उपत्यकाका गाडीलाई जोर–बिजोर प्रणाली

काठमाडौं । सरकारले एसिया प्यासिफिक समिटका लागि चार दिन राजधानीमा चल्ने सवारी साधनमा जोर–विजोर प्रणाली लागू गरेको छ ।

मंसिर १४ देखि १७ गतेसम्म हुने समिटका लागि काठमाडौंमा चल्ने गाडीलाई जोर–बिजोर प्रणाली लागू गरेको हो । उक्त कार्यक्रममा सहभागी हुन विभिन्न देशका अतिविशिष्ट र विशिष्ट व्यक्तिहरू आउने भन्दै गृह मन्त्रालयले आवागमन व्यवस्थित बनाउन जोर–बिजोर प्रणाली लागू गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंसिर १३ देखि १६ गतेसम्म चार दिन काठमाडौंमा चल्ने गाडीहरूमा जोर–बिजोर प्रणाली लागू गरेको छ । मंसिर १३ र १५ गते नम्बर प्लेटको अन्तिमको अंक बिजोर भएको र १४ र १६ गते जोर भएका सवारी साधन मात्र चल्न पाउने छन् । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारीसाधनमा भने जोर–बिजोर प्रणाली लागू नहुने महाशाखाले जनाएको छ ।

युनिभर्सल पिस फेडेरेसनको आयोजनामा मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंको ह्यात रिजेन्सीमा एसिया प्यासिफिक समिट हुन लागेको छ । आयोजकका अनुसार उक्त कार्यक्रममा ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार बिहीबार अर्थात् मंसिर १३ गते नेपालमा म्यान्मारकी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आउँदै छन् ।

उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयले उनीहरू कुनै कार्यक्रममा सहभागी हुनेबारे भने जानकारी गराएको छैन । उनीहरू सद्भावना भ्रमणका लागि आउने मात्र उल्लेख गरेको छ ।

प्रतिक्रिया