अदुवाबाट मनग्ये आम्दानी

कावासोती । अघिल्लो वर्ष अदुवाको मूल्य नपाएर चिन्तित बनेका नवलपुरको पहाडी क्षेत्रका कृषक यस वर्ष भने उचित मूल्य पाएपछि खुसी भएका छन्् । पूर्व नवलपुरको नरम, जौवारी, अर्खला, कोटथर, रकुवा, आमडाँडा, ब्यागन, भारतीपुर, धौवादीलगायत ठाउँका अधिकांश कृषकको अदुवा मुख्य बाली हो । सो क्षेत्रका कृषकले अघिल्लो वर्ष एक धार्नी अदुवा ५० मा बिक्री गरेकामा यस वर्ष रु १५० मा बिक्री गरिरहेका छन्् ।

‘गत वर्षभन्दा तेब्बर मूल्यमा अदुवा बिक्री गरिरहेका छौँ,’ कोटथरका हेमान सिँजालीले भने, ‘गत वर्ष सित्तैमा दिएको जस्तो भएको थियो ।’ आम्दानीको मुख्य स्रोेतका रूपमा रहेको अदुवाले पछिल्लो केही वर्ष उचित मूल्य नपाउँदा कृषकमा मारमा परेका थिए । नरम गाउँका प्रकाश खाम्चाले यस वर्ष अदुवाबाट मनग्ये आम्दानी भएको बताए । ‘मूल्य व्यापारीले तोक्छन््, उनीहरूकै अनुसार अदुवा बिक्री गर्नुपर्छ,’ उनले भने ।

स्थानीय व्यापारी तुलबहादुर गाहा अदुवाको मूल्यमा गिरावट हुने सम्भावना कम रहेको बताए । उनले यहाँबाट खरिद गरेको अदुवा दलदले, भिमाद, रामपुरलगायत बजारमा बिक्री गर्दै आउनुभएको छ । यस वर्ष उनले अदुवाको सुठोबाट समेत राम्रै आम्दानी गरिरहेका छन् । अघिल्लो वर्ष सुठो प्रतिधार्नी ३ सय ५० मा खरिद बिक्री भएको थियो । यस वर्ष प्रतिधार्नी ८ सयमा बिक्री भइरहेको छ । कतिपय कृषक बिचौलियाका कारण मारमा परेका छन्् । सो क्षेत्रमा सडक जिर्ण भएकाले कृषकलाई अदुवा ढुवानी गर्न समस्या हुने गरेको छ । ‘गाउँमा आउने व्यापारीले जति मूल्य भन्यो त्यतिमा दिनुपर्ने बाध्यता छ,’ नरमका टेकबहादुर थापाले भने, ‘ढुवानीको समस्याले अझै चाहेजस्तो मूल्य पाउन सकेका छैनौं ।’

नवलपुरको पहाडी क्षेत्र अदुवा, अम्रिसो र अमिलोको पकेट क्षेत्रका रूपमा चिनिन्छ । कृषि उत्पादन बढाउन तथा बजारीकरण गर्न गाउँपालिकाले योजना अघि सारेको बौदीकाली गाउँपालिका–६ का वडाध्यक्ष नेमबहादुर थापाले बताए । सो गाउँपालिकाले वडा १ र ३ मा कागती, २ मा धान, ४ मा अम्रिसो, ५ मा सुन्तला र वडा ६ मा अदुवाको पकेट क्षेत्रको योजना बनाएको उनले बताए । ‘कृषि उत्पादन बजारीकरण गर्न खरीद केन्द्र स्थापना गर्ने योजना छ,’ उनले भने । यस वर्ष नवलपुरकै बुलिङटार गाउँपालिकामा अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि सांसद विकास कोषको १० लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया