‘राजसंस्था फर्कने कुरामा पूर्वराजा शाह ढुक्क छन् !’

पुष्पराज पराजुली, नेपाली कांग्रेस बिपी, नेता

नेपालमा राजतन्त्र अन्त्य भएर गणतन्त्र आएको पनि १४ वर्ष बितिसकेको छ । २ सय ४ वर्षसम्म एकछत्र राज गरेको राजसंस्था समाप्त भएको छ । अन्तिम राजाका रूपमा रहेका तत्कालीन राजा ज्ञानेन्द्र शाह र उनका परिवार नागरिक भएका छन् । तर, केही समययता उनको सक्रियता बढेको भनेर आलोचना भइरहेका वेला उनले राजनीतिक दलका नेतासँग पनि भेट्न थालेका छन् । केहीले भेटघाटलाई गोप्य राखेका छन् त केहीले खुलासा गरेका छन् । नेपाली कांग्रेसबाट अलग्गिएर बनेको नेपाली कांग्रेस बिपीका दुई महामन्त्री र प्रवक्ताले केही दिनअघि पूर्वराजासँग भेटेर मुलुको राजनीतिक अवस्थाका बारेमा छलफल गरेका छन् । पूर्वराजा शाहसँग भेटेका महामन्त्री मध्येका एक पुष्पराज पराजुलीसँग तिनै भेटका बारेमा सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवादको सम्पादित अंशः 

तपाईंहरूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट्नुको कारण के थियो ?

हामीले पूर्वराजा ज्ञानेन्द्रसँग मेलमिलाप दिवसको अवसर पारेर भेटेका हौँ । बिपी कोइरालाले पौष १६ गतेका दिन भारत प्रवासबाट मेलमिलापको नीति लिएर नेपाल आएकै दिन पारेर हामीले उनलाई भेटेका हौँ । भेटमा हाम्रो पार्टीको तर्फबाट म अर्का महामन्त्री सुशीलमान शेरचन र प्रवक्ता देवेन्द्र पौडेल उनलाई भेट्न पोखरा गएका हौँ ।

मेलमिलाप दिवसकै दिन भेट्नुको कारण के हो ?

कारण राष्ट्रियतासँग जोडिएको छ । बिपीले २७ सालमा इन्दिरा गान्धीसँग नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि आर्थिक सहयोग मागेका थिए । गान्धीले सहयोग गर्ने सर्त राखेकीे थिइन् । बिपीले सर्तसहितको सहयोग अस्वीकार गरेर मेलमिलापको आन्दोलन लिएर नेपाल आएका थिए । अहिले मुलुक त्यही अवस्थामा पुगेको छ । ठूला पार्टी विदेशीको कोल्टामा पुगिसके । यिनीहरूमा आफ्नो विवेकको निर्णय निलसक्ने क्षमता छैन । यसकारणले पनि नेपालको राष्ट्रवादी शक्तिहरूका बीचमा एकता आवश्यक छ । त्यसो भएन भने मुलुकको अस्तित्व रहँदैन रहे पनि नेपाल अफगानिस्तान बन्ला वा द्वन्द्वग्रस्त क्षेत्रका रूपमा रहन सक्छ । त्यसैले, पनि हामी बीचमा एकता आवश्यक छ । नेपाल, भारत, अमेरिका वा चीन कसैको पनि होइन । हामी नेपालवादी हौँ भन्नेहरूका बीचमा एकता आवश्यकता छ भनेर अभियान सुरु गरेका थियौँ । यसै सन्दर्भमा पूर्वराजासँग हामीले भेटेका हौँ ।

पूर्वराजासँगको भेट तपाईंहरूको चाहना हो कि उनको ?

उनीसँग भेट्ने चाहना हामीले नै गरेका हौँ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर हामीले भेट्न चाहेको सन्देश पठाएका थियौँ । उनले त्यसलाई स्वीकार गरेर हामीले चाहेकै दिनमा समय दिएका हुन् । उताबाट बोलावट भएपछि हामी भेट्नका लागि पोखरा गएका थियौँ ।

भेट्नका लागि कति दिन अघि सन्देश पठाउनुभएको थियो ?

हामीले दुई–तीन दिन अघि सन्देश पठाएका थियौँ । उनी पोखरामै भएका कारण हाम्रो एक केन्द्रीय सदस्यमार्फत सन्देश पठाका थियौँ । पोखरामा रहेको एउटा मन्दिरको अध्यक्ष हाम्रो केन्द्रीय सदस्य भएका र त्यो मन्दिरमा पूर्वराजालाई बोलाएका वेला उनले भेट्न चाहेको कुरा जानकारी गराएछन् । त्यसको भोलिपल्ट नै हामीले भेट्न पाएका हौँ ।

त्यसो भए पूर्वराजाले सहजै भेट्न चाहन्छन् ?

पूर्वराजालाई भेट्न चाहेको अवस्थामा उनलाई भेट्न सहज रहेछ । हामीले सन्देश पठाउने बित्तिकै उताबाट भेट्नका लागि स्वीकार भयो । अरू वेला के हुन्छ थाहा भएन तर हामीले प्रयास गर्ने बित्तिकै भेट्न पायौँ ।

उनीसँग तपाईंहरूको भेट कति समयसम्म चल्यो ?

हामीले उनीसँग करिब ४५ मिनेट भेटघाटको समय पाएका थियौँ । त्यही समयभित्र हामीले आफ्ना कुरा उनलाई राख्यौँ र उनका कुरा पनि सुन्यौँ । भेटघाट अत्यन्तै सहज र सामान्य रूपमा भएको थियो ।

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले विभिन्न राजनीतिक दलका मान्छेसँग भेटेको कुरा बाहिर आएको छ । के उनी दलका नेतासँग भेट्न चाहिरहेका रहेछन् वा दलका मान्छे नै उनलाई भेट्न खोज्दै छन् के पाउनुभयो तपाईंले ?

हामीले चाहिँ आफैले भेट्न चाहेर भेटेका हौँ । हामीले चाहिँ भेट्नुको कारण अहिलेको राष्ट्रिय परिस्थितिको कारण बिपी कोइरालाले ३३ सालमा मेलमिलापको नीति लिएर नेपाल आउँदाको अवस्था र अहिलेको अवस्था नजिक–नजिक बन्दै गइरहेको छ भन्ने हाम्रो निष्कर्ष हो । त्यसैले, एउटा राष्ट्रवादी शक्ति पूर्वराजा पनि हुन सक्छन् भनेर हामीले पूर्वराजालाई एकपटक भेटेर उनको दृष्टिकोण के रहेछ भनेर जान्न चाहेका थियौँ । त्यसै सन्दर्भमा भेटेका हौँ । पूर्वराजालाई राष्ट्रवादी शक्तिका रूपमा स्वीकार गरेर नै उनलाई भेटेका हौँ । उनी यो मुलुको हित चाहने राष्ट्रवादी हुन् ।

भेटमा के–के कुरा भयो विस्तारमा भन्नुहुन्छ कि ?

भेटमा हामीले गिरिजाप्रसाद कोइराला अन्तिम समयसम्म राजसंस्थाका पक्षमा थिए । तर, तपाईं र राजनीतिक पार्टीका बीचमा के कारणले मतान्तर भयो ? जसका कारण राजसंस्थाले बिदा लिने अवस्था आयो भनेर उनलाई सोध्यौँ । के कारण गिरिजाबाबु र तपाईंका बीचमा असमझदारी बढ्यो भनेर हामीले प्रश्न त्यहीँबाट सुरु गरेका थियौँ । उनको प्रस्ट जवाफ थियो, ‘गिरिजाबाबु पनि राजसंंस्थाको निरन्तरताका पक्षमा भएको मैले अनुभूत गरेको थिएँ । उनीले त्यसबारेमा मलाई विश्वास दिलाउन पटक–पटक प्रयास गरेका थिए ।

राजसंस्था र कांग्रेसका बारेमा बजारमा हल्ला आएको वेला आफू आउन नपाएको खण्डमा छोरी सुजतामार्फत बजारका हल्लामा विश्वास नगर्न आग्रह गर्थे । उनी आफैँ आएर बुवाको कुरा सुनाउँथिन् । उनीले हजारौँ पटक मलाई आश्वासन दिएका थिए । त्यसैले, अन्तिम समयसम्म गिरिजाबाबु राजसंस्थाका पक्षमा अडिएलान् भन्ने मैले विश्वास गरेको थिएँ । तर, अन्तिममा उनी अडिन सकेनन् त्यसको कारण के थियो मलाई थाहा भएन उनले भने ।

उनले यो मुलुक र वर्तमान राजनीतिक अवस्थाका बारेमा चिन्ता व्यक्त गरे कि गरेनन् त्यसबारेमा केही प्रस्ट्याइदिनुहुन्छ कि ?

मुलुकको राजनीति जुन ढंगबाट अघि बढेको छ । त्यो मुलुकको हितभन्दा पनि अहित होला भन्ने कुरामा हामीलाई डर छ भन्ने अभिव्यक्ति उनको थियो । अर्को कुरा उनले नेपालका राजनीतिक दलहरू त्यसमा पनि नेपाली कांग्रेसले राजसंस्थाका बारेमा अडिन नसक्दा अन्ततोगत्वा कांग्रेस पनि कमजोर भयो । त्यसको असर कांग्रेसलाई पनि परेको र अब मुलुक कता जान्छ भन्ने सुनिश्चितता नदेखिएको कुरा बताए । त्यसैले, अब के गर्ने भन्ने बारेमा सबै गम्भीर हुनुपर्छ र म आफू यो मुलुकप्रति चिन्तित छु भन्ने अभिव्यक्ति उनको थियो ।

पछिल्ला दिनमा उनी सक्रिए हुन खोजेको भनेर दलका नेताहरूले आलोचना गर्न थालेका छन् । तपाईंहरूले चाहिँ त्यो भेटमा त्यस्तो आवास पाउनु भयो कि नाइँ ?

उनको भनाइ म पुनः राजा भइहाल्छु भन्ने पक्षमा थिएन । उनले हामीलाई प्रस्ट भने म कुनै पनि राजनीतिक दललाई साथ दिने वा सहयोग गर्ने पछमा छैन । बाहिर मेरो बारेमा राजनीतिक पार्टीसँग निकटता जोड्ने प्रयास भएको छ । त्यो भ्रम हो । कसैका पक्षमा लबिङ गर्ने आशय मेरो छैन । तर, कसैले राजसंस्थाका पक्षमा वा त्यस विषयमा आएका कुरा सुनेको छु त्यसमा मेरो कुनै टिप्पणी छैन । राप्रपपासँग मेरो सम्बन्ध छ भन्ने तपाईंहरूको पनि बुझाइ छ भने त्यो भ्रम हो । मेरो कुनै राजनीतिक दलसँग सम्बन्ध छैन । अब कसैले म राजसंस्थाको पक्षमा छु भन्दै हिँड्छ भने मेरो पक्षमा नलाग भन्न भएन उनले राजनीतिका बारेमा आफ्ना कुरा दर्शाए ।

मठमन्दिर धाउने बहानामा उनले गरेको विभिन्न स्थानको भ्रमण र भेटघाटको उद्देश्य पूजापाठ मात्रै हो त ?

उनको अभिव्यक्तिअनुसार नेपाली जनता आफैँ नै राजसंस्थाको पुनर्वहालीको अभियानमा लाग्छन् भन्ने विश्वास रहेको पाइयो । उनमा आफूले हतारो गर्नु पर्दैन जनता आफैँले राजसंस्थाको पुनर्बहाली गर्नेछन् भन्ने आत्मविश्वास देखियो । उनमा एक प्रकारको आत्मविश्वास रहेको उनको अभिव्यक्तिले देखाउँथ्यो कुनै पनि वेला मुलुकमा राजसंस्था पुनर्बहाली हुनेछ भन्नेमा ।

त्यही कारण त होइन उनी सडकमा जयजयकार खाँदै पार्टीको नेताहरूलाई गोप्य भेटनुको कारण ?

मुखले जे भने पनि उनको मनमा स्वाभाविक लालसा हुन सक्छ । राजा भएर बसेका मान्छेलाई अहिलेको अवस्था फिर्ला भन्ने होला । त्यसैले, पनि उनमा आत्मविश्वास भएको । मुलुकमा पुनः राजसंस्था फर्कन्छ र म राजा हुन्छु भन्ने दृढता प्रस्ट देखिन्थ्यो ।

त्यसो भए उनी आफ्नै कालखण्डमा राजसंस्था पुनर्बहाली हुन्छ भन्नेमा ढुक्क छन् ?

हो, उनी आफ्नै कालखण्डमा राजसंस्था पुनर्बहाली हुन्छ र आफू पुनः राजा हुन्छु भन्नेमा ढुक्क रहेको अभिव्यक्ति र प्रस्तुतीले देखाउँछ । उनले प्रस्टसँग राजसंस्था फर्कने कुरा गरेनन् तर बोलाइ र भनाइले उनी आफू मौन बसे तापनि जनताका चाहना र प्रयासमा राजसंस्था फर्कने कुरामा ढुक्क देखिन्छन् । उनमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र जनतामा दलहरूप्रति बढेको वितृष्ण, आक्रोशले पनि अब मुलुकमा फेरि राजसंस्थाको आवश्यक छ भन्ने निष्कर्षमा जनता पुग्नेछन् भन्नेमा उनी पूर्ण विश्वस्त छन् ।

अर्को कुरा उनले भ्रमणका क्रममा जनताबाट पाएको सम्मान र जयजयकारले पनि त्यो विश्वास बढेको हुन सक्छ । ‘मुलुकमा राजनीतिक कारणले राजसंस्थाका बारेमा चर्चा र बहस भएको छ त्यसैले, नेपाली जनतासँग विवेक छ उनीहरूले आफ्नो विवेक पूरा गर्न सक्छन् । भन्ने उनका आशय हामीले पायौँ ।

तपाईंहरूले आफै चाहिँ उनीलाई सक्रिय हुनका लागि कुनै सुझाव दिनुभयो ?

हामीले खासगरी बिपी कोइरालेले ०३३ सालमा राजसंस्थासँग मिलेर ल्याएको मेलमिलापको जुन नीति थियो त्यसमा के रहस्य थियो कि र बिपीले आफ्नो जीवनको उत्तरार्धमा राजसंस्थाका बारेमा गम्भीर हुन सबैलाई आग्रह गरे । अर्को कुरा कृष्णप्रसाद भट्टराईले नेपाललाई गणतन्त्र नेपाल बनाउनु हुँदैन भनेर महासमिति बैठक बहिष्कारदेखि पत्र नै लेखेर असमति गर्दै पार्टी नै छोडे ।

गिरिजाप्रसादले पनि जीवनको अन्त्यमा संवैधानिक राजसंस्था, सेरोमोनिएल राजसंस्था र बेबी किंगसम्मका कुरा उठाएका थिए । उनीहरूको अभिव्यक्तिले पनि कुनै न कुनै रूपमा राजसंस्थाको आवश्यकता छ भन्नेमा उनीहरू सबै पुग्नु भएका थिए । तर, अन्त्यमा ईच्छा भएर पनि नेपालमा राजसंस्था राख्ने कुरामा उनले सकेनन् ।

किन सकेनन् होला ?

त्यो उनले भन्नुपर्ने हो भनेनन् । तर, हाम्रो बुझाइमा नेपालमा राजसंस्था जानु र गणतन्त्र आउनु भनेको जनताको बलमा भन्दा पनि विदेशीको चाहनाले भएको हो । गिरिजाप्रसाद कोइरालाले पटक–पटक कुनै न कुनै रूपमा राजसंस्थाका कुरा गर्थे । यसमा केही कुरामा दलको सहमति भएन केही कुरामा राजाको सहमति भएन होला ।

अरू राजनीतिक दल पनि आफ्नो विवेकले भन्दा पनि अरूको दबाबमा परेका हुन् । तत्कालीन एमाले कांग्रेस गणतन्त्रको लाइनमा थिएनन् तर, पनि राजतन्त्र गई छाड्यो । सबै नेपाली जताको चाहना थिएन । न त्यति वेलाको आन्दोलनको माग नै गणतन्त्र थियो ।

उनीसँग कुरा गर्दा कत्तिको सहजता वा असहजता के भयो त्यो ४५ मिनेटको भेटघाटमा ?

सामान्य रूपमा कुरा भयो, हामी उनको प्रतीक्षामा थियौँ । उनी आए, हामीले नमस्कार ग¥यौँ, उनले पनि नमस्कार फर्काउँदै ल आउनुहोस् तपाईंहरूको पालो भनेर आफू नजिक बोलाए । सामान्य रूपमा कुराकानी भए । मेरो पूर्वराजासँग त्यो पहिलो भेट भए पनि सामान्य लाग्यो । आमनसामने बसेर कुरा गर्यौँ । समय थोरै भएकाले पनि धेरै कुरा गर्न सकिएन । अरू पनि धेरै मान्छे उनको प्रतीक्षामा थिए ।

केही सुझाव दिएनन् तपाईंहरूलाई ?

उनले राजसंस्था पुनर्बहाली गराउन कुनै पनि राजनीतिक दल बनाउने वा प्रयोग गर्ने अभ्यासमा म छैन भन्ने कुरा प्रस्ट पारे । तपाईंहरूले मलाई सहयोग गर्नुप¥यो पनि भनेनन् । तर, उनको एउटै कुरा के थियो भने नेपाल राष्ट्रको संकट समाधानका लागि तपाईंहरूले जुन चिन्ता व्यक्त गर्नु भएको छ त्यसमा म आफ्नो ढंगले यो मुलुकको राष्ट्रियताको संरक्षणका लागि क्रियाशील छु ।

तपाईंहरू पनि क्रियाशील भएको देख्दा खुसी लाग्यो भने । उनीमा बिपीको जुन दृष्टिकोण थियो त्यो ठीक थियो भन्ने भनाइ थियो । बिपीले राष्ट्रियताका सवालमा राम्रो दृष्टिकोण बनाएका रहेछन भन्ने प्रतिक्रिया थियो ।

अर्को कुरा नेपाली कांग्रेसका नेता गिरिजा बाबुले भनेको सबै कुरा मैले मानेको थिएँ, उनीले भनेअनुसार संसद्को पुनर्बहाली गरे, अब कस्तो राजसंस्था रहनेसम्मको कुरामा उनको कुरामा सहमति गरेको थिएँ र विगतमा भएका कमजोरी सच्याएको थिएँ । तर, दलले आफ्नो प्रतिवद्धता भने पूरा गरेनन् भन्ने दर्शाए । त्यसमा उनको गुनासो भएको जस्तो लाग्यो ।

प्रतिक्रिया