल आफ्नो पक्षमा उल्टाइन् । जितपछि कोलिन्सले आफ्नो खेल जीवनकै यादगार अनुभव सिर्जना भएको प्रतिक्रिया दिइन् । ‘मेरो लागि निकै अनौठो अनुभव हो,’ कोलिन्सले भनिन्,‘ मेरो जितको राज कयौं समर्थकको साथ नै थियों । उनीहरूबीचको साथमा खेल्न पाउँदा मेरो लागि खेल निकै सहज बन्यो ।’

प्रतिक्रिया