सडकमै धान चुट्दा सास्ती

रौतहट । रौतहटका किसान यतिवेला वर्षभरी खाने अन्न धान काट्ने र भित्र्याउन व्यस्त छन् ।

पहिलापहिला धान काट्नेदेखि लिएर चुट्नसम्म मान्छेकै प्रयोग गरिन्थ्यो । धानको बोझा ओसारेको एक र दुई दिनमा छिमेकी समेतको गरी कम्तीमा तीन हल गोरूको मद्दतले दाइँ गर्ने चलन थियो । तर, हाल आएर आधुनिक उपकरणको प्रयोग हुन थालेको छ । आधुनिकीकरणको फाइदा उठाउँदै किसानले थोरै समय र थोरै लगानीमा दाइँ गर्न थ्रेसर मेसिनको प्रयोग गर्न थालेका छन् ।

किसानहरूले थ्रेसरको मद्दतले खेतमै धान चुट्ने गर्ने गर्थे तर पछिलो समय खेतमा नचुटेर सडकमै धान चुट्न थालेपछि बाटोमा ओहोरदोहोर गर्ने यात्रीहरू धूलो र भुसाले सास्ती खेप्न बाध्य छन् । जताततै धानको भुस र परालको फोहोरै फोहोरले यात्रीहरू हैरानी खेप्न बाध्य छन् । सडकमै ट्याक्टर र थ्रेसर तेस्र्याएर धान भित्र्याउने गर्दै गरेको दृश्य अहिले रौतहट जिल्लामा सहजै देख्न पाइन्छ ।

सडकमै धानका बोझा राख्ने अनि सडकमै चुट्ने प्रवृत्ति बढिरहेको छ । ओहोरदोहोर गर्ने सडकमै ट्रयाक्टर सहितको थ्रेसर मेसिन पार्किङ गरिएपछि बाटो समेत साँघुरो र कतिपय स्थानमा त बाटो नै बन्द हुने गरेको छ ।

थ्रेसरले फालेको भुसा र धुलोले नाक, मुख, आँखा सबै छोपेर बुटुवाहरू हिँडन बाध्य हुनुपरेको छ । उनीहरू धूलोबाट जोगिन शरीर नै छोपिने प्रयास गर्छन् तर धुलोले पूरै शरीर ढाकिने गरेको उनीहरू बताउँछन् ।

आफ्नो व्यक्तिगत फाइदाका लागि मात्र सडकमै धान चुट्ने परिपाटी गलत रहेको चन्द्रपुरका स्थानीय भरत आचार्यले बताए । सार्वजनिक बाटो नै कब्जा गरेर धान भित्र्याउने हो भने कहाँबाट हिँड्ने, उनले प्रश्न गर्दै भने । बाटोमा धान चुटिरहेकोे टोलीलाई यात्रीको पीर मर्काको कुनै परवाहसमेत नहुने गरेको उनको तर्क छ ।

सडकमा थ्रेसर तेस्र्याएर धान चुट्दा सम्झाउने कोही देखिँदैनन् । सबै बटुवाहरू धुलोको पीडा सहेर गन्तव्यतिर लाग्नुपर्ने अवस्था छ । कसैले किन यसो गरेको सोधे गालीसमेत सुन्नुपर्ने गरेको अनुभव उनीहरू सुनाउँछन् । सम्झाउन खोज्दा उल्टै झगडा गर्न आउने कारणले सडकमै जबर्जस्ती गर्नेलाई कोहीले पनि सम्झाउन नचाहेको चन्द्रपुर–७ का उद्धब खनालले बताए ।

‘बटुवालाई असर पु¥याउने गरी सडकमा धान चुट्नु हुँदैन,’ उनले भने, ‘यो सरासर गलत काम हो, यसलाई सम्बन्धित निकायले रोक्नुपर्छ ।’ तर यस्ता प्रवृत्तिलाई रोक्न सम्बन्धित निकाय, स्थानीय प्रशासनले चासो नदेखाएको उनले आरोप लगाए । आफ्नो फाइदाका लागि अरूलाई असर पु¥याउने कम कोही कसैले गर्न नहुने जिकिर गर्दै उनले सडकमा धान चुट्ने चलन अहिले बढेको बताए ।

उनका अनुसार गाउका भित्री तथा साँघुरो सडकमा आवतजावत नै ठप्प पार्ने गरी सडकमा थ्रेसर तेस्र्याएर धान चुट्दै गरेको थुप्रै दृश्य आफूले देखेको उनले सुनाए । सडकमा धान चुट्ने चलन हट्नुको सट्टा विस्तारै बढ्दै गएकोले यस्ता क्रियाकलाप गर्ने व्यक्तिलाई निरूत्साहित पार्न स्थानीय प्रशासनले कडाइ गर्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया