कांग्रेसले संसद् बैठक अवरुद्ध गरेपछि स्थगित

काठमाडौँ । नेपाली कांग्रेसले आफ्ना नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पतालको विषयमा सरकारले कुनै निर्णय नगरेको भन्दै संसद् बैठक दुई पटकसम्म अवरुद्ध गरेपछि सूचना टाँसी आजको बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ कांग्रेस सांसद उठेपछि सभामुख कृष्णबहादुर महराले नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहलाई बोल्न समय दिए । प्रमुख प्रतिपक्षी दलका सांसद सिंहले मन्त्रिपरिषद्मा प्रस्ताव भएका ११ वटा अस्पतालमध्ये नेपाली कांग्रेसका नेताका नाममा रहेका दुई वटा अस्पतालको विषयमा निर्णय नगरेकामा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताए ।

सांसद सिंहले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघअन्तर्गत राख्नेगरी निर्णय भएको संसद्मा जानकारी नहुन्जेल कांग्रेसले संसद् चल्न नदिने बताए । त्यस लगत्तै कांग्रेस सांसदहरुले रोस्टम घेराउ गरेका थिए ।

सभामुख कृष्णबहादुर महराले आफूले सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै बैठक सञ्चालनमा सघाउन पटक पटक आग्रह गर्दा पनि कांग्रेसका सांसदहरु उठेर बैठक चल्न नदिएपछि सभामुख महराले पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरे ।

त्यसपछि प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख महराले बैठकको कार्यसूचीमा रहेको शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई समय दिए ।

मन्त्री पोखरेललाई समय दिनासाथ कांग्रेसका सांसदहरु उठेर विरोध जनाइरहेपछि सभामुख महराले बैठक १५ मिनेटका लागि पुनः स्थगित गरे । प्रमुख विपक्षी कांग्रेसले सरकारमाथि दुई तिहाइको दम्भ देखाएको आरोप लगाउँदै आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल बन्द गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद् अवरुद्ध गरेको थियो ।

संसद् बैठकबाट बाहिरिँदै गर्दा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका नेता डा बाबुराम भट्टराईले संसद्मा मुठभेडको अवस्था आउन सक्ने देखिएकाले प्रधानमन्त्री नआउन्जेल संसद् बैठक स्थगित गरिनु उपयुक्त हुने प्रतिक्रिया दिए ।

नेकपाका सांसद योगेश भट्टराईले बैठकमा सभामुखले मन्त्रीलाई विधेयक प्रस्तुत गर्न समय दिइरहँदा प्रमुख प्रतिपक्षी दलले तत्काल अवरोध पुर्याउन नहुने भन्दै प्रतिपक्षी दलको त्यस्तो व्यवहार उचित नभएको टिप्पणी गरे । प्रतिनिधिसभाको अर्को बैठक माघ ११ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया