एसिया प्यासिफिक समिट आजदेखि

काठमाडौं । एसिया प्यासिफिक समिट शुक्रबार (आज) देखि काठमाडौंमा सुरु हुदैछ । ४५ देशका विशिष्ट व्यक्तिसहित १५ सय जना सहभागी हुने दाबी गरिएको सम्मेलन काठमाडौंमा सुरु हुन लागेको हो ।

युनिभर्सल पिस फेडेरेसन नामक धार्मिक गैरसरकारी संस्थाको आयोजना रहेको सम्मेलनमा सहभागी हुन ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख, १० जना पूर्वराष्ट्रप्रमुख र सरकारप्रमुखलगायत उपस्थित भएका छन् । सम्मेलनका कारण काठमाडौंको सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

उनीहरुको सुरक्षाका लागि झण्डै ३५ सय सुरक्षाकर्मी खटिएको गृह मन्त्रालयले जनाएको छ । चार घेराको सुरक्षाको नेतृत्व नेपाली सेनाले गर्दै छ । सेनाले नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गर्नेछ । सुरक्षा व्यवस्था बिमस्टेककै सरह हुने सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताउनुभयो ।

आउँदो सोमबारसम्म चल्ने सम्मेलनमा राजनीतिक, धार्मिक, शान्ति, विकास, सुशासन र सांसदको भूमिका, अन्तरधार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चारमाध्यमको भूमिकालगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रम भए पनि सम्मेलनका सहभागीका लागि सरकारले ५५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

प्रतिक्रिया