स्रष्टा संवाद : साहित्य र संगीत एक रथका दुई पांग्रा

०४० सालमा काभ्रेमा जन्मिए, बाल्यकाल बाराको निजगढमा बित्यो, ०५६ सालको सुरुआतमा काठमाडौं हानिए, गायक बन्ने सपना बोकेर । सपनाको उडान भर्दा संघर्षका उकाली ओरालीमा सिर्जनाको भोकले उनलाई कहिले छाडेन र परिचय पनि बदलिँदै गयो । झोलाभरि सपना बोकेर काठमाडौं खाल्डो भित्रिएका उनले दुई दशकमा दुइवटै परिचय बनाए, गायक दिनेश गौतम र गीतकार पुस्तकप्रसाद ।

एक दशकअघि ‘पैैसा कसले बनायो’ गीत गाएर चर्चामा आएका दिनेशको संगीत यात्राले २० वर्ष पुग्नै लाग्दा पनि नौलो स्वादको खोजी गर्न छाडेका छैनन् । यो दौरानमा ‘निष्ठुरी’, ‘पैसा’, ‘शीतल’, ‘प्रजुशा’, ‘प्रभाव’, ‘माफ गर’ लगायत उनका एघार वटा एल्बम बजारमा आइसकेका छन् । थुप्रै नेपाली चलचित्र र एल्बममा गरेर झण्डै २ सय गीत गाइसकेका छन् ।

बलिउडका चर्चित गायक सान र राजा हसनसमेतले उनको संगीतमा गीत गाएका छन् । एक महिनाअघि पुस्तकप्रसादको शब्द संगीत र दिनेशको स्वरमा ‘फर्केर आएन मायालु’ बोलको गीतले युट्युबमा राम्रो संख्यामा दर्शक बटुल्न सफल भयो । यस गीतको म्युजिक भिडियोमा कलाकार नाजिर हुसेनले अभिनय गरेका छन् ।

शुक्रबार उनकै स्वरमा रहेको गीत ‘बाँसै काटेर’ सार्वजनिक भएको छ । ‘कार्टुन क्रुज’ र ‘भिमफेदी गाइज’ को साथमा एलिसा राईको नृत्य यस गीतको म्युजिक भिडियोमा रहेको छ । देश विदेशमा स्टेज कार्यक्रम गरिसकेका दिनेशको संगीत यात्राका विषयमा सौर्य दैनिकले गरेको कुराकानी :

नेपाली संगीतमा दिनेशको उपस्थिति किन ?
संगीतमा मेरो उपस्थितिभन्दा पनि मेरो जीवनमा संगीतको उपस्थिति चाहिँ महत्वपूर्ण विषय हो । किनकि, संगीत मसँग रमाउँछ रमाउँदैन त्यो अर्को पाटो भयो, तर म संगीतमा रहँदा मात्रै रमाउँछु ।

तपाईंबाट नेपाली संगीतले के पाउँछ त ?
उही पुराना सुन्दै आएका अभिव्यक्ति दोहो¥याउन चाहन्नँ । कम्तीमा गीत सुन्नका लागि या गाउनका लागि मात्रै नभएर जीवनलाई कसरी जिउनुपर्छ, जीवन के हो, र हामी के का लागि हौँ भन्ने खालका भावहरू पनि संगीतमा उत्तिकै महत्व राख्छन् भन्ने कुरामा विश्वास गर्छु । मैले गाउने लेख्ने धेरै गीतहरूमा कहीँ न कहीँ मान्छेहरूको आफ्नोपन समेट्ने प्रयास गरेको छु जस्तो लाग्छ ।

जीवनमा संगीतको आवश्यकता किन पर्छ ?
संगीत मात्र एउटा यस्तो चिज हो, जसले मानिसको जीवनमा प्रत्यक्ष रूपमा सकारात्मक ऊर्जा प्रवाह गर्छ । संगीत सुन्दै गर्दा तपाईं आनन्द अनुभव गर्न सक्नुहुन्छ, अप्रत्यक्ष रूपमा संगीत सुन्दै गर्दा ध्यानको एउटा उच्चबिन्दुमा पुग्न सक्नुहुन्छ, शान्त अनुभव हुन्छ र एक्लोपनमा सहाराको अनुभूति गर्न सक्नुहुन्छ । संगीत एउटा जादु हो जसमा हराउन तपाईंलाई अरू कुनै सहाराको आवश्यकता पर्दैन । संगीत त्यो चिज हो जसले तपाईंको आवाज, तपाईंको भावको प्रतिनिधित्व गर्छ । वास्तवमा लयविनाको, धुनविनाको मान्छेको जीवन नै असम्भव छ । मान्छे हिँड्नु पनि एउटा लय हो, नदी सुसाउनु पनि संगीत हो ।


समाज परिवर्तनमा पनि संगीतको भूमिका होला ?
अवश्य पनि । संगीत एउटा विचार हो, चेतना हो र शिक्षा पनि हो । यही चिजहरूले नै समाजमा परिवर्तन ल्याउँछ । हाम्रै देशमा थुप्रैपटक भएका जनसंघर्षका वेला संगीतको भूमिका निकै बलियो रहेको छ । कुनै नेताको घन्टाँै लामो भाषणले भन्दा पाँच मिनेटको गीतले मानिसको सोच परिवर्तन गर्न सक्छ ।

‘पैसा कसले बनायो’ गीत कसरी सिर्जना भयो ?
पैसाप्रतिको मानिसको गलत धारणा । पैसा भएपछि देश, समाज, साथीभाइ, परिवार, कसैको पनि आवश्यकता महत्वपूर्ण ठानिँदैन । पैसाका लागि इमान, धर्म, जाति, सद्भाव र प्रेम सबै बेच्न मानिस तयार भइदिन्छ । परिवर्तनको नाममा गरिएका संसारका ठूला युद्धहरूको पछाडि अदृश्य रूपमा पैसाको सहभागिता देखियो । सायद, यिनै कारण काफी छन्, ‘पैसा कसले बनायो’ गीत सिर्जना हुनुमा ।

तपाईंको जीवनमा पनि यस्तै केही भएको थियो कि ?
मेरो जीवनमा पैसा कहिल्यै समाज, देश, माया, साथीभाइभन्दा महत्वपूर्ण भएर हाबी भएन ।

संगीतमा अध्यात्म पनि ल्याउन खोज्नुभएको हो ?
होइन, संगीतमा चेतना, खुसी, शान्ति र जीवन जिउने रहस्यमय कला ल्याउन खोजेको हुँ ।

दुई दशक लामो संगीत यात्रामा कस्ता अप्ठ्याराहरू झेल्नुभयो ? कि यात्रा सजिलै थियो ?
अप्ठ्यारो कुन विषयलाई भनौँ र सजिलो कुन पक्षलाई भनौँ ? आफ्नो सपना, चाहना र खुसीका लागि गरिएको संघर्षलाई कसरी अप्ठ्यारो भनौँ । सहजै सपना पूरा पनि हुँदैन । मैले आफ्नो खुसीका लागि गरिएका कुनै पनि संघर्षलाई अप्ठ्यारोको रूपमा कहिल्यै हेरिनँ । उदाहरणका लागि कमल हिलोमा फूलेको हुन्छ । त्यसलाई अप्ठ्यारो वा सुन्दरता कुन दृष्टिले हेर्ने ? सबै चेतनाको कुरा मात्र हो । न संघर्ष छ न त सजिलो नै छ ।

एकाएक बाँसै काटेर जस्तो डान्सिङ नम्बर गर्ने सोच कसरी आयो ?
रुनु जति जरुरी छ, त्योभन्दा हजार गुणा हाँस्नु अनि रमाउनु जरुरी छ । नृत्यमार्फत मानिसले सबैभन्दा बढी खुसी प्राप्त गर्न सक्छ । अहिलेको दर्शक स्रोताको रुचि पनि यसमै छ । सायद, यसलाई समयको माग भनौँ ।

गीतमा दिनेश गौतम र शब्द संगीतमा पुस्तकप्रसाद, दुइवटा परिचय चाहिँ किन बनाउनुभएको ?
मान्छे हेर्दा एक देखिन्छ, तर मान्छे एउटा मात्र हुँदैन । मान्छेभित्रको अर्को मान्छे सायद मान्छेको नजरमा आउँदैन । त्यही अर्को मान्छे हो पुस्तकप्रसाद । जो शब्द र संगीत रचना गर्छ । दिनेशले गीत मात्रै गाउँछ । म भित्रको अर्को मान्छेको परिचय किन मार्ने मैले ?

लामो समयदेखि स्वरको मिठास उत्तिकै छ, यसलाई जोगाउन जीवनशैलीलाई पनि ध्यान दिनुपर्ला ?
नियमित अभ्यासमा रहनुप¥यो । संगीतकर्मी होस् या अरू जो कोहीले पनि शरीरलाई स्वस्थ राख्न गर्नुपर्ने क्रियाकलाप उही हुन् ।

तपाईंको संगीत यात्राले अब कुन मोड लिन्छ ?
यो स्रोता दर्शकमा भर पर्छ । मेरो साधना दुई दशकदेखि यही रफ्तारमा छ, रहिरहन्छ ।

पैसा भएपछि देश, समाज, साथीभाइ, परिवार र कसैको पनि आवश्यकता महत्वपूर्ण ठानिँदैन । पैसाका लागि इमान, धर्म, जाति, सद्भाव र प्रेम सबै बेच्न मानिस तयार भइदिन्छ ।

निरन्तर साधनामा हुनुहुन्छ, सोचेजस्तो चर्चा पाउनुभयो त ?
चर्चाले जीवनशैलीलाई फरक पार्ला तर साधनालाई फरक पार्दैन । सुरुआतमा चर्चाको भोक नभएको होइन, तर अहिले साधना नै ठूलो लाग्छ । निरन्तर साधना गर्दा चर्चा पाउन पनि सकिन्छ, नपाउन पनि सकिन्छ । आत्मसन्तुष्टि चाहिँ साधनामै छ ।

संगीत नै मुख्य कर्म भएपछि यो जीवन निर्वाहसँग पनि जोडिन्छ, कत्तिको सन्तुष्ट हुनुुुहुन्छ ?
संगीतकर्म गरेर जीवन निर्वाह मात्र होइन, राम्रो जीवनशैली बाँच्न सकिन्छ । २० वर्ष हुन लाग्यो संगीतकर्ममै लागेर बाँचिरहेको छु । खुसी पनि छु, सायद सन्तुष्टि भनेको यही हो ।

वर्तमान नेपाली संगीत जगत्सँग कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट हुनु र नहुनुले नेपाली संगीत जगत्मा ठूलो उथलपुथल ल्याउनेवाला छैन । मुख्य कुरा म नेपाली संगीतमा रहिरहँदा सन्तुष्ट छु या छै न भन्ने चाहिँ महत्वपूर्ण हो जस्तो लाग्छ । मैले यस क्षेत्रमा करिब २० वर्ष बिताउनु नै सायद मेरो सन्तुष्टिको प्रमाण हो ।

गीत र गजल पनि लेख्नुहुन्छ । साहित्य र संगीतको एक आपसको सम्बन्धलाई कसरी व्याख्या गर्नुहुन्छ ?
साहित्य र संगीतको एक आपसको सम्बन्ध भनेको एक रथका दुई पांग्राजस्ता हुन् । सँगसँगै चल्छन् ।

प्रतिक्रिया