पुस्तकमा दलित संघर्ष र सफलता

काठमाडौं । नेपालमा दलित आन्दोलन र त्यसका अगुवाका बारेमा लेखिएको पुस्तक बजारमा आएको छ । दलित नेताहरुको संघर्ष र सफलता समेटिएको ‘दलित नेतृत्वः संघर्ष र सफलता’ नामक पुस्तकको विमोचन एक समारोहका बीच सभामुख कृष्णबहादुर महराले गरे ।

दलित महिला केन्द्र नेपालद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा सभामुख महराले दलित समुदायबारे अहिलेसम्म प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि संघर्ष गर्नुपर्ने बताए । उनले दलित समुदायका अगुवाहरू एकीकृत रूपमा अगाडि बढ्दै थप अधिकार प्राप्ति र समाज रूपान्तरणमा लाग्नुपर्नेमा जोड दिए । पुस्तक देशकै लागि ऐतिहासिक दस्तावेज भएको हुँदा त्यसबाट दलित समुदायका नयाँ नेतृत्वले सिक्नुपर्ने विषय धेरै रहेको भनाइ राखे ।

परशुराम रम्तेल र गणेश विकेले लेखेको उक्त पुस्तकमा १३ दलित आन्दोलनका अगुवा तथा नेताको संघर्ष र सफलताबारे चर्चा गरिएको छ । पुस्तकको लेखक राजेन्द्र महर्जनले सम्पादन गरेका छन् ।  पुस्तकमा उमादेवी वादी, कलावती पासवान, खड्कबहादुर बस्याल, छविलाल विश्वकर्मा, टेकु नेपाली, तिलक परियार, पद्यलाल विश्वकर्मा, मिठाइदेवी विश्वकर्मा, मानबहादुर विश्वकर्मा, रामप्रित पासवान, विश्वभक्त दुलाल, सन्तबहादुर नेपाली र सन्तोषी विश्वकर्माको संघर्ष, नेतृत्व र व्यक्तित्व समेटिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तिलक परियार, नेत्रीहरू मिठाइदेवी विश्वकर्मा र टेकु नेपाली लगायतले एकीकृत दलित आन्दोलनमा जोड दिए । केन्द्रका अध्यक्ष गौरा नेपालीले पुस्तकमा समेटिएका संघर्षका गाथा कुनै व्यक्ति–विशेषको कथामात्र नभई सिंगो दलित आन्दोलनको इतिहास भएको जिकिर गरिन् ।

प्रतिक्रिया