कारगारभित्रै स्वास्थ्य सेवा

सल्यान । जिल्ला कारागार सल्यानका कैदीबन्दीले कारगारभित्रै स्वास्थ्य सेवा पाउन थालेका छन् । कारागारभित्रै स्वास्थ्य सेवाको पहुँच भएपछि कैदीबन्दीहरू खुसी भएका छन् । विगत तीन महिनाअघि कारागारमा स्वास्थ्यकर्मी डम्बर विष्टको नियुक्ति भएसँगै कारागारभित्रै कैदीले सहजै स्वास्थ्य सेवा पाउन थालेको जेलर विक्रम केसीले जानकारी दिए ।

स्थापनाकालदेखि कारागारमा पहिलोपटक स्वास्थ्यकर्मी नियुक्ति भएसँगै यहाँका कैदीबन्दीले सेवा लिन थालेको उनले बताए । प्रत्येक साताको एक दिन मंगलबार सबै कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षण गरिने गरेको केसीले जानकारी दिए । यसो हुँदा तत्कालै कार्यालय परिसरभित्रै कैदीको स्वास्थ्य अवस्थासमेत राम्रो भएनभएको जानकारी लिन सकिने उनले बताए ।

‘स्थापनाकालदेखि नै यहाँका कैदीबन्दीहरूको स्वास्थ्य जाँच गर्न जिल्ला अस्पताल लग्ने गरिएको थियो’, उनले भने, ‘तर अहिले आएर यहाँ एचए विष्टको नियुक्तिसँगै यो समस्याबाट छुटकारा पाइएको छ ।’

अहिले कारागारभित्र रहेका कैदीहरूको सामान्य रोगको स्वास्थ्य जाँचसँगै निःशुल्क औषधिसमेत वितरण गरिने गरेको स्वास्थ्यकर्मी विष्टले जानकारी दिए । उनले भने, ‘मैले यहाँ असोजदेखि नियुक्ति पाएर काम सुरु गरेदेखि अहिलेसम्म कैदीबन्दीलाई उपचार गर्न कारागार बाहिर पठाएका छैनौँ ।

टाउको दुख्ने, ज्वरो आउने, पेट दुख्ने अवस्थामा समेत उपचार गर्न जिल्ला अस्पताल पु¥याउनुपर्ने हुन्थ्यो तर अहिले यस प्रकारका सबै रोगको जाँच र उपचार सेवा कार्यालयमै दिँदै आएका छौँ । अहिले सामान्य चेकजाँच र औषधि उपचारबाहेक जटिल प्रकृतिका बिरामीलाई मात्रै बाहिर रेफर गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

अहिले कारागारमा रहेका कैदीबन्दीहरूमा ज्वरो आउने, ढाड दुख्ने, पेट दुख्ने, शरीर झम्झमाउने, सुगर लगायतका समस्या देखिएको स्वास्थ्यकर्मी विष्टले जानकारी दिए । साथै एक जना महिलाले डिप्रेसनको औषधि सेवन गरिरहेको उनले बताएका छन् ।

‘उसो त प्रत्येक साताको मंगलबार हामीले कैदीबन्दीको स्वास्थ्य जाँच गर्ने गरेका छौँ’, उनले भने, ‘तर अन्य जुनसुकै समयमा पनि स्वास्थ्य सम्बन्धीको आकस्मिक सेवासमेत दिने गरेका छौँ ।’ उनले थपे, ‘कतिपय अवस्थामा राती पनि कसैलाई समस्या देखिएमा स्वास्थ्यजाँच र औषधि सेवन गर्न दिने गरेका छौँ । यसले कैदीबन्दीहरूले तत्कालै सेवा पाएका छन् ।’

कारागारका चौकीदार राजु खत्रीका अनुसार हरेक दिन बेलुका कैदीबन्दीको स्वास्थ्य अवस्थाबारे सोधपुछ गर्ने र भोलिपल्ट बिहान स्वास्थ्यकर्मीलाई स्वास्थ्य समस्या बारे जानकारी गराउने गरिन्छ । ‘हामी प्रत्येक दिन बेलुका गेट बन्द गर्नुअघि प्रत्येक कैदीबन्दीलाई स्वास्थ्य अवस्था बारे सोधपुछ गर्छौं र भोलिपल्ट बिहानै स्वास्थ्यकर्मीलाई जानकारी गराउने गरेका छौँ’, उनले भने ’ हाल यस कारागारमा ९४ जना कैदीबन्दी रहेको कारागारले जनाएको छ । जसमा पुरुष ७३ जना र महिला १८ जना र दुई नाबालक रहेका छन् ।

प्रतिक्रिया