‘कार्यस्थलमा नखटिने इन्जिनियरलाई कारबाही हुन्छ’

काभ्रेपलाञ्चोक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा खटाइएका इन्जिनियर गाउँ नबसे तत्कालै कारबाही गरिने चेतावनी दिएका छन् ।

राष्ट्रिय पुर्निनर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली)द्वारा आइतबार धुलिखेलमा आयोजित जिललास्तरीय नीजि अवास पुनर्निर्माणसम्बन्धी दुई दिने समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै ज्ञवालीले स्थानीय जनप्रतिनिधिले आफ्ना क्षेत्रमा इन्जिनियर तथा अन्य प्राविधिक नबसेको जानकारी दिए तत्कालै कारबाही गरिने बताए । उनले भने, ‘प्राविधिकहरू गाउँमा बस्नैपर्छ, यदि नबसेको भए जानकारी दिनुस्, तत्कालै कारबाही गर्छु ।’

ज्ञवालीले भूकम्पपीडितका बैंक खातामा गएको अनुदान रकम बैंकले विभिन्न बहानामा झुलाउने गरेको गुनासो पनि आएकाले त्यसबारे तत्कालै अनुगमन, छानबिन गरिने बताए । उनले प्राधिकरण र नेपाल राष्ट्र बैंकसँग यसबारे छलफल भइसकेको बताउँदै राष्ट्र बैंकका प्रतिनिधि र प्राधिकरणको प्रतिनिधि टोलीले छानबिन सुरु गर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जिल्लामा बस्ती स्थानान्तरणको समस्या देखिएकाले प्राधिकरणले यसप्रति चासो दिनुपर्ने बताए । राष्ट्रिय पुननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली)का प्रमुख लोकनाथ रेग्मीले जिल्लाका ६८ हजार ७ सय ७३ भूकम्पपीडित परिवारमध्ये हालसम्म ३२ प्रतिशतले तेस्रो किस्ता अनुदान लिइसकेको जानकारी दिए ।

प्रतिक्रिया