अरुण तेस्रो जलविद्युत् आयोजना : अधिकांश कामदार भारतीय

संखुवासभा । अरुण तेस्रो परियोजनामा खटिएका अधिकांश कामदार भारतीय छन् । हाल सो आयोजनामा २ हजार ६५ जना कामदार छन् । त्यसमा अधिकाशं कामदार भारतीय छन् । भारतका विभिन्न जलविद्युत् परियोजनामा काम गरेका दक्ष तथा अदक्ष मजदुर संलग्न छन् । उनीहरूका लागि आवास तथा खानाको व्यवस्था त्यहीं गरिएको छ । ‘यहाँ नेपालीभन्दा भारतीय कामदार बढी छन्’, आयोजनामा कार्यरत मोरङका एक व्यक्तिले भने, ‘नेपाली धेरै बिदा लिने भएकाले भारतीय कामदारलाई बढी प्राथमिकता दिने गरिएको छ ।’ नेपाली कामदारमा पश्चिम नेपालका बढी छन् ।

आयोजनाका लागि कार्यरत भारतीय कामदार धर्मराजका अनुसार भारतीय र नेपाली नै भए पनि तराईका नेपाली बढी छन् । उनका अनुसार स्थानीय कामदार भए भने धेरै बिदा लिन्छन् । स्थानीय क्षेत्रमा आयोजना सञ्चालनमा आए पनि प्रभावित क्षेत्रका जनताले रोजगारी पाउन नसकेको मकालु गाउँपालिकाका हितकुमार कार्कीले बताए । उनले भने, ‘आफ्नो ठाउँमा आयोजना सञ्चालनमा हुँदा रोजगारीका अवसर प्राप्त हुन्छ भन्ने आशा सबैले गरेको थिए । तर भारतीयले नै बढी अवसर पाएका छन् ।’

स्थानीयलाई तालिमको अवसर दिइने भनिए पनि कसैले यसमा ध्यान नदिएको कार्की बताउँछन् । स्थानीय उत्पादन प्रयोग नगरी ठेकेदारमार्फत जिल्ला बाहिर र भारतबाट ल्याइएको उपभोग्य वस्तु प्रयोग गर्ने गरेको उनको भनाइ छ । आयोजनाका काम अगाडि बढी सक्दा पनि स्थानीयले रोजगारीको अवसर नपाएपछि स्थानीय निराश बनेका छन् ।

आयोजनामा प्रभावित क्षेत्रका कामदारको प्रयोगसमेत कम भएकाले स्थानीयलाई रोजगारीको वातावरण बनाउन सम्बन्धित पक्षले ध्यान दिनुपर्ने जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले बताए । आयोजनामा हाल दुई हजार ६५ जना श्रमिकले काम गरिरहेका छन् । नेपाली पक्षले भने धेरै संख्यामा भारतीय कामदार नै लगाउने गरिएको बताउँदै आएका छन् ।

विद्युत् विकास सम्झौता (पिडिए)मा गरिएको व्यवस्थाअनुसार स्थानीयलाई रोजगारी र स्थानीय स्तरमा उत्पादन भएको खाद्यवस्तुको उपभोग नभएको भन्दै स्थानीयले गुनासो गर्दै आएका छन् । स्थानीय युवालाई रोजगारीमा पहिलो प्राथमिकता दिइने, अदक्ष, अर्धदक्ष र दक्ष युवालाई सोहीअनुसारको रोजगारी दिने भनिए पनि अहिलेसम्म कसैलाई त्यस्तो सुविधा नदिएको मकालु गाउँपालिकाका स्थानीय वसन्त मेघी गुरुङको भनाइ छ ।

अरुण तेस्रो परियोजनालाई पूर्वी नेपालको भाग्य कोर्ने सीमित परियोजनामध्ये एक मानिन्छ । जोगवनी–किमाथांका नाका र अरुण परियोजनाले समग्र प्रदेश १ लाई नै धनी बनाउने अपेक्षा गरिएको छ । तर, त्यही परियोजनामा नेपाली सामान तथा श्रमको प्रयोग नहुनुले संखुवासभाका व्यापारी तथा स्थानीयलाई चिन्ता थपिएको छ ।

समयमै नसकिने चिन्ता
नौ सय मेगावाटको उक्त विद्युत् परियोजना सन् २०२२ भित्र निर्माण सम्पन्न गर्ने सतलज निर्माण कम्पनीले जनाएको छ । गत वैशाख २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले परियोजनाको शिलान्यास गरेका थिए । आयोजना प्रवद्र्धक कम्पनीका सिइओ शतिसकुमार शर्माका अनुसार हालसम्म १५ प्रतिशत काम सम्पन्न भएको छ ।

उक्त परियोजनाको काम पावर हाउस स्थल पुखुवा र ड्यामसाइड स्थल निर्माण क्षेत्रमा धमाधम अगाडि बढिरहे पनि परियोजनाबाट स्थानीय खुसी छैनन् । अहिले यस क्षेत्रमा २४सै घण्टा काम भइरहेको छ । ड्यामसाइड क्षेत्रमा भारतीय जय प्रकाश एसोसियटस निर्माण कम्पनीले काम गरिरहेको छ भने पावर हाउस निर्माण क्षेत्रमा भारतकै पटेल इन्जिनियरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम अगाडि बढाइरहेको छ ।

प्रतिक्रिया