राजपामा विवाद चर्कियो

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा संयोजक फेरिएपछि नेताहरूबीच विवाद चुलिएको छ । अध्यक्ष मण्डलको बहुमतको निर्णयका आधारमा महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतो संयोजक भएपछि विवाद चुलिएको हो ।

विधानमा सबै कुरा सहमतीय आधारमा गर्ने लेखिए पनि बहुमतीय आधारमा संयोजक फेरिएको भन्दै रुष्ट बनेको एक समूहले सोमबार राजधानीमा छुट्टै भेला बोलाएको छ । निर्णयबाट चिढिएका ठाकुर पक्षीय नेताहरू भेलामा जुटेका हुन् ।

आफू पक्षीय केन्द्रीय सदस्य तथा अन्य नेताहरूको बैठक बोलाइएको एक सदस्यले जानकारी दिए । ठाकुर पक्षीय नेता वृषेशचन्द्र लालको अगुवामा बिजुलीबजारस्थित तत्कालीन तमलोपाको कार्यालयमा बैठक बस्ने जनाइएको छ । लालले शनिबार नै निकटका नेता तथा कार्यकर्तालाई फोन गरेर बैठकमा बोलाएका छन् ।

बैठकमा ठाकुरलाई संयोजकबाट हटाइसकेपछि कस्तो रणनीतिका साथ अघि बढ्ने भन्ने विषयमा छलफल हुने बुझिएको छ । लालले भने, ‘यो कुनै भेला होइन, पार्टीको बारेमा अहिले विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन, त्यस्तो टिकाटिप्पणी नहोस्, एका अर्कामाथि आरोप प्रत्यारोप नलगाइयोस् र आगामी दिनमा पार्टीलाई कसरी आगाडि बढाउन सकिन्छ भन्ने विषयमा केही सीमित साथीहरूसँग सामान्य छलफल गर्न लागिएको हो ।’

ठाकुरलाई संयोजकबाट हटाएको कुरामा कुनै विवाद नभए पनि विधान देखाएर एकाएक षड्यन्त्रपूर्वक हटाउने काम भएको उनले बताए । ‘महाधिवेशनको तयारी चलिरहेको थियो । नेता तथा कार्यकर्ता उत्साहित भएर महाधिवेशनको तयारीमा लागेका थिए । यस्तो वेलामा संयोजक फेर्ने के त्यस्तो आवश्यकता प¥यो ?’ उनले प्रश्न गरे ।

यता, राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले ठाकुरले जथाभावी नियुक्ति गर्न थालेपछि संयोजकबाट हटाइएको दाबी गरे । ‘महाधिवेशनसम्म ठाकुरलाई संयोजक राखेर जाने कुरा थियो तर उहाँले पछिल्लो समय जथाभावी रूपमा मनोनयन तथा नियुक्तिहरू गर्न थाल्नुभयो’, यादवले भने । आफ्ना सम्धी उमाकान्त झादेखि लिएर प्रदेश–२ को नीति आयोगमा सुरेन्द्र झालाई नियुक्ति गर्नेसम्ममा ठाकुरले कसैसँग सल्लाह नगरेको उनले आरोप लगाए ।

राजपा नेपालमा पहिला पनि दुई गुट थियो । एउटा गुटको नेतृत्व महन्थ ठाकुरले गरिरहेका थिए भने अर्को गुटको नेतृत्व राजेन्द्र महतोले गरिरहेका थिए । अहिले पनि त्यही गुट कायमै छन्, तर गुटका पात्रहरू फेरिएका छन् ।

पहिला ठाकुरको साथमा महेन्द्रराय यादव, राजकिशोर यादव, अनिल झा थिए भने महतोको गुटमा शरतसिंह भण्डारी मात्र थिए । अहिले ठाकुरसँग अनिल झा मात्र बाँकी छन् । यसैबीच, राजपा नेपालले सोमबार अध्यक्षमण्डलको बैठक बोलाएको छ । सरकारसँग वार्ता र आगामी महाधिवेशनको विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको संयोजक महतोले जानकारी दिएका छन् ।

प्रतिक्रिया