बटर उद्योगले बदामको मूल्य राम्रो

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमा पिनट्स बटर उद्योग सञ्चालन भएपछि यहाँ उत्पादित बदामले राम्रो मूल्य पाएको छ । जापानिज नागरिक कोतो बुकिनाकाको लगानीमा सञ्चालित उद्योगले कच्चा पदार्थका रूपमा बदाम खपत गर्न थालेपछि मूल्य पाएको हो । उद्योगले प्रतिकेजी २ सय ५० का दरले किसानबाट बदाम खरिद गर्ने गरिएको उद्योगका प्रबन्धक बासुदेव राईले बताए । एक केजीमा करिब साढे पाँच कुरुवा बदाम जान्छ । स्थानीय बजारमा आठ कुरुवा (एक पाथी) बदाम २ सयमा किनबेच हुने गरेको थियो ।

हलेसी तुवाचुङ नगरपालिकामा मात्र बदाम खेती हुँदै आएको छ । विपना इन कर्पोरेसन नामक बदाम प्रशोधन उद्योगमा दुर्छिमको चुमाखु, रातमाटे, धितुङ र डिकुवामा उत्पादित बदाम खपत हुने गरेको छ । यसअघि हलेसी, अर्खौले, दिक्तेल, ओखलढुंगालगायत बजारमा बिक्री गर्न लगिने बदाम उद्योग स्थापनापछि गाउँमै खपत हुन थालेको नगर प्रमुख इवन राईले बताए । गतवर्ष स्थापना गरिएको उद्योगले उत्पादन गरेको पिनट्स बटर काठमाडौं लगायतका ठाउँमा खपत हुने गरेको छ ।

उद्योगमै प्रतिकेजी १ हजार ५ सयमा बिक्री हुने पिनट्स बटर काठमाडौंमा कम्तीमा प्रतिकेजी २ हजारका दरले बिक्री हुने गरेको प्रबन्धक राईले जानकारी दिए । उद्योगका कारण बदामको पकेट क्षेत्रका रूपमा रहेको नगरपालिकाका केही वडामा उत्पादन हुने बदामको बजार समस्या हल भएको छ । गतवर्ष ३ हजार केजी बदाम खपत गरेको उद्योगले यो वर्ष ६ हजार केजी बदाम खरिद गरेको छ । आगामी माघपछि ‘इनर्जी बार’ पनि उत्पादन गर्ने लक्ष्य राखिएको उद्योगले जनाएको छ । हिमालमा चढ्ने आरोहीले उपयोग गर्ने इनर्जी बार हिमाली क्षेत्रका बजारलाई लक्षित गरेर उत्पादनको तयारी गरिएको छ । उद्योगमा हाल स्थानीय नौ युवालाई रोजगारी दिइएको प्रबन्धक राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया