प्रतिनिधिसभा बैठकमा तीन विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठकले विभिन्न तीन विधेयकलाई बहुमतले पारित गरेको छ । बैठकले पारित गरेका विधेयकमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५, निवृत्तिभरणकोष विधेयक, २०७५ र भुक्तानी तथा फछ्र्यौट विधेयक, २०७५ रहेका छन् ।

बैठकमा वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५ र अर्थमन्त्री डा युवराज खतिवडाले निवृत्तिभरण कोष विधेयक, २०७५ र भुक्तानी तथा फछ्र्यौट विधेयक २०७५ विधेयक प्रस्तुत गरेका थिए ।

यसअघि बैठकमा मन्त्री बस्तेतले सङ्कटापूर्ण वनस्पति र वन्यजन्तुको अन्तर्राष्ट्रिय व्यापारलाई व्यवस्थित गर्न विधेयक ल्याइएको बताए । विधेयकमाथि सांसदहरू प्रेम सुवाल, मोहन बानियाँ, छक्कबहादुर लामा र सञ्जय गौतमले भाग लिएका थिए।

अर्थमन्त्री डा खतिवडाले निवृत्तिभरण कोषलाई व्यवस्थित बनाउन निवृत्तिभरण कोष विधेयक २०७५ आएको जानकारी दिए । सो विधेयकमाथिको छलफलमा प्रेम सुवालले भाग लिएका थिए ।

यस्तै, आजको बैठकले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति गर्यो । । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए ।

विधेयकमाथि छलफलमा सांसदहरू कृष्ण पोखरेल, प्रेम सुवाल र देवप्रसाद गुरुङले भाग लिएका थिए । प्रतिनिधिसभाको अर्को बैठक माघ ४ गते शुक्रबार दिउँसो १२ बजे बस्ने निर्णय भएको छ ।

प्रतिक्रिया