राजपाको संयोजकमा महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले अध्यक्ष मण्डलको नेतृत्व (संयोजक) चक्रीय प्रणालीबाट सञ्चालन गर्ने भएको छ ।

६ वटा मधेसवादी दलबीच एकता भएर बनेको राजपाको स्थापना कालदेखि नै अध्यक्ष मण्डलको नेतृत्व महन्थ ठाकुरले गर्दै आएका थिए । तर, बुधबारबाट उनको ठाउँमा राजेन्द्र महतो अध्यक्ष मण्डलको संयोजक चुनिएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकले महाधिवेशन नभएसम्म संयोजक चक्रीय प्रणालीमा गर्ने बहुमतका आधारमा निर्णय गरेको हो । सोहीबमोजिम अध्यक्ष मण्डलका सदस्य रहेका नेता महतोलाई बुधबारदेखि लागू हुने गरी संयोजकको जिम्मेवारी दिइएको हो ।

निर्धारित समयमै पार्टी महाधिवेशनको सुनिश्चितता गर्न, पार्टीमा सामूहिक निर्णयको अभ्यासलाई निरन्तरता दिन, संगठन विकास र विस्तार गर्न, नेता कार्यकर्ताबीच अनुशासन कायम राख्न अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रीय प्रणालीमा सञ्चालन गर्ने निर्णय लिइएको राजपाका संयोजक ठाकुरले विज्ञप्तिमार्फत जनाएका छन् । चक्रिय प्रणाली भने पनि कुन नेताले कति समय चलाउने भन्ने उल्लेख छैन ।

त्यस्तै, बैठकले पार्टी एकीकरणको समयमा निर्वाचन आयोगमा बुझाइएका केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक मान्दै त्यसपछि पार्टी संगठनमा भएका सबै प्रकारको नियुक्ति र मनोनयनलाई रद्द गर्ने निर्णय गरेको छ । राजपाले साधारण तथा सक्रिय सदस्य वितरण अभियानको मितिसमेत मंसिर मसान्तसम्मको लागि बढाएको छ ।

प्रतिक्रिया