आइरन चक्की वितरण हुने

भक्तपुर । भक्तपुर नगरपालिकाले १० देखि १६ वर्ष उमेरका किशोरीहरूलाई शुक्रबारबाट आइरन चक्कि वितरण गर्ने भएको छ । शरिर मोटो हुन्छ भन्ने मान्यताले किशोरीले ‘डाईटिङ्ग’ गर्न थालेकाले कुपोषणको प्रभाव भेटिएको पाएपछि नगरपालिका भित्रका विद्यालयमा अध्ययनरत छात्रालाई आइरन चक्की वितरण गर्न लागेको हो ।

नगरपालिकाको जनस्वास्थ्य सेवा केन्द्रले पहिलो चरणमा ४२ वटा विद्यालयका किशोरीलाई विद्यालयमै पुगेर आइरन चक्की वितरण गर्न लागेको केन्द्रका इन्चार्ज डा. रत्न सुन्दर लासिवाले बताए । ‘पहिलो चरणको काम सम्पन्न हुनेबित्तिकै दोस्रो चरणमा ५४ वटा विद्यालयका किशोरीहरूलाई आईरन चक्कि वितरण गर्ने योजना अघि बढाएका छाैँ’, उनले भने ।

नगरपालिकामा रहेका ९६ वटा निजी तथा सामुदायिक विद्यालयमध्ये दुईवटा स्रोत केन्द्रद्वारा सञ्चालित रहेका छन । पदम उच्च माध्यमिक विद्यालय अन्तर्गतको स्रोत केन्द्रद्वारा सञ्चालित ४२ र बागेश्वरी माध्यमिक विद्यालय अन्तर्गतको स्रोत केन्द्रद्वारा सञ्चालित ५४ वटा विद्यालय रहेका छन ।

प्रत्येक किशोरीहरूलाई १३ हप्तासम्म हप्ताको एउटाका पुग्ने गरी आइरन चक्की वितरण गरिने केन्द्रले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक हेर्दा नेपालमा रहेका कुल किशोरीमध्येको ४४ प्रतिशतमा कुपोषणको प्रभाव बढेको देखिन्छ । कुपोषणको प्रभावका कारण किशोरीहरूमा रत्अल्पत्ताको समस्या पनि देखिएको छ । त्यसैगरि २० प्रतिशत किशोरीहरूमा कुपोषण प्रभाव झन बढ्दै गएको देखिन्छ ।

नगरपालिकाले आइरन चक्की वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन १ लाख ५५ हजार रुपैयाँ खर्चेर भएको छ । सो कार्यक्रमबाट करिब ३५ सय किशोरीले विद्यालका शिक्षक शिक्षिकाबाट आइरन चक्कीको जानकारीसँगै पाउनेछन् । भक्तपुरमा कुल ८ हजार किशोरीहरू छन् ।

प्रतिक्रिया