आदित्यनाथको भ्रमण तालिका सार्वजनिक

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपंचमीमा अयोध्याबाट आउने जन्तीको प्रतिनिधित्व गर्दै जनकपुरधाम आउने भएका छन् ।

हिन्दु धर्म गुरुका संगै उत्तर प्रदेशका मुख्यमन्त्रीसमेत रहेका योगी आदित्यनाथ भारतका चर्चित शक्तिशाली तथा प्रभावशाली नेता मध्ये एक हुन् ।

विशुद्ध धार्मिक भ्रमणका लागि विवाह पंचमी मेलामा सहभागी हुन २६ मंसिरमा आउने उनको भ्रमण तालिका पनि तय गरिएको छ । प्राप्त जानकारी अनुसार २६ मंसिरमा एटिआर विमान मार्फत जनकपुरधाम विमानस्थलमा अबतरण गर्ने तय गरिएको छ ।

विमान अवतरणपश्चात मुख्यमन्त्री योगी जानकी माताको दर्शन गर्न जानकी मन्दिर प्रस्थान गर्ने र त्यसपछि केहि समयका लागि जनकपुरधामको रंगभुमी मैदानमा आयोजना गरिएको विवाह महोत्सव कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको जनकपुरधाम उपमाहानगरपालिकाका प्रमुख लालकिशोर साहले जानकारि दिए ।

मुख्यमन्त्री योगी आदित्यनाथ सोही दिन भारत फर्कने कार्यक्रम रहेको जनाइएको छ । विवाह पंचमीमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने हल्ला चलिरहदा भारतीय गृहमन्त्री राजनाथ सिंह पनि जनकपुरधाम भ्रमणमा आउने हल्ला चलेको थियो तर शुक्रवार भारतीय राजदुत र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहवीच भएको छलफल पश्चात उनीहरूको भ्रमण नरहेको खुलेको थियो ।

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउदा सम्पुर्ण सडक जाम गरिएजस्तो यसपल्ट त्यस्तो जाम नगरिने जनाइएको छ । मुख्यमन्त्री योगी आदित्यनाथको स्वागतका लागि तयारी सुरु गरिसकिएको नगर प्रमुख लालकिशोर साहले जानकारी दिएका छन ।

प्रतिक्रिया