‘खोई सरकार कहाँ छ ?’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देश सरकारविहीनताको अवस्थामा पुगेको टिप्पणी गरेको छ । सरकारको ९ महिने अवधिको कामकारबाही हेर्दा यो अवस्थामा आइपुगेको दाबी गरेको हो । महासमिति बैठक तयारी सन्दर्भमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकार गठनको ९ महिना पुगेको घडीमा सरकार कहाँ छ भनेर कारुणिक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था आएको टिप्पणी गरेका हुन् । ‘३ मंसिरमा वर्तमान सरकार गठन भएको ९ महिना पुगेको छ । यो घडीमा ‘नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ’, भनेर छोटो तर कारुणिक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था बनेको छ’ प्रवक्ता शर्माले भने ।

लोकतान्त्रिक संस्कृति, राष्ट्रवाद, संघीयता, सुशासन, बजारमूल्य, शान्ति सुरक्षा, संविधानप्रति अपनत्व विस्तार, समृद्धि यात्राका गतिविधिमा सरकार असफल भएको कांग्रेसले ठहर गरेको छ । शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण असफल भएको र सुशासनको नारा पनि ‘नमच्चिने पिङको सय झट्का’मात्र भएको कांग्रेसले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा दुई जनाको हत्या भएको, सर्लाही र रोल्पामा गरी कांग्रेसका दुई कार्यकर्ताको हत्या भएको र निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नको पहिचान गर्न नसकेको शर्माले बताए ।

‘सरकारसँग नागरिकको सबैभन्दा ठूलो अपेक्षा सुरक्षाको हुन्छ’ उनले भने ‘सरकार सबै नागरिकको जीउधनको सुरक्षा गर्न असफल भएको छ ।’ निर्मला पन्तको बुबाआमा डेढ सातादेखि धर्नामा रहेको भन्दै शर्माले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू यहाँको रामराज्यमा निर्मलाले न्याय पाउने सम्भावनाको मृत्यु भइसकेको हो ?’ कांग्रेसले विकासका सबै ठूला परियोजना प्रधानमन्त्री कार्यालय मातहत ल्याउने तयारी संघीयताको मर्म प्रतिकूल रहेको भन्दै संघीयताको प्रभावकारीलाई झनै असर पुग्ने ठहर गरेको छ ।

जयनगर–जनकपुर–कुर्था रेल सेवाको उद्घाटन भारतको मुख्यमन्त्रीले गर्ने विषयप्रति कांग्रेसले असन्तोष व्यक्त गरेको छ । ‘मित्रराष्ट्रको लगानी र सहयोगलाई हामीले सदैव स्वागत र कदर गरेका छौँ । तर कुनै पनि परियोजनाको उद्घाटन दूर राष्ट्रका प्रधानमन्त्रीबाट संयुक्त रूपमा हुने या निश्चित विभागीय तहबाट हुने परम्परा र मर्यादा उल्लंघन गर्न मिल्दैन’ कांग्रेस प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले उक्त विषयमा आपत्ति प्रकट गर्दै सार्वजनिक जवाफको मागसमेत माग गरेको छ ।

यस्तै, मन्त्रिपरिषद्को निर्णय ७ दिनमा सार्वजनिक गर्ने निर्णयप्रति पनि आपत्ति जनाउँदै कांग्रेसले २४ घण्टामै सार्वजनिक गर्ने प्रबन्ध गर्न आग्रह गरेको छ । सरकारले गत सातादेखि मन्त्रिपरिषद् बैठक एक हप्तामा पत्रकार सम्मलेन गरी सार्वजनिक गर्न सुरु गरेको थियो ।

प्रतिक्रिया