दार्चुला । मार्मा गाउँपालिका ६ जन्नीगाउँका सुनमती महताले सिटामोलका लागि दैनिक सात घण्टा उकालीओराली गर्दै लटिनाथ स्वास्थ्य चौकीसम्म झर्नुपथ्र्यो । घरबाट स्वास्थ्यचौकी पुग्न ओराली दुई घण्टा र उकाली पाँच घण्टा गर्दा झण्डै सात घण्टा सिटामोलको लागि धाउनुपर्ने अवस्था थियो ।
सामान्य टाउँको दुख्दा सिटामोलकै लागि दिनभरी समय जान्थ्यो । तर, स्थानीय सरकार गठन भएको डेढवर्षमै मार्मा गाउँपालिकाले गाउँगाउँमा सुविधा पुग्नेगरी सामुदायिक स्वास्थ्य एकाई थपेसँगै दुर्गम गाउँका नागरिकले सहज स्वास्थ्य सेवा पाउन थालेका छन् ।
स्थानीय सरकारले स्वास्थ्यचौकीबाट टाढा रहेका बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ थपेपछि स्थानीयवासीको स्वास्थ्य चेकजाँच गर्न समस्या टरेको छ । मार्मा गाउँपालिका ६ को विकट बस्ती जन्नीगाउँ, माङदाङ र छिपान बस्तीका लागि माङदाङमा एकाइ स्थापना गरेपछि समस्या समाधान भएको स्थानीयवासी हरकसिंह सितोलीले बताए ।
“टाउको दुख्दा सिटामोल ल्याउन सात घण्टा हिडीन्थ्यो, अब गाउँमै स्वास्थ्य एकाइ खुल्यो बल्ल समस्या समाधान भएको छ”, उनले भने , “गाउँमा सिंहदरबार आएको अनुभूति बल्ल गर्न पाएका छौ । माङदाङमा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले उद्घाटन गरेका छन् । सामुदायिक स्वास्थ्य एकाइसँगै सामुदायिक स्वास्थ्य एकाइमा अहेब श्यामसिंह महता र अनमीको रुपमा कान्ती डडाललाई नियुक्त गरिएको छ ।
प्रतिक्रिया