तीन सय ६० भैँसीलाई सुत्केरी भत्ता !

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले आफ्नो क्षेत्रका ३ सय ६० भैँसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको छ । नपाले चालू आर्थिक वर्षदेखि सुत्केरीभत्ता स्वरूप प्रति भैँसी रु पाँच हजार दिएको हो । कार्यालयले भैँसीबाट जन्मिएका पाडा वा पाडीको जन्मदर्तासमेत गरिरहेको छ ।

नगरप्रमुख भीम न्यौपाने कतिपय सुत्केरी भैँसीगोठमा भत्ता दिन आफैँ पुग्ने गरेका छन् । उनी भन्छन्, ‘हामीले यस वर्ष भैँसी संरक्षण अभियानअन्तर्गत कृषकलाई व्यावसायिक भैँसीपालनतर्फ आकर्षित गरी आत्मनिर्भर बनाउन यसो गरेका हौँ ।’ उनका अनुसार कृषकले भैँसीको सुत्केरी भत्ता लिन अनिवार्यरूपमा बिमा गरेको हुनुपर्छ ।

जन्मदर्ता भएका पाडीको स्याहार गरी सोही पाडी सुत्केरी भएपछि पालनपोषण स्वरूप कृषकले २० हजार भत्ता पाउने तथा पहिलो बेतमा ब्याएका भैँसीलाई पाँच हजार र दोस्रो बेतदेखि दुई हजारका दरले भत्ता दिने नीति नगरपालिकाले बनाएको छ । साथै, कृषकले आफ्नो घरमा पालेको सुत्केरी भैँसी र उसबाट जन्मिएको पाडा वा पाडीको फोटोसहित वडा कार्यालयको सिफारिश र नागरिकताको प्रतिलिपि पेश गरेपछि नपा कार्यालयबाट भत्ता रकम उपलब्ध गराइनेछ ।

नगरले चालु आवमा १२ लाख रकम छुट्याएर सुत्केरी भैँसीभत्ता वितरण थालिएको नगरप्रमुख न्यौपानेले बताए । उनले भने, ‘हामीले व्यावसायिक कृषि र पशुपालनलाई प्राथमिकतामा राखी युवा तथा कृषकलाई अनुदान, प्रोत्साहन भत्ता दिएर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न यो अभियान थालेका हौँ ।’

वडा नं १२ वडाका भावना थापाले नगरपालिकाले सुत्केरी भत्ता र अनुदान दिन थालेपछि आफूले अर्काे एउटा भैँसी थप्ने योजना बनाएको बताए । उनले भने, ‘घरमा दुईवटा छन्, अब एउटा थप्छु, अब भैँसीले पाडो हैन पाडी पाओस् भन्ने चाहना छ ।’ चालू आवको साउनदेखि हालसम्म सुत्केरीभत्ताका लागि भन्दै १०७ वटा माग फारम भरिएको नगरका पशु चिकित्सक मणिप्रसाद सापकोटाले बताए ।

यसमध्ये ५५ वटा पहिलो बेतका सुत्केरी भैँसीका फारम हुन् । उनी भन्छन्, ‘भैँसी सुत्केरी भएपछि कृषकले जानकारी दिनुहुन्छ, हामी वडाका जनप्रतिनिधिको रोहबरमा पाडा वा पाडीको जन्मदर्ता गर्छाैं ।’ उनका अनुसार चालु आवको हालसम्म रु आठ लाख सुत्केरीभत्ता वितरण गरिएको छ ।

सापकोटाका अनुसार नगरमा हाल ४ हजार ६ सय ४७ भैँसी छन् । नगरले तीन वर्षमा १० हजारभन्दा बढी भैँसी पु¥याउने लक्ष्य राखेको छ । नगरभित्र दैनिक ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया