देउवा चिढ्याउँदै अधिकार माग

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिले पार्टी सभापति शेरबहादुर देउवालाई चिढ्याउँदै अधिकार एकत्रित नगर्न चेतावनी दिएका छन् । नयाँ विधानको मस्यौदामा सभापतिलाई झनै शक्तिशाली बनाउने गरी तयार पारेपछि त्यस बारेमा धारणा बनाउन दुईदिने आवासीय बैठकमा बसेको जिल्ला सभापतिले तल्लो तहसम्मै अधिकार बाँड्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

सभापति देउवाले पटक–पटक बैठक नबस्न चेतावनी दिए पनि ककनीमा भेला भएका जिल्ला सभापतिले तल्लो तहमा काम गर्ने नेता तथा कार्यकर्ताहरूलाई मात्र पार्टीको अवस्था थाहा हुने भएकाले स्थानीय तहमा अधिकार दिनुपर्ने बताएका हुन् । ६४ जिल्लाका सभापतिको उक्त भेलाले पार्टीभित्र पारदर्शिता र अनुशासनको खाँचो भएका कारण यसलाई व्यवस्थित गर्न विधानमै प्रस्ट उल्लेख गर्नुपर्ने उनीहरूको तर्क छ ।

तनहुँ कांग्रेसका कार्यवाहक सभापति जितप्रकाश आलेले भने, ‘नेता व्यवस्थापन गर्ने गरी विधान बनाउने होइन । कुन नेतालाई कहाँ राख्ने भनेर बहुपद बनाउने कुरा ठीक होइन ।’ कांग्रेस विधानमा तीन÷तीनजना उपसभापति, महामन्त्री, सहमहामन्त्री राख्ने फरक मतबारे उनले भने, ‘संगठनलाई विधिसम्मत चलाउनुप¥यो । पार्टी विधिअनुसार चल्नुपर्छ, व्यक्तिले चलाउने होइन ।’

जिल्ला सभापतिहरू सदस्यताका विषयमा भने एकमत हुन सकेका छैनन् । विधान मस्यौदा समितिले दुई प्रकारका सदस्य राख्ने प्रस्ताव गरेको छ । तर, जिल्ला सभापतिहरूमा भने यो विषयमा एकमत छैन । कतिपय जिल्ला सभापतिहरूले हेटौँडामा भएको भेलामा राखेको चार प्रकारको सदस्यको प्रस्तावलाई विधानमा समावेश गर्नुपर्ने धारणा राखेका छन् भने कतिपयले दुई प्रकारको सदस्यता ठीक भएर र यसलाई व्यवस्थित गर्नुपर्ने धारणा राखेका हुन् । उनीहरूले पार्टीका नेताहरूले गुटगत स्वार्थलाई हेरेर विधान बनाएको भन्दै आपत्ति जनाएका थिए ।

जिल्ला सभापतिहरूले यो कुनै गुटलाई फाइदा पुग्नेगरी नभई सिंगो कांग्रेसलाई कसरी एकताबद्ध बनाउन सकिन्छ भनेर भेला गरेको बताएका छन् । सभापतिहरू बुधबार र बिहीबार पार्टीको संघीय विधान र मंसिर अन्तिम साता हुने महासमिति बैठकबारे सामूहिक धारणा बनाउन छलफलमा जुट्नेछन् । भेलामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवै पक्षका सभापति सहभागी छन् ।

भेलामा सभापति देउवालाई पनि निमन्त्रणा गरिएको थियो । तर, देउवा नजाने भएपछि भेला अनौपचारिक छलफलमै सीमित गरिएको छ । जिल्ला सभापतिमा संस्थापनइतर पक्षको बहुमत छ । केन्द्रीय समिति बैठकमा प्रस्तुत विधानमा बिहीबारदेखि छलफल सुरु हुनुअघि भएको सभापतिको बैठकलाई कांग्रेसमा निकै महत्वका साथ हेरिएको छ । केन्द्रीय समितिको बैठकअघि नै जिल्ला सभापतिहरूले साझा धारणा बनाएर केन्द्रीय समितिमा बुझाउने तयारी रहेको काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिए ।

प्रतिक्रिया