‘कांग्रेसलाई पहिलाकै हालतमा फर्काइन्छ’

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई संगठित बनाउन कुनै पनि कसर बाँकी नराख्ने बताएका छन् ।
विराटनगरस्थित कोइराला निवासको परिसरमा निर्माण गरिएको जिपी कोइराला फाउन्डेसनको प्रदेश–१ कार्यालय भवनको आइतबार उद्घाटन गर्दै उनले कांग्रेसलाई पहिलेको अवस्थामा फर्काएर छाडने बताए ।

विगतको निर्वाचनमा पार्टीभित्रको गुट–उपगुटका कारण कांग्रेसले पराजय भोग्नुपरेको भन्दै कांग्रेसलाई सुदृढ बनाउन कोइराला परिवारका शेखर कोइराला, सुजाता कोइराला र आपूmबीच हिजो पनि एकता थियो र आज पनि छ र भोलि पनि रहिरहने दाबी गरे ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बिपी कोइराला, गिरिजाप्रसाद कोइराला र गणेशमान सिंहको सपना पूरा गर्न कांग्रेस दृढ हुनुपर्ने बताए । उनले समयमा पार्टीको महासमितिको बैठक र महाधिवेशन हुने आवश्यक रहेको बताए । उनले कांग्रेसलाई बलियो बनाउन विगतका तिक्ततालाई सबैले त्याग्नुपर्ने बताए ।

अर्का केन्द्रीय सदस्य सुजाता कोइरालाले मुलुकको राजनीतिक स्थायीत्वका लागि पनि कांग्रेस बलियो हुनु आवश्यक रहेको बताए । कार्यक्रममा कांगे्रस केन्द्रीय सदस्य अमृत अर्याल, हसन अन्सारी, पद्मनारायण चौधरी, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, कांग्रेस मोरङ सभापति डिकबहादुर लिम्बू, कांग्रेस पाँचथरका सभापति नरेन्द्र केरुन लगायतका नेताले पार्टी संगठित हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित फोटो प्रर्दशनीको समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया