मनकामना मन्दिर खुला

गोरखा । भूकम्पले क्षति पुगेको गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर ४३ महिनापछि सर्वसाधारणका लागि खुला गरिएको छ । बुधबारदेखि भक्तजनले मन्दिरभित्र गई पूजा गर्न सुरु गरेका छन् ।

भूकम्पअघि दक्षिण पश्चिम ६ इन्च ढल्किएको मन्दिर ०७२ वैशाखको भूकम्पले थप ढल्किएपछि पुनर्निर्माण थालिएको हो । १३ करोड रुपैयाँमा जीर्णोद्धार सकिएको मन्दिर ०७२ असारमा क्षमा पूजा गरेर भत्काइएको थियो । जीर्ण भएको मन्दिरलाई भूकम्पले थप जोखिममा पारेको थियो ।

नेपाल सरकार र भक्तजनबाट आएको रकमबाट जीर्णोद्धार सम्पन्न भएको मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए । ‘जीर्णोद्धारको काम सकेर मुल मन्दिरमै पूजा थालियो,’ जिर्णोद्धार विकास समितिका अध्यक्ष श्रेष्ठले भने, ‘दसैँमै भक्तजनलाई खुला गर्ने योजना थियो ।

आँगनमा ढुंगा छाप्ने र सरसफाइ गर्ने काम नसकिएकोले बुधबारबाट बल्ल मूल मन्दिरमै पूजा थालियो ।’ जिर्णोद्धारको क्रममा मनकामना मन्दिरकै छेउमा मन्दिरको प्रतिमा बनाएर भक्तजनलाई पूजा गर्ने व्यवस्था मिलाइएको थियो ।

बुधबार बिहान नित्य पूजा गरेर मन्दिर खुला गरिएको पुजारी इन्सान थापा मगरले बताए । ‘कहिलेबाट मन्दिरमा पूजा गर्न पाइन्छ भनेर धेरैले जिज्ञासा राख्दै आउनुभएको थियो, पूजा चलाउने अवस्थामा मन्दिर आइसकेको भएर बुधबारबाट खुला गरेका हौँ,’ उनले भने ।

यसअघि दश कर्म पूजा गरेर भक्तजनका लागि मन्दिर खुला गर्ने भनिएको थियो । ‘दश कर्म पूजाका लागि माघमा मात्र तिथि रहेछ, समय लाग्ने भएपछि भक्तजनको इच्छा र पूजाआजाको सहजतालाई मध्यनजर गरेर मन्दिर खुला गरेका हौँ,’ मगरले भने ।

मन्दिरमा पूजाआजा व्यवस्थित भएको र भक्तजनलाई पनि सहज भएको पुजारी मगरको भनाइ छ । पुनर्निर्माणमा करिब १८ किलो सुन खर्च भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । मन्दिर जीर्णोद्धारका लागि पूरातत्व विभागबाट चार करोड रुपैयाँ विनियोजन भएको थियो । उक्त रकमले सात किलो सुन खरिद गरिएको थियो । बाँकी रकम भक्तजनबाट संकलन भएको श्रेष्ठले बताए ।

करिब साढे तीन वर्ष अस्थायी टहरामै पूजा गर्दै आएका भक्तजनहरू मन्दिर भित्रैबाट पूजा गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । पुरानै प्यागोडा शैलीमा मन्दिर पुनर्निर्माण भएको छ ।

प्रतिक्रिया