उत्तर कोरियाद्वारा ‘नौलोअस्त्र’ को परीक्षण

प्योङयाङ । उत्तर कोरियाली नेता किम जङ(अनले ‘उच्च प्रविधियुक्त’ एउटा नयाँ अस्त्रको सफल परीक्षणको सुपरिवेक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । परीक्षण गरिएको नयाँ अस्त्र कस्तो खालको हो भन्नेबारे केसीएनए समाचार संस्थाले विस्तृत विवरण चाहिँ खुलाएको छैन ।

लामो समयपछि अस्त्रको परीक्षण गरिएको मात्रै उसले उल्लेख गरेको छ। तर यो वर्ष जानकारीमा आएको यो पहिलो महत्त्वपूर्ण परीक्षण भएको बताइएको छ । गत जुनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले किमसँग ऐतिहासिक शिखर बैठक गरेका थिए, जहाँ किमले पारमाणविक निरस्त्रीकरणका लागि काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

शिखर बैठकमा भएको सहमतिमा उत्तर कोरियाले निरस्त्रीकरणका काम गर्ने उल्लेख छ । तर त्यसका लागि समयसीमा, विस्तृत विवरण वा प्रमाणीकरण प्रक्रियाको संयन्त्रबारे केही उल्लेख गरिएको छैन । ट्रम्प–किमबीच दोस्रो शिखर बैठकको मिति तोक्ने विषयमा यसै हप्ता हुने भनिएको बैठक पनि हुन सकेन र सिंगापुरको ऐतिहासिक शिखर बैठकपछि प्योङयाङ र वाशिंगटनबीचको सम्बन्धमा पनि तिक्तता देखिन थालेको छ ।

उत्तर कोरियाली सञ्चारमाध्यमले परीक्षण गरिएको अस्त्रको प्रकृतिबारे केही खुलाएको त छैन, तर उसका क्षेप्यास्त्र अखडाको सञ्जालबारे एउटा भूपउपग्रह तस्वीरमा एउटा रिपोर्ट सार्वजनिक भएपछि पछिल्लो खबर आएको हो । उत्तर कोरियाबाट कस्तो खालको अस्त्रको परीक्षण गरिएको हो भन्नेबारे अध्ययन गरिरहेको दक्षिण कोरियाले प्रतिक्रिया दिएको छ ।

धेरैले भन्ने गरेका छन्, उत्तर कोरियाले अस्त्र विकास नगर्ने र क्षेप्यास्त्र केन्द्रहरू बन्द गर्ने विषयमा कुनै सहमति जनाएको अवस्था नै होइन । केसीएनएले भनेको छ, ‘किम जङ(अनले राष्ट्रिय प्रतिरक्षा विज्ञान प्रतिष्ठानमा उच्च प्रविधियुक्त एउटा नयाँ अस्त्र परीक्षणको अवलोकलन गर्नुभएको छ ।’

‘उच्च प्रविधियुक्त अस्त्रको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ ।’ पछिल्लो परीक्षणप्रति किमले ‘ठूलो सन्तुष्टि’ जाहेर गरेको केसीएनएले उल्लेख गरेको छ ।

प्रतिक्रिया