१७ पुसबाट अनशन बस्दै केसी

मंसिर १० मा राखेका सबै माग सरकारले पूरा गनुपर्ने उनको माग छ । डा. केसीले संसद्मा विचाराधीन विधेयक अगाडि बढाउन केही दिन लाग्ने भनी सम्बन्धित समितिबाट आएको आग्रहलाई ध्यानमा राखेर अल्टिमेटम अवधि सारेको जनाएका छन् ।

काठमाडौं । सरकारले माग पूरा नगरेको भन्दै डा.गोविन्द केसीले पुस १७ गतेदेखि आमरण अनसन सुरु गर्ने घोषणा गरेका छन् । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै केसीले सरकारलाई माग पूरा गर्न पटक–पटक समय दिँदा पनि आलटाल गरेको भन्दै १६औँ अनसन सुरु गर्ने जनाएका हुन् ।

डा. केसीले गएको मंसिर १० गते पत्रकार सम्मेलन गरेर सरकारले आफूले राखेका माग पूरा नगरे पुस २ गते सोमबारबाटै अनसन सुरु गर्ने जनाएका थिए । तर, संसद्को शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले केही समय दिन आग्रह गरेपछि उनले दुई साता पछाडि अनशन सारेको जारी विज्ञप्तिमा उल्लेख छ ।

मंसिर १० मा राखेका सबै माग सरकारले पूरा गनुपर्ने उनको माग छ । डा. केसीले संसद्मा विचाराधीन विधेयक अगाडि बढाउन केही दिन लाग्ने भनी सम्बन्धित समितिबाट आएको आग्रहलाई ध्यानमा राखेर अल्टिमेटम अवधि सारेको जनाएका छन् । उनले पछिल्लोपटक स्वास्थ्य मन्त्रालयमा गैरचिकित्सक सचिव बनाइएको प्रति समेत आपत्ति जनाउँदै निर्णय सच्याउन ध्यानाकर्षण गराएका छन् ।

‘विधेयक अघि बढाउन समितिलाई सहज होस् भनेर तथा हामीले राखेका बाँकी मागसमेत पूरा गर्न स्मरण गराउँदै हामीले घोषित सत्याग्रहलाई दुई साता पछि सारेका छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

यसबीचमा विधेयकमा कुनै चलखेल भएर माथेमा कार्यदलको प्रतिवेदन, यसअगाडि दुईपटक जारी भएका अध्यादेश तथा हामीसँग बारम्बार भएका सम्झौताभन्दा प्रतिकूल हुने गरी चलखेल भएमा कुनै पनि वा जुनसुकै वेलामा पनि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया