जनताले परिवर्तनको अनुभूति चाहेका छन्

लामो समयदेखि मिसन पत्रकारिता गर्दै आएका डा. दीपेन्द्र रोकाया कर्णाली प्रदेश योजना आयोगमार्फत कर्णाली विकासका लागि सदस्यमा छनोट भएका छन् । उनी पुस्तौँदेखि कर्णालीले भोग्दै आएको रोग भोगको कथालाई समृद्धितर्फ उन्मुख गराउने कुरामा यतिवेला दत्तचित्त भएर लागेका छन् । आउने दिनमा कर्णालीका जनताका लागि उनले देखेको सपना कस्ता छन् ? उनले यस क्षेत्रको विकास र जनताले भोग्दै आएको अवस्था सुधारका लागि के–कस्ता योजना बनाएका छन् । आउने दिनमा कस्ता कार्यक्रम गर्दा कर्णालीको मुहार फेरिनेछ ? यसै सेरोफेरोमा डा. रोकायासँग सौर्य दैनिकका लागि लक्ष्मी रोकायाले गरेको संवादको सम्पादित अंशः

मिसन पत्रकारिता गर्दागर्दै कर्णाली प्रदेश योजना आयोगमा मनोनित हुँदा कस्तो महसुस गर्नुभएको छ ?

यसलाई मैले अवसर र चुनौतीको रूपमा लिएको छु । यो मेरो यहाँको भूगोल र जनताको हितमा काम गर्ने अवसर हो ।

कुन प्रकारको अवसर र चुनौती देख्नुभएको छ ?

कर्णाली हरेक हिसाबले भर्जिन छ । यहाँ गर्नुपर्ने काम थुप्रै छन् । यस हिसाबले मैले त्यसलाई अवसर ठानेको छु । यस्तै, चुनौती पनि धेरै छन् । यो क्षेत्र भौगोलिकरूपमा राजधानी सहरबाट धेरै टाढा रहेको छ, यो ठाउँ भौतिक पूर्वाधार तथा औद्योगिकरूपमा पछि परेको छ । योभन्दा पनि हरेक काम सकिँदैन कि भनेर हेर्ने हिनताबोधी मनोविज्ञान छ यहाँका मान्छेमा यो हाम्रो चुनौती हो ।

यस्तो अवस्थामा कर्णाली प्रदेशको विकासको खाका कसरी कोर्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश विकासका लागि पाँच विषयमा केन्द्रित हुनपर्ने देखिरहेको छु । पहिलो, मानव केन्द्रित विकास । मान्छे सर्वश्रेष्ठ प्राणी हो भन्ने मान्ने हो भने मान्छे केन्द्रित विकासको बारेमा सबभन्दा पहिले सोच्नु पर्दछ । विगत जान्नका लागि हाम्रा ज्येष्ठ नागरिकहरूलाई अनुभव बैंकको रूपमा लिई उहाँहरूलाई सम्मान गर्न सक्नुपर्दछ । आजको राष्ट्रिय समस्या हल गर्न युवाहरूलाई रोजगार दिन आवश्यक छ । र, भोलिको उज्ज्वल भविष्यको सपना देख्ने हो भने आजका बालबालिकाको शिक्षा, स्वास्थ्य र लालनपालनमा ध्यान दिई बालबालिकाको हितमा गर्नु पर्दछ । यसैले, बालबालिकालाई लगानी, युवालाई रोजगार र ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने हुन्छ ।

दोस्रो, पूर्वाधार केन्द्रित विकास । कर्णाली भौगोलिक रूपमा विकट भएको सडक र विद्युत्मा पहुँच नहुनाले हो । पातलो बस्ती हुनाले सरकारले प्रदान गर्ने शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, सडक, ढल निकासजस्ता भौतिक संरचना एकै ठाउँमा प्राप्त गर्न गाह्रो परिरहेको छ । राज्यले नेपाल विस्तारपछिका दिनहरूमा पर्याप्त ध्यान नदिनाले कर्णाली प्रदेश निकै पछि पर्न गयो । परिणामस्वरूप आजका दिनसम्म हुम्ला र डोल्पाको सदरमुकामसम्म सडक सञ्जालले जोड्न सकेको छैन ।

यसैले, हामी जमुनाह–हिल्साको कर्णाली कोरिडोर र सुुर्खेत–मोरिम्लाको भेरी कोरिडोर सडक निर्माणलाई जोड दिइरहेका छौँ । यसका साथै, प्रदेश राजधानी सुुर्खेतबाट सबै स्थानीय तहका केन्द्रहरूमा जोडिने सडकका बारेमा योजनाबद्ध रूपमा जोड्ने बारेमा सोचिरहेका छौँ । कर्णाली प्रदेशमा सम्भावनाका हिसाबले १८ हजार मेगावाट विद्युत् उत्पादन हुने अवस्था रहे पनि लाइसेन्स लिएर अगाडि बढेका फुकोट ४ सय २६ मेगावाट, वेतन ६ सय ८८ मेगावाट, तिला–१ ३ सय मेगावाट, तिला–२ २ सय ९७ मेगावाट, नलसिंहगाड ४ सय १० मेगावाट, जगदुुल्ला ३ सय ७ मेगावाट, भेरी–१ ६ सय १७ मेगावाट, भेरी ४ हजार ३ सय मेगावाट, भेरी–बबई डाइभर्सन ४८ मेगावाट, द्धारीखोला ३ दशमलव ७५ मेगावाट र विभिन्न वाहनामा गान्धी मल्लिकार्जुन राव कम्पनीद्वारा ओगटिएको माथिल्लो कर्नाली ९०० मेगावाटजस्ता परियोजना अगाडि बढाउन सकियो भने कर्णालीलाई मात्र नभई देशकै आवश्यकता पूरा गरी छिमेकी देशहरूमा विद्युत् निर्यात गर्ने अवस्था आउनेछ । त्यसका लागि मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रम र एकीकृत सुरक्षित बस्तीको विकास गर्न मुख्यमन्त्री बस्ती विकास कार्यक्रम नै अगाडि बढाइरहेका छौँ ।

तेस्रोमा कृषि केन्द्रित विकास हो । वास्तवमा हामीले औषधिजन्य, कृषिजन्य उत्पादन र बजारीकरणमा ध्यान दिनुपर्ने छ । स्याउ, ओखर, खमु र चुलीजस्ता फलफूलको उत्पादन, पशुुपंक्षी पालन, बहुमूल्य जडिबुटीको खेती र प्रशोधन गर्न आवश्यक छ । हामीकहाँ मालगाडी र चिलगाडी मालसमान लिएर जान्छन्, रित्तै फर्कन्छन् । यो विरासत अन्त गर्नुको साथै चामलको राजनीति अन्त गराउन र अर्गानिक तरकारी उत्पादनमा जोड दिइरहेका छौँ ।

चौथो, पर्यटन तथा वातावरण केन्द्रित विकास । हामीले भन्दै आएका छौँ कि विश्वको पर्यटकीय गन्तव्य नेपाल र नेपालको पर्यटकीय गन्तव्य कर्णाली हो । कर्णाली भनेको स्वर्गको द्वार नै हो । यहाँबाट सभ्यताको जननी कैलाश मानसरोवर जाने सबभन्दा सजिलो र छोटो बाटो छ । रारा, शे फोक्सुण्डो, स्यार्पु, कुभिण्डे, छायाँनाथ, खार्पुनाथ, देवपुरी हुम्लाका बाह्रदेउ, राजकीय सभ्यताको केन्द्र सिंजा, दुल्लु, जगतीपुर, काँक्रेविहार र याल्बाध्र गुम्बाले कर्णालीको सुन्दरता थप्ने काम गरेको छ ।

हामीलाई यी स्थानीय सम्पदाहरूको कथा वाचकहरूको आवश्यकता छ । साथै, त्यहाँ आउन र जानका लागि सहज बाटो तथा खाने बस्ने सुविधा भयो भने हरेक मान्छेले जीवनमा एकपटक कर्णालीमा पाइलो नटेकी नछाड्ने अवस्था बनाउन सकिन्छ । यसैले, हामी कर्णालीमा फिल्मी सहर, जिओ पार्क र पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको सम्भाव्यता अध्ययन गर्ने सोचिरहेका छौँ ।

पाँचौँ, सूचना, विज्ञान तथा प्रविधि केन्द्रित विकास । हरेक कुराको आँखा भनेको सम्भाव्यता अध्ययन अनुसन्धान हो । सही सूचना भयो र त्यसमा हामीले हाम्रो भविष्य विज्ञान र प्रविधिसँग जोडिएर देख्न सकिएको खण्डमा कर्णालीको विकास असम्भव छैन । विज्ञान प्रविधिका कारण विकसित देशहरू जल, थल र वायु जस्तै अन्तरिक्षको बारेमा एकसाथ सोच्ने गरिरहेका छन् । हामीले पनि आफ्ना योजनाहरू यसरी नै सोच्न आवश्यक छ ।

तपाईंले बनाएको योजना बढी महत्वाकांक्षी भएन र ? कसरी पूरा होलान त यी योजना ?

झट्ट सुन्दा यो याजना अति महत्वाकांक्षी लाग्नु स्वाभाविकै हो । यहाँका जनताले अनुभव हुनेगरी परिवर्तन चाहेका छन् । राजनीतिक नेतृत्वले त्यसका लागि एउटा परिकल्पना गरी शीघ्र परिणाम खोजिरहेका छन् । तर विद्यमान अवस्थामा त्यो परिणाम प्राप्त गर्ने आधार निर्माण भइरहेको छैन । यसमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बीचमा काफी मात्रामा समझदारीपनको आवश्यक देखिएको छ ।

वास्तवमा यहाँ सबैलाई आफूलाई बिर्सदा रुन परेको लोककथा सम्झाउँदै हनुमानलाई समुद्र पार गर्न सक्ने क्षमता बुझाए झैँ हरेक कर्णालीवासीलाई उत्प्रेरणा दिन आवश्यक देखिरहेको छु । प्रदेश राजधानी सुर्खेतबाट एकाध घण्टामा नजिकका व्यापारिक केन्द्र धनगढी, नेपालगञ्ज लगायतका स्थानमा कसरी पुग्न सकिन्छ भनी दु्तमार्गको खोजी पनि गरिरहेका छाैँ ।

यस्ता विकासे सपना पूरा गर्न कसरी सम्भव देख्नुभएको छ ?

सबैभन्दा पहिला सपना देख्ने र त्यसलाई चित्रण गर्नु पर्दछ । यसो गर्नका लागि विश्वका विभिन्न विकासे मोडल तथा ज्ञानको पहुँच राख्न सक्नु पर्दछ । अनि आफ्नो सापेक्षतामा अगाडि बढ्ने कार्यतालिका निर्माण गर्न सकियो भने असम्भव भन्ने कुरा केही पनि छैन । यसैले, हामी अहिले सबभन्दा पहिले कर्णाली प्रदेशको वस्तुस्थितिको अध्ययन गर्दै छौँ । कर्णाली प्रदेशभित्रका विज्ञहरूको नाम सूचीकृत गर्दै छाैँ । यसैगरी, विभिन्न क्षेत्रका राष्ट्रिय अन्तर्राष्ट्रिय विषय विशेषज्ञहरूको पनि नाम सूचीकृत गर्दै छाैँ ।

उनीहरूको सहयोग लिएर कर्णाली प्रदेशको परियोजना बैंक बनाउने र त्यसको खुला परीक्षणपछि तिनै परियोजनाहरूलाई प्रस्तुत गर्न कर्णाली प्रदेशमा लगानी सम्मेलनको आयोजना गर्नेछाँै । कर्णााली प्रदेश सरकारद्वारा गठित विज्ञ समूह तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहयोगमा कर्णाली प्रदेश योजना आयोगले उक्त वातावरण निर्माण गरिरहेको छ ।

कर्णाली प्रदेश विकासको मापदण्ड कसरी निर्धारण गरिरहनु भएको छ ?

यहाँको भूअवस्थितिलाई हेरी सबभन्दा पहिला एकीकृत बस्ती विकास गर्नपर्ने र त्यसका आधारमा राज्यद्वारा उपलव्ध गराउनुपर्ने सडक, विद्युत्, विद्यालय, स्वास्थ्य, खानेपानी, ढलजस्ता सेवा सुविधा पुर्याउन सकिन्छ भन्ने लागेको छ । पूर्व पोखरादेखि पश्चिम देहरादुनसम्मको भूगोलमा लामो समयदेखि भूकम्प नगएकाले हिमवत खण्डको केन्द्रस्थलको रूपमा रहेको हाम्रो प्रदेशको समग्र अध्ययन तथा पुनर्संरचना गर्ने वेला आएको छ । यसमा पर्यटकीय गन्तव्यलाई जोड्न पर्नेछ ।

यस्तो कार्य सम्पन्न गर्न यहाँ अन्तको जस्तो बजेटको व्यवस्थाले पुग्नेवाला छैन । यसैले, हामी सानातिना आयोजनामा हात हालेर अल्मलिने पक्षमा छैनौँ । हामीले आयोगबाट निर्णय पनि गरिसकेका छौँ कि १ करोडदेखि ५० करोडसम्मको परियोजनालाई साना परियोजना, ५० करोडदेखि १ अर्बसम्मको परियोजनालाई मझौला परियोजना र १ अर्बभन्दा माथिका परियोजनालाई ठूला परियोजनाको रूपमा परिभाषित गरेका छैनौँ । अब प्रदेश सरकारले पहुँचवालाका पकेटका योजनाभन्दा पनि ठूला परिणाम प्राप्त गर्ने परियोजनामा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्दै छ भनेर सबैले बुझ्दा हुन्छ ।

कर्णालीले विकासको महसुस कहिले गर्न पाउला ?

अघि भनेजस्ता क्षेत्रमा लगानी भयो भने यहाँका सबैले रोजगार पाउनेछन् । स्वरोजगारका क्षेत्रहरू बढ्नेछन् । त्यतिवेलाको स्थितिलाई ख्याल गरेर भन्नुपर्दा सुर्खेतबाट नजिकका व्यापारिक केन्द्र धनगढी, नेपालगञ्ज लगायतका स्थानमा कसरी एकाध घण्टामा पुग्न सकिन्छ ? अझ अन्तर्राष्ट्रिय नाका रहेको हुम्लाको हिल्सा पुग्न कसरी छिटो होला भनी सोच्न परिरहेको छ । कैयाैँ पहाड ताछेर नयाँ आधुनिक सहर र एअरपोर्ट निर्माण गर्ने सोच पनि राख्न पर्दछ । हाल ८०० अमेरिकी डलर प्रतिव्यक्ति आय रहेको कर्णालीवासीको आगामी पाँच वर्षमा २१ सय अमेरिकी डलर पु¥याउने कर्णाली प्रदेश सरकारको उद्घोष हेर्दा अति महत्वाकांक्षी लाग्न सक्छ ।

यसलाई पूरा गर्न ठूलै जाँचपास गर्नपर्ने स्थिति छ । यद्यपि, हामी न्यूनतम, अनिवार्य आयआर्जनको कार्यक्रम सञ्चालन गर्नेबारे सोचिरहेका छाैँ । हरेक कर्णालीवासीले आम्दानी गर्ने र उनीहरूले बैंकमा खाता खोल्ने तथा बंैकमा जम्मा भएको पैसा उद्यमशीलतामा लगानी गर्ने वातावरण निर्माण भएको अवस्थामा राजनीतिक परिवर्तनमा लागेका युवाहरूले आफ्ना लागि केही गर्नेछन् र कर्णाली प्रदेशको विकासमा सहभागी भई देश विदेशमा ख्याती कमाउने ठाउँमा पुग्नेछन् । अहिलेको सुख्खा जिन्दगीलाई रसिलो बनाउन खोजेका कर्णालीवासीले विकासको अनुभूति गर्ने दिन नजिकै आएको छ । तर, त्यसका लागि हरेकले कर्णालीमा लगानीमैत्री व्यवहार प्रदर्शन गर्नु पर्दछ ।

विगतमा बनेको कर्णाली विकास आयोग र यो आयोगमा के फरक छ ?
विगतमा काठमाडौंको सिंहदरबारबाट गठित कर्णाली विकास आयोग अरूको निगाहमा बनेजस्तो भएको थियो । हुन त त्यो पनि लामो संघर्षपछि बनेको थियो । त्यसलाई यो वा त्यो रूपमा प्रभावकारी हुन दिइएको थिएन, त्यसले गरेका कामले खासै महत्व पाएन । तर, अहिले कर्णाली प्रदेश योजना आयोग कर्णाली प्रदेश सरकारको गहिरो सुझ्बुझ तथा आवश्यकताका आधारमा गठन भएको छ ।

यसले कर्णाली प्रदेशको आवश्यकताको पहिचान गर्ने, परिचालन गर्ने र त्यसको उपलब्धिलाई अपनत्व गरी कर्णाली विकासको नमुना प्रस्तुत गर्न चाहन्छ । हामी ठूला परिणाम हात पार्ने काममा क्रियाशील छौँ । विगतमा गठित तर विघटित कर्णाली विकास आयोगले गरेका अध्ययन अनुसन्धान पनि हाम्रा लागि उपयोगी सन्दर्भ सामग्री हुनेछन् ।

तपाइँले पत्रकार योजनाविद् पनि हुन सम्भव छ भन्ने उदाहरण देखाउनु भएको छ यसको खास कारण के हो भन्ने ठान्नुहुन्छ ?

मेरो बुझाइमा यो सबै निरन्तर संघर्ष, परिकल्पना र जिम्मेवारीबोध गर्ने कुराले सम्भव भएको हो भन्ने लाग्दछ । पत्रकारिता भनेको खोज हो । मैले पत्रकारिता बाहेक राजनीतिशास्त्र र ग्रामीण विकास तथा राजनीतिक द्वन्द्व व्यवस्थापनको अध्ययनसमेत गरेको र कर्मचारी प्रशिक्षकसमेत भएकाले मलाई यो अवसर दिइएको हुनुपर्छ ।

अब मैले सबैको सहयोग लिई कर्णाली प्रदेशको विकासमा उच्च प्राथमिकताका साथ चिन्तन, मनन र श्रम गर्न जरुरी ठानेको छु । यस महत्वपूर्ण घडीमा तपाईंहरूजस्ता सञ्चारकर्मी र खासगरी लोकप्रिय पत्रिका सौर्य दैनिकले दिएको यो अवसरप्रति आभारी छु । यसमार्फत मैले यहाँ गर्ने कामको योजना सबैका बीचमा राख्ने अवसर पाएँ ।

प्रतिक्रिया