‘गहकिलो अनुसन्धानको खाँचो छ ।’

                                                                 मुकेश मल्ल

कलाकार तथा कला समीक्षकका रूपमा नेपाली ललितकला क्षेत्रमा परिचित नाम हो । उनका तुलिकाघात, चित्रकला निरूपण, नेपाली आधुनिक कलाको समकालीन सन्दर्भ, आधुनिक कला अर्थ प्रक्रिया र भाषा, उत्तरआधुनिक नेपाली कलाको अभिलेखन, रामानन्द जोशी, नेपाली कलामा नेपालीपनको प्रारम्भ बिन्दु, हेम पौडेल र उनका अविरल कला यात्रा, उत्तरआधुनिक कलाको सेरोफेरो, नेपाली समसामयिक मूर्तिकलाको ऐतिहासिक रूपरेखा पुस्तक प्रकाशित छन् ।

त्यस्तै, उनले हिस्ट्री अफ फ्युचर, अ कनसाइन इन्ट्रोडक्सन टू नेपाली मोर्डन स्कल्प्चर पुस्तक संयुक्तरूपमा प्रकाशन गरेका छन् । उनका आधा दर्जन पुस्तक प्रकाशनको संघारमा छन् । हालसम्म धरान, धनकुटा, पोखरा, काठमाडौंमा गरी १४ पटक एकल कला प्रदर्शनी गरिसकेका मल्लले ०३० सालदेखि कलालेखन सुरु गरेका हुन् । नेपाली ललितकला क्षेत्रलाई विगत चार वर्षदेखि नजिकबाट नियालिरहेका मल्लसँग सौर्य दैनिकले गरेको कुराकानी:

नेपाली ललितकलाको वर्तमान अवस्थाप्रति यहाँको मूल्यांकन कस्तो छ ?
नेपालको वर्तमान ललितकला उर्वर अवस्थामा रहेको छ भन्ने मलाई लाग्छ । प्रशस्तै कला सिर्जना भइरहेका छन् र प्रदर्शनसमेत यही गतिमा भएको अवस्थाले गर्दा पहिलेभन्दा संख्यात्मक रूपमा नेपाली कलाको विकास भएकै हो ।

तथापि कलाहरू गुणात्मक रूपमा भने कताकता अलमलिएको जस्तो देखिन्छ । कलाकार स्वयं पनि कलाको गुणात्मकताबारे छलफल गर्ने चासो राखेको पाइँदैन । यसर्थ, कलामा गुणत्मकताबारे बहस र छलफल हुने गरेको देखिँदैन । यहाँ राम्रा काम गर्ने कलाकारहरू पनि छन् । धेरै सतहीरूपमा काम गर्ने कलाकार पनि यहीँ छन् । समस्या भनेको यी दुवैलाई अलग्गाउने चेष्टा भएको र गर्ने गरेको देखिँदैन । यसले गर्दा राम्रा र गुणात्मक काम गर्ने कलाकारहरू धेरैजसो ओझेलमा पर्न गएका छन् । आम समुदायमा पनि राम्रा काम गर्ने कलाकारको नाम र कामबारे सामान्य जानकारी पनि पुग्न सकिरहेको छैन । स्तरीय काम गर्नेलाई उचित स्थान दिने संस्कारकोे कमी पनि हुन गएको देखिन्छ ।

तापनि, राम्रो कुरा भनेको चाहिँ अहिले नेपालीे ललितकलाको स्वरूपमा विविधता छ । झट्ट हेर्दा गुट र उपगुटमा बाँडिएको जस्तो देखिए पनि सबैजसोले आआफ्नो तरिकाले आआफ्नै शैली र विधामा काम गरिरहेका छन् । यसैलाई नेपालभित्र र बाहिर विदेशमा समेत फैलाउने काम गरिरहेका छन् । यसैलाई थोरै मिहिनेत गरेर अधिकारिक रूपमा अभिलेखन गर्न सकियो र यसको महत्वलाई आमसमुदाय माझ पु¥याउनु सकियो भने नेपाली कलाले निश्चय पनि एउटा गतिलो मोड लिनसक्ने सम्भावना देखिन्छ ।

लामो इतिहास बोकेको नेपाली ललितकलाको विकास हुन नसक्नुको कारण के होला  ?
नेपाली ललितकलाको विकासै नभएको चाहिँ म मान्दिनँ । तथापि, संस्थागत रूपमा सुझबुझको कमी, सिर्जना, समीक्षा, विश्लेषण, संवद्र्धन, बिक्री आदि सम्पूर्ण क्षेत्रलाई समानरूपमा नहेरिनु र हेर्न नसक्नु चाहिँ ठूलै समस्या हो । कलाको सिर्जनापछि अधिकारिक रूपमा अभिलेखन र समीक्षा हुन जरुरी छ । परम्परागत वा लोककलामा मात्र नेपालीपन होइन आधुनिक वा उत्तरआधुनिक कला वा वैकल्पिक कलामा पनि नेपालीपन हुन सक्छ र हुन्छ । समसामयिक कलामा पनि नेपालीपन भएको स्पष्ट पहिचानको खोजी हुन नसक्नु पनि अर्को समस्या हो ।

कलागत दूरदृष्टि र लक्ष्यलाई किटान नगरी सतहीरूपमा कार्यक्रम गर्नुले पनि नेपाली ललितकलाको विकास हुन सकिरहेको छैन । नेपाली ललितकला विकास भनेको मेरो मान्यताअनुसार कलाकार र उनको कलालाई समाजमा, स्वदेश र विदेशमा सम्मान दिन सक्नु हो । नेपाली कलाको आफ्नैपनको मान्यता, सम्मान र भ्यालुलाई समाजको स्वकारोक्ति, गर्नसक्ने अवस्थाको सिर्जना र नेपाली कलाको मौलिक विशेषतालाई विश्वभर नै मान्यता प्राप्त गराउने अवस्था हो । यसका लागि राष्ट्रले कलाकारलाई विशिष्ट स्थान उपलब्ध गराउनु सक्नुपर्छ ।
मानसम्मान पुरस्कार आदिको व्यवस्थाको सिर्जना गर्न सक्नुपर्छ । यसका लागि सबैभन्दा पहिला नेपाली कलाको अनुसन्धान, नेपाली कलाको इतिहासको लेखनी हुन आवश्यक छ र स्कुलदेखि क्याम्पस आदिमा नेपाली कला र कलाकारबारे पढाइनु पर्दछ ।

राज्यले हेर्ने दृष्टिकोणमा कलाको क्षेत्र अनुकूल हुन नसक्नुको मुख्य समस्या के हो ? 
राज्यको दृष्टिकोण कला अनुकूल हुन नसक्नु मेरो विचारमा चाहिँ नेपाली कलाबारे सचेतना, यथार्थ चित्रण, नेपाली मौलिक कलाको गहनता, चारित्रिक विशेषता, ऐतिहासिकता आदिबारे राज्यको नीतिगत तहमा पु¥याउन नसक्नु हो । राजनीतिक उच्चतहका व्यक्तित्वहरू कलाको कार्यक्रममा बोल्दा नेपाली कलाको सामान्य विशेषताबारे, कला र कलाकारबारे बोल्ने गरेको मैलै धेरै कम सुनेको छु ।

थोर बहुत अरनिकोबारे उल्लेख गरेर नेपाली ललितकलाको विकास हुन सक्तैन । यसर्थ, कलाको सम्बन्धित निकायबाट औपचारिक वा अनौपचारिक रूपमा उच्च तहका राजनीतिज्ञ, नीति निर्मातालाई यस्ता नेपाली कलाका मौलिक विशेषतालाई गहनरूपमा सम्पे्रषण गराउनु जरुरी छ । यसका लागि लेखनलाई बलियो गराउनु जरुरी छ, लेखन क्षेत्रलाई उचित स्पेस दिन आवश्यक छ । खोज अनुसन्धानका कामलाई तीव्र रूपमा गराउन जरुरी छ । जुन सम्बन्धित निकायले आजसम्म राम्ररी सोच्न सकेको छैन । यस क्षेत्रलाई कसरी सम्बोधन गर्ने, नेपाली कलालाई समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगत्मा पुर्याएर भरपर्दो र अधिकारिक लेखनबाट वकालत गर्ने संस्कारको कमी पनि हो ।

कलाको वर्तमान मुद्दामाथि बहस गर्ने, हरेक सिर्जनाका साथै कलालेखनलाई सही स्पेस दिने संस्कार बस्न सक्यो भने मात्र कलाको वास्तविक स्थिति, राम्रो कामको पहिचान नीतिगत तहमा पुग्न सफल हुन्छ र सही व्यक्ति सही ठाउँमा पुग्नसके स्वतः कलाको गुणात्मक विकास सम्भव हुन्छ । कलागत कुनै पनि तहले यसबारे सोच राखेको देखिँदैन । कलाकृति बटुलेर प्रदर्शन मात्रै गरेर कलाको विकास हुँदैन । राज्यले नेपाली कलालाई रामरी बुझ्न नसक्दा गहिरोसँग ललितकलाको विकासबारे यसलाई अन्तर्राष्ट्रिय जगत् पु¥याउनेबारे योजना पनि बन्न सक्तैन । कलामा अनुकूल दृष्टिकोण पनि आउन सक्तैन ।

नेपाली कलाको समीक्षा सही ढंगले हुन सकेन भन्ने छ नि ?
म त नेपाली कलाको समीक्षा हुन दिएन भन्छु । यसका लागि सम्बन्धित निकायले लगानी गर्न आवश्यक छ । सही कला लेखक र समीक्षकलाई उचित स्थान र सम्मान दिन जरुरी छ । कला समीक्षा भनेको एक घण्टामा लेखिने कुरा होइन । प्रशस्तै समय, पैसा, गहकिलो अनुसन्धान, कलाकारको सिर्जनाको हरेक तहमा संलग्नता, लेखक आफैँमा हुनुपर्ने कलाबारे यथेष्ट मात्रमा ज्ञान आदि हुन जरुरी छ । यसका लागि कला समीक्षामा लामो समयदेखि निरन्तर लागिरहनुपर्छ अध्ययन अनुसन्धान गरिरहनुपर्छ ।

समीक्षक र अनुसन्धानका लागि पैसा र सम्मान दुवैको आवश्यकता छ । यी सबै कुराको अभावमा कलामा लेख्नेले पनि सतही लेखेको कुरा म पनि म स्वीकार गर्दछु । लेखिएका कला समीक्षाबारे पनि समीक्षा हुन जरुरी छ । कसले गरेको कला समीक्षा चाहिँ सही ढंगले भएन लिखितरूपमै आउन जरुरी छ । गहन लेख्नेलाई सम्मान र गलत लेख्नेलाई दण्डको भागिदार गराइनु पनि पर्छ ।

सबैलाई एउटै डालोमा राखेर हेर्न हुन्न । उचित र कलामा अनुसन्धान गरिरहेको लेखनमा लागेका लेखकलाई प्रोत्साहान गर्न र उचित वातावरण बनाउन जरुरी छ । लेख्नेहरूले आआफ्नो कोणबाट लेख्ने हुँदा उनलाई सही भएन भन्न मिल्दैन तर गलत लेखिरहेको छ भने सम्बन्धित निकायबाट, कलाकारबाट निरूत्साही गर्नुपर्छ र गहन लेख्नेलाई पुरस्कृत गर्नुपर्छ । यसले बिस्तारै गहन र सही कलालेखन आउनेक्रम जारी हुन्छ भन्ने मेरो चाहिँ विश्वास छ । सबै कलालेखन काम नलाग्ने छ भन्ने मलाई चाहिँ लाग्दैन । नेपाली कलाबारे अहिले धेरै पुस्तक प्रकाशित पनि भइसकेका छन् । पढ्ने बानी पनि गर्नुपर्यो ।

सही समीक्षा गर्न के गर्नुपर्ला ? 
कला समीक्षा गर्न चाहने कलालेखकले मेरो विचारमा सबैभन्दा पहिला कला समीक्षाको आधारभूत ज्ञान लिन जरुरी छ । कला समीक्षाको सिद्धान्त कलाको विश्व इतिहास, नेपालको कला इतिहास, नेपाली समाजको बनोट, चरित्र र संस्कार आदिबारे पनि ज्ञान हुन जरुरी छ । किनकि, कलाकारले जहिले पनि समाजको प्रतिनिधित्व गरिरहेको हुन्छ र ऊ कसरी हुर्केको बढेको छ, कुन संस्कारमा उसको लालनपालन भएको छ आदिबाट उसको कला प्रभावित हुन्छ ।

यसबाहेक सामाजिक राजनीतिक, मार्मिक मुद्दालाई गहिरोसँग अध्ययन गर्न जरुरी छ । कला समीक्षकका कुराहरू पत्याउने कि नपत्याउने भन्ने सन्दर्भमा उसको विचार कत्तिको गहकिलो छ भनेर जान्नका लागि कमसेकम कला समीक्षा गर्न चाहने कलालेखकले कलाको सिद्धान्तबारेमा नेपाली परम्परागत, आधुनिक, उत्तरआधुनिक, लोककला आदिबारे दुई चारवटा पुस्तकहरू निकाल्न जरुरी हुन जान्छ ।

जसलाई पढेर स्रोताले कला समीक्षकको गहनताबारे अड्कल काट्न सक्छन् र उनका विचारहरू मान्ने नमान्ने उसको खुसी हो । तर, कुनै पनि कलाको विषयमा अध्ययन गरेको देखिएको छैन भने उसका विचारलाई गहनताका साथ लिन सकिँदैन । भन्ने पनि गरिन्छ, म्ब्एव् बउउचयबअज अहिलेको सबैभन्दा राम्रो तरिका हो समीक्षाका लागि ।

डी अर्थात् कुनै पनि कलाको सम्पूर्णरूपमा जानकारी, कलाको प्रकार माध्यम यसको तौरतरिका कलाकारबारेको व्याख्या यसपछि यसैको आधारमा विश्लेषण, (ए) यसपछि यसैको आधारमा आफ्नो सम्बोधन व्यक्त (पी) र यसैको आधारमा कलाबारे न्याय गरिनु (जे) हो कलाको माध्यमबारे थाहा भएन भने यसका विशेषताबारे वा शैलीबारे यथेष्ट जानकारी भएन भने तुलनात्मक विश्लेषण हुन सक्तैन, राम्रोसँग विश्लेषण भएन भने आफ्नो सम्बोधन व्यक्त हुन सक्तैन यसो गर्न नसक्दा कलालाई न्याय गर्न सकिँदैन । कलालाई न्याय गर्न सकिएन भने यो कला समीक्षा हुंदैन ।

नयाँ–नयाँ कला समीक्षक नआउनुको पछाडि कुन कुराले प्रभाव पारेको छ ?
कला लेखनलाई सही रूपमा लेख्न सूचनाहरू प्रयाप्त रूपमा चाहिन्छ । सूचनाको कमीले पनि नयाँ कलामा कलम समात्न चाहनेका लागि गाह्रो हुन सक्छ । कला समीक्षा नेपालमा कतै पनि पढाइँदैन, कतै तालिमको व्यवस्था पनि नहुँदा पनि नयाँ आउन चाहनेका लागि मुिस्कल हुन्छ भने यस विधामा सम्मान पनि नहुने गाली मात्र बढी खाइने आर्थिक रूपमा पनि केही नहुँदा पनि नयाँका लागि सम्भवतः यसतर्फ आकर्षण नभएको हो भन्ने लाग्दछ ।

देशलाई सांस्कृतिक रूपमा समृद्ध बनाउन कलाले कस्तो भूमिका निर्वाह गर्नु पर्दछ ?
कला र संस्कृतिको अभिन्न अंग हो । कलाको सही ढंगले संरक्षण हुन सक्यो, संग्रहालयहरू व्यवस्थितरूपमा यथेष्ठ सूचनासहित राख्न सकियो भने संस्कृतिलाई अझ बढी प्रभावपूर्ण ढंगले व्याख्या विश्लेषण गर्न सकिन्छ ।

नेपाली कलाकारले मौलिकताभन्दा पनि व्यावसायिक ढंगले कला बनाउन थाले भन्ने आवाज पनि सुनिन्छ नि ?
कलाकार व्यावसायिक हुनु नराम्रो कुराजस्तो मलाई लाग्दैन । साँच्चै भन्ने हो भने आज क्रियाशील र व्यावसायिक कलाकार भन्ने चलन पनि हराइसक्यो । हरेक कलाकारले आफ्नो कृति बेच्न चाहन्छ । कसरी कहाँ बेच्ने भन्ने सन्दर्भ मात्र हो । ठमेलमा बेच्दा व्यावसायिक हुने र कलाको ग्यालरीमा बेच्दा सिर्जनशील हुने भन्ने मलाई चाहिँ लाग्दैन ।

नेपाली कलाको अन्तर्राष्ट्रियकरणका बारेमा यहाँको के दृष्टिकोण छ ?
नेपाली कला धेरै हदसम्म अन्तर्राष्ट्रियकरण हुनेक्रम तीव्र गतिले बढिरहेको छ । टेक्नोलोजीले पनि विश्वमा कला कस्तो रूपले अगाडि बढ्दै छ भन्ने जानकारी हुन्छ र अनलाइनबाट विश्वको कुनै पनि अन्तर्राष्ट्रिय कलाको कार्यक्रममा भाग लिन पाउने हिसाबमा पनि धेरै नेपाली कलाकार आफ्ना कलामार्फत नेपाललाई विश्वमा परिचित गराउने क्रम बढ्दो मात्रमा छ । यो खुसीको कुरा हो ।

प्रतिक्रिया