नेकपाको भागबन्डा टुंगियो

दार्चुला । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएका एकीकरणपश्चात् केन्द्रदेखी स्थानीय तहसम्म भागबन्डा मिलाउने क्रम चलिरहेको छ । केन्द्र तथा प्रदेशस्तरीय कमिटीमा भागबन्डाको टुंगो यसअघि नै लागि सके पनि स्थानीय तहमा टुंगो लगाउन बाँकी रहेको थियो । यस्तै जिल्ला स्तरमा पनि मोटामोटी भागबन्डा लगाइसकेको छ ।

यसैबीच नेकपाले दार्चुला जिल्लाका नौ ओटै स्थानीय तहमा भागबन्डा लगाएको छ । जिल्लाका नौ ओटा स्थानीय तहमध्ये पाँच स्थानीय तहको अध्यक्षमा तत्कालीन एमालेलाई दिइएको छ भने चार स्थानीय तहमा तत्कालीन माओवादी केन्द्रले पाएको छ । अध्यक्ष एक पार्टीको र सचिव अर्काे पार्टीलाई पर्ने गरी भागबन्डा टुंग्याइएको नेकपा जिल्ला नेता उदयसिंह बडालले जानकारी दिए ।

व्याँस गाउँपालिका, मालिकार्जुन गाउँपालिका, शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र अपीहिमाल गाउँपालिका गरी पाँच स्थानीय तहमा अध्यक्ष पदको जिम्मेवारी तत्कालीन एमालेले पाएको छ भने महाकाली नगरपालिका, दुहूँ गाउँपालिका, लेकम गाउँपालिका र नौगाढ गाउँपालिका गरी चार स्थानीय तहको जिम्मेवारी तत्कालीन माओवादीले पाएको छ ।

महाकाली नगरपालिकामा माओवादीलाई अध्यक्ष पद दिइएको छ भने एमालेलाई सचिव पद दिइएको छ । अध्यक्षमा खडकसिंह धामी अध्यक्ष र बहादुरसिंह खाती सचिव रहने गरी टुंगो लगाइएको नेकपा नेता बडालले बताए । यस्तै शैल्यशिखर नगरपालिकामा विजयसिंह धामी अध्यक्ष र मोहनसिंह साउद सचिव, व्याँस गाउँपालिकामा नागेन्द्र तिंकरी अध्यक्ष तथा उपेन्द्र सिंह कुवँर सचिव रहने गरी बागबन्डा टुंग्याइएको छ ।

त्यस्तै दुहूँ गाउँपालिकामा मनोरथ भट्ट अध्यक्ष र सचिवमा प्रेमसिंह कार्की, मालिकार्जुन गाउँपालिकामा हरकसिंह ठगुन्ना अध्यक्ष, सचिवमा कृष्णराज पन्त रहने गरी बागबन्डा मिलाइएको छ । यस्तै नौगाढ गाउँपालिकामा दल्जितसिंह धामी अध्यक्ष, सचिवमा नरेन्द्रसिंह ठगुन्नालाई जिम्मेवारी दिइएको छ ।

मार्मा गाउँपालिकाको अध्यक्षमा देवसिंह महर अध्यक्ष, धीरेन्द्रसिंह धामी सचिव र अपीहिमाल गाउँपालिकामा पोखरसिंह रोकाया अध्यक्ष तथा जीवन लोथ्याल सचिव रहने गरी स्थानीय तहमा पनि टुंगो लगाइएको नेकपा नेता उदयसिंह बडालले जानकारी दिए ।

अधिकांश स्थानीय तहको अध्यक्षमा स्थानीय निर्वाचनमा अध्यक्ष पदमा पराजित उम्मेदवारहरूलाई नेकपाले अध्यक्ष बनाएको छ । महाकाली नगरपालिकामा खडकसिंह धामी, मार्मा गाउँपालिकामा देवसिंह महर, नौगाढ गाउँपालिकामा दल्जितसिंह धामी गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी थिए ।

यस्तै दार्चुला जिल्लामा जिल्ला कमिटिको समेत भागबन्डा टुंगो लागिसकेको छ तर सार्वजनिक हुन बाँकी रहेको नेकपा जिल्ला नेता उदयसिंह बडालले बताए । नेकपा दार्चुलाको जिल्ला कमिटी अध्यक्षमा गणेश खत्री र सचिवमा उदयसिंह बडालकोे नाम सिफारिस भएको छ तर सार्वजनिक हुन बाँकी रहेको नेता बडालले बताएका छन् ।

प्रतिक्रिया