‘शिक्षामा समतामूलक पहुँच र गुणस्तरीय सुधार आवश्यक’

काठमाडौं । शिक्षाकर्मी तथा नागरिक समाजका अगुवाले सार्वजनिक शिक्षामा समतामूलक पहुँच र गुणस्तरीय सुधार गर्नुपर्ने बताएका छन् ।

शुक्रबारदेखि शुरु भएको ‘शिक्षाका लागि विश्व अभियान’मा सहभागी उनीहरूले न्याय, समानता र समावेशिताका लागि सार्वजनिक शिक्षा सुदृढ बनाउनु पर्नेमा जोड दिएका हुन् ।

संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले सार्वजनिक शिक्षा विश्वव्यापी रुपमा जोखिममा पर्दै गएको भन्दै शिक्षाको रुपान्तरण गर्न स्थानीय तहमा कार्यरत अधिकारकर्मी तथा सरकारले संयुक्त पहल गर्नुपर्ने बताइन् । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बाल यौन दुव्र्यवहार, बलात्कार तथा बेचबिखन लगायतका घटनाले नैतिक मूल्यमा नै प्रश्न चिन्ह खडा गरेको बताएका छन् ।

नेपालमा विगतको एक दशकमा धेरै बालवालिका विद्यालयमा आएको र शिक्षाको सुचाङ्कमा प्रगति भए तापनि सार्वजनिक शिक्षामा भने सुधार हुन नसकेको बताएका छन् । उनले यस्ता घटनाले गहन अवस्था सिर्जना गरेको बताउँदै विश्वव्यापी सम्मेलनमा प्रमुखताका साथ छलफल गर्नुपर्ने बताए ।

शिक्षाका लागि विश्वव्यापी अभियानकी अध्यक्ष क्यामिला क्रोसोले विश्वलाई शिक्षाले मात्र परिवर्तन गर्नसक्ने र यसका निमित्त सबैले रचनात्मक, अर्थपूर्ण र प्रभावकारी कार्य गर्नुपर्नेमा जोड दिइन् ।

दिगो विकास लक्ष्य ४ र सन् २०३० सम्मको शिक्षा कार्यान्वयनको तीन वर्ष बितिसक्दा शिक्षामा पहुँच वृद्धि तथा लैङ्गिक विभेद केही कम भएपनि विद्यालयमा भर्ना भएका लाखौँ बालबालिकाको शिक्षाको गुणस्तर अझैंपनि जोखिममा रहेकोमा उनले चिन्ता व्यक्त गरिन् ।

शिक्षामा रहेको लैङिक विभेदलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघ बालिका शिक्षा अभियानकी निर्देशक नोरा फ्लाइसले बालिका शिक्षाले बालिकाको जीवनमात्र नभएर उनीहरूको परिवार, समाजको र सम्पूर्ण विश्वकै स्वरुप परिवर्तन गर्ने बताइन् ।

विश्वभरका शिक्षा अधिकारकर्मीहरूको साझा सञ्जालको रुपमा रहेको सो अभियानको सम्मेलनमा सय भन्दा बढी देशका २ सय ५० जनाभन्दा बढि शिक्षाप्रेमीहरू सहभागी भएका छन् । यस अभियानले न्याय, समानता र समावेशीताको लागि सार्वजनिक शिक्षाको रुपान्तरणमा जोड दिँदै आएको छ ।

प्रतिक्रिया