मूल्य अस्थिरताले किसान र उद्योगी मारमा

इलाम । उत्पादनको मूल्य स्थिर नहँुदा किसान, मजदुर र उद्योगी मारमा परेको सारोकारवालाहरूले बताएका छन् । उत्पादनदेखि उपभोक्तासम्म पु¥याउन बर्सेनि मूल्यमा हुने अस्थिरताले लगानी उठाउन समेत समस्या भएको उनीहरूले गुनासो गरेका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रीय समितिले इलाममा आयोजना गरेको ‘जिम्मेवार व्यवसायको प्रवद्र्धन र नीतिगत अवस्था’ विषयक कार्यक्रमका सहभागीहरूले राज्यको नीतिगत अस्पष्टताका कारण यस्तो समस्या आएको बताएका हुन् ।

प्रमुख आयस्रोतका नगदेबाली अदुवा, चिया, अलैँची र दुग्धजन्य उत्पादित पदार्थका मूल्यमा परिवर्तन भइरहने प्रक्रियाले किसान मात्र नभई उद्योगी र मजदुरलाई समेत गम्भीर असर परेको उनीहरूले बताए । श्रम संगठनका प्रतिनिधि, किसान, उद्योगी, व्यवसायी र सञ्चारकर्मीहरू सहभागी रहेको कार्यक्रममा वक्ताहरूले यस्तो समस्या समाधान गर्न राज्यको स्पष्ट नीति आउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागी भएका उद्योगी टंक दाहालले मूल्यमा एकरूपता नहुँदा बगानमा चिया टिप्ने श्रमिक नै पाउन मुस्किल हुन थालेको बताए । इलाम नगरपालिका–१ स्थित ग्रिनहिल अर्थोडक्स चिया प्रशोधन उद्योगका प्रोप्राइटरसमेत रहेका दाहालले महँगो मूल्यमा चियाको पत्ती खरिद गरेर प्रशोधन गरिएका चियाको मूल्य परिवर्तनले उद्योग घाटामा जान थालेको बताए ।

‘यसको प्रत्यक्ष असर चिया श्रमिकमा परेको छ । समयमा श्रमिकलाई पारिश्रमिक दिन नसक्नु, श्रम अनुसारको पारिश्रमिक दिन नसक्नुले चिया टिप्नका समयमा श्रमिक पाउनसमेत गाह्रो छ’, उनले भने ।

जौबारी टी स्टेटकी श्रमिक देवुका आचार्यले भौगोलिक विविधताका कारण मजदुर एकजुट हुन नसक्दा मौन रहेर काम गर्न बाध्य भएको दुःखेसो पोखिन् । ‘समयमै ज्याल पाइँदैन । मालिकसँग कुरा राख्दा मूल्यमा फेरबदलको कारण समस्या देखाउने गरेको छ’, उनले भनिन् ।

मूल्यमा अस्थिरताकै कारण धेरै उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । सूर्योदय नगरपालिकाको ५८ चिया उद्योगमध्ये नौ उद्योग बन्द भएका छन् । त्यस्तै १६ उद्योग बिक्रीमा रहेको नगर उद्योग वाणिज्य संघका सदस्य सुजन तिमल्सिनाले बताए । इलाम नगरपालिका–१ मा मात्र सहकारीद्वारा सञ्चालित नौ वटा चिया उद्योग सञ्चालनमा रहेका छन् । तिनीहरूको अवस्था पनि दयनीय बन्दै गएको छ ।

यस्तै अदुवा, अलैँची र दुग्धजन्य पदार्थमा समेत मूल्य स्थिर रहन नसक्दा व्यावसायिक खेती गर्दै आएका किसानहरू वैकल्पिक वयवसायतर्फ लाग्ने अवस्थामा पुगेका छन् । इलाम नगरपालिका–९ की अदुवा किसान मीना चौहानले भाउमा उतारचढावले लगानी नै नउठ्ने भएकाले अदुवा नै रोप्न छोड्ने अवस्था आएको बताइन् ।

जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले पूर्वी नेपालमा दूध, अदुवा, अलैँची र चियामा लगानी बढाउँदै अब गुणस्तरीय उत्पादन गरी तेस्रो मुलुक निर्यातका लागि संघ सरकारले लगानी बढाउनुपर्ने बताए । कृषि क्षेत्रमा इलाम अग्रणी भए पनि सरकारी क्षेत्रबाट व्यवस्थित लगानी गरी गुणस्तर सुधारका लागि बजारीकरणका लागि पहल गर्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले इलामको चिया क्षेत्रमा काम गर्ने मजदुरको समस्या समाधानका लागि आफ्नो क्षेत्रबाट पहल गर्ने बताए । सरकारले नयाँ ज्याला तोकेकाले उद्योगीहरूले त्यो कार्यान्वयन गर्नुपर्नेमा तिमल्सिनाले जोड दिए ।

इलाम नगरपालिका इलामका प्रमुख महेश बस्नेतले अब उद्योगी, किसान र मजदुरका समस्यालाई सम्बोधन गर्ने गर्दे तालिम, उत्पादन र बजारीकरणलाई महत्व दिने प्रतिवद्धता जनाए । ‘उत्पादित वस्तुको बजारीकरणका लागि नगरपालिकाले विभिन्न योजना अघि बढाएको छ’,बस्नेतले भने, ‘आगामी दिनमा कृषि क्षेत्रमा देखिएको समस्यामा क्रमिक सुधार ल्याउनेछौँ ।’

फोनिजका अध्यक्ष दण्ड गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा श्रम संगठनका प्रतिनिधि, किसान, उद्योगी, व्यवसायी र सञ्चारकर्मीसहित ६० जनाको सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा सञ्चालित आइएलओ फोनिज एसिएफ परियोजनाको दोस्रो कार्यक्रमअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको परियोजना संयोजक गंगा गुरुङले बताइन् ।

परियोजनाको पहिलो कार्यक्रमअन्तर्गत फोनिजले सात जिल्लाका २१ पत्रकारलाई समेटेर १२ देखि १६ कात्तिकसम्म अनुसन्धनात्मक पत्रकारिता तालिम इलाममा नै सञ्चालन गरेको थियो ।

प्रतिक्रिया