जनकपुर–लखनऊ बस सेवा सुरु

धनुषा । भारतको उत्तर प्रदेशको राजधानी लखनऊबाट प्रदेश–२ को राजधानी जनकपुरसम्म बस सेवा सुरु भएको छ ।

नेपाल सरकारले लखनऊबाट जनकपुरसम्म सञ्चालन गर्न दुई वटा बसलाई अनुमति दिएको छ । उत्तर प्रदेश सरकारले सञ्चालन गर्दै आइरहेको अवध डिपोको ५२ सिट क्षमतासहितको एसी बस सञ्चालनमा ल्याएको छ ।

लखनऊको आलमबाग बसपार्कबाट हरेक दिन जनकपुरका लागि बस छुट्ने बताइएको छ । लखनऊबाट अपराह्न २ बजे हिँड्ने बस ६ सय ९२ किलोमिटर यात्रा पूरा गरी भोलिपल्ट बिहान ६ बजे जनकपुर पुग्ने छ । उक्त दुरीमा यात्रु भाडा भारतीय ९ सय २८ कायम गरिएको छ ।

जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले भारत सरकारले जनकपुरसम्म बस पठाए पनि नेपालका तर्फबाट बस सञ्चालनका विषयमा टुंगो लाग्न नसकेको बताए ।

जनकपुरबाट बस छुट्ने समयबारे छलफल चलिरहेको उनले जानकारी दिए । जनकपुर–पटना बस सेवा व्यवस्थापन गर्दै आएका सुमन्तकान्त ठाकुरले लखनऊबाट बस जनकपुरसम्म आइपुगे पनि भारतीय पक्षले आफूहरूलाई कुनै जानकारी नै नदिएको जानकारी दिए । लखनऊबाट अयोध्या हुँदै हिँडेको बस आइतबार अपराह्न जनकपुर पुगेको थियो ।

गत वैशाख २९ गते जनकपुर भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–अयोध्या बस सेवाको उद्घाटन गरे पनि उक्त बस सेवा नियमित हुन सकेको छैन ।

प्रतिक्रिया