शिक्षकको पेन डाउनले विद्यार्थी मर्कामा

मीना बुढाथोकी, सल्यान । तलब खान नपाएपछि सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा रहेका शिक्षकहरूको आन्दोलनकको प्रत्यक्ष असर बालबालिकालाई परेको छ । यस नगरभित्रका ६५ वटा विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरूले समयमा तलब खान नपाएपछि आन्दोलनमा होमिएका छन् ।

आन्दोलनको बुधबार तेस्रो दिन विद्यालयमा शिक्षकहरूले पेन डाउन गरेका छन् । विद्यालय खुले पनि कक्षा सञ्चालन नभएपछि ६५ वटा विद्यालयमा अध्ययनरत ८ हजार ५ सय विद्यार्थी निराश भएर घर फर्केका छन् ।

कृष्णमावि लेख संग्रहीमा कक्षा १० मा अध्ययनरत छात्र युवराज बिसीले विद्यालयमा पढ्न भनेर आए पनि कक्षा सञ्चालन नहुँदा नपढेरै घर फर्किनु परेकोमा गुनासो गरेका छन् । उनले भने, ‘अहिले आएर शिक्षकहरू आन्दोलनमा होमिएपछि आउँदै गरेको एसइईको परीक्षालगायत अन्य कक्षाहरू पनि प्रभावित भएका छन् ।’

पढाइ गर्ने वेलामा विद्यालय बन्द हुनु दुर्भाग्यको कुरा भएको बनगाड नगरपालिकाको मावि चिउरामा कक्षामा अध्ययनरत छात्र महेश बिसीले बताए । उनले सम्बन्धित निकाय यसतर्फ गम्भीर हुनुपर्ने भनेका छन् । शिक्षकहरूले पेनडाउन गरेर आन्दोलित भएपछि विद्यार्थी विद्यालयमा आएर केही समय बसेको र कक्षा सञ्चालन नभएपछि घर फर्किएको उनले बताए ।

आन्दोलनले गर्दा विद्यालयको पठनपाठनदेखि प्रशासनिक कार्यसमेत प्रभावित बनेको थियो । यस्तै १९ मंसिरबाट सञ्चालन हुने भनिएको कक्षा ८ को परीक्षासमेत प्रभावित भएको भन्दै विद्यार्थी दुःखी भएका छन् । मंसिर ११ र १२ गते हातमा कालोपट्टी बाँधेर कक्षा कोठामा शिक्षण क्रियाकलापमा संलग्न भएका थिए ।

आफूहरूले यस आर्थिक वर्षको पाँच महिनाको अवधिमा अहिलेसम्म विद्यार्थीहरूको भविष्यलाई मध्यनजर गर्दै अध्यापन गराए पनि नगरपालिकाले समयमा तलब खाने अवस्था सिर्जना नगरेपछि बाध्य भएर आन्दोलन थालेको शिक्षक महासंघ सल्यानका सचिव सुरेश सिं राठौडले बताए ।

उनले भने, ‘यस नगरपालिका भित्रका शिक्षक, विद्यालय कर्मचारी र कार्यालय सहयोगी गरी ३ सय ४२ जना आन्दोलनमा होमिएका छन् ।’ शिक्षक महासंघले नगरपालिकासँग पटकपटक वार्ता र सहकार्य गर्दा पनि कुनै वास्ता नगरेपछि आन्दोलनको विकल्प नरहेको उनले बताए ।

बनगाड कुपिण्डे नगरपालिकामा हालसम्म नगरसभा नहुँदा शिक्षक कर्मचारीले तलव खान पाएका छैनन् । तलव खान नपाएपछि नगरका अन्य निजामति कर्मचारीबाहेक शिक्षण क्षेत्रका सवै शिक्षक कर्मचारी जनप्रतिनिधिको विरुद्धमा आन्दोलनमा उत्रेका छन् ।

कृषि, भेटनरी, पशु, स्वास्थ्य, वडा र नगरका १ सय २ कर्मचारीहरू भने आन्दोलनमा उत्रेका छैनन् । उनीहरूले पनि शिक्षक कर्मचारीको आन्दोलनलाई मौन समर्थन गरेको जनाएका छन् । शिक्षकहरूले यहाँका जनप्रतिनिधिहरूले विषयको गम्भीरतालाई बेवास्ता गरेर अझै पनि तलब निकासा नभएमा १६ मंसिरदेखि अनिश्चितकालीन शैक्षिक हड्तालमा उत्रने चेतावनी दिएका छन् ।

यता बनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख गोविन्द पुनले शिक्षकले समयमै तलब खान नपाएको कुराले आपूm पनि दुःखी बनाएको बताए । विविध कारणले गर्दा नगरसभा समयमै सम्पन्न हुन नसक्दा समस्या सिर्जना भएको स्वीकार गर्दै उनले यस विषयमा कार्यपालिकाको बैठक बसेर टुंगो लगाउने प्रयासमा आपूm रहेको बताए ।

हिजो अस्तीदेखी नै नगरसभा सञ्चालन गर्न कार्यपालिकाको बैठक बसिरहेको जानकारी दिँदै उनले छिट्टै समस्या समाधान गर्न आफू लागिपरेको बताएका छन् ।

प्रतिक्रिया