व्यवसायीको गोली हानी हत्या

सुनसरी । दुहबीमा इँटा व्यवसायी मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको छ । बुधबार बिहान साढे ६ बजेतिर मोटरसाइकलमा आएका दुईजनाले उनलाई गोली प्रहार गरेका थिए ।

गोली लागि घाइते भएका उनको उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कसले र किन गोली हान्यो भन्ने बारेमा यकिन हुन नसकेको भन्दै प्रहरीले घटनामा संलग्न भएको आशंकामा ६ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

भुटाहामा शिक्षक खुर्सिद आलमको हत्याबारे अनुसन्धान जारी रहेकै वेला मारिएका हुसेनको घटनामा संलग्न भएको हुनसक्ने आशंकामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारीले केही व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा जय बाबा इँटा उद्योगका कर्मचारी र सुरक्षागार्ड छन् ।

हुसेन त्यही उद्योगका सुपरभाइजर थिए । घटनालगत्तै प्रहरी प्रधान कार्यालयबाट निर्देशन भएअनुरूप नेपाल प्रहरीको गुप्तचर निकाय विशेष ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को दुईवटा टोली घटनास्थल पुगेको छ ।

अपराध अनुसन्धान विभाग मातहत रहेको विशेष ब्युरोबाट वरिष्ठ उपरीक्षक (एसएसपी) मसउँद आलम खाँको नेतृत्वमा एक टोली र सिआइबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिराबहादुर पाण्डे र अर्का एकजना प्रहरी निरीक्षकको गरी दुईजनाको अर्को टोली सुनसरी पुगेको छ ।

उनीहरूले घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयलाई प्राविधिकसहित थप आवश्यक सहयोग गर्नेछन् । एसएसपी खाँ एसपी हुँदा सुनसरीमै बसेकाले उनलाई खटाइएको विभागले जानकारी दिएको छ । हुसेदको लेनदेनसम्बन्धी विवादले गोली प्रहार गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

यसैबीच, घटनाको विरोधमा स्थानीय विराटनगर इटहरी सडक खण्डमा मृतकको शवसहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले हत्यामा संलग्नलाई २४ घण्टाभित्र सार्वजनिक गर्न पनि माग गरेका छन् । प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

उनीहरूले मृतकलाई सहिद घोषणा गर्नुपर्ने, परिवारलाई उचित राहत दिनुपर्ने, मृतक हुसेन विद्युत् प्राधिकरणका जागिरे भएकाले उनको ठाउँमा छोरालाई जागिर दिनुपर्ने मागसमेत गरेका छन् ।

प्रतिक्रिया