निर्मलाका हत्यारा पक्रन ढिलासुस्ती गरियोः थारू

बुटवल । प्रदेश–५ प्रदेशसभा उपसभामुख कृष्णी थारूले हिंसा न्यूूनीकरणका लागि विचार र व्यवहार परिवर्तन गर्नुपर्ने बताएकी छन् । ‘कार्यान्वयनमा केही ढिलासुस्ती भएको हो तर ढिलै भए पनि अपराधी पक्राउ पर्नेछन्’ उनको विश्वास छ ।

प्रदेश सरकारको संरचना जिरोबाट सुरु भएको भन्दै उनले हिंसा न्यूूनीकरणका लागि सरकार प्रतिबद्ध भएको उल्लेख गरिन् । थारूले हिंसा दबाएर बस्ने बानी सबैले हटाउनुपर्ने बताइन् । ‘हिजो पनि हिंसा भएको थियो, आज हिंसा बाहिर आउन थाले, कुनै न कुनै हिसाबले महिला हिंसामा नै परे, अब रोक्नुपर्छ, विचार र व्यवहार परिवर्तन गरौँ,’ उनले भनिन् ।

अपराधीलाई कारबाही, आर्थिक सशक्तीकरण र दिगो जीविकोपार्जनको बाटोमा महिलाहरूलाइ अगाडि बढाउनुपर्ने थारूको भनाइ छ । महिला हिंसा न्यूनीकरण तथा अवस्थाका सन्दर्भमा रिपोर्टर्स क्लब प्रदेश–५ द्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै थारूले हिंसा न्यूनीकरणका लागि सबैको चासो हुनुपर्ने उनको धारणा छ ।

प्रदेश सभा–५ ले अहिलेसम्म दुई वटा अधिवेशनमा १५ विधेयक प्रमाणीकरण गरेको उनले जानकारी दिइन् । विभिन्न विषयगत समितिहरू बनेको बताउँदै उनले कानुन बने पनि कार्यान्वयनको पाटो अझै पनि फितलो रहेको उल्लेख गरिन् ।

पूर्व सांसद तथा संघीय समाजवादी फोरम नेपाल केन्द्रीय सदस्य कमला विकले निर्मला पन्त बलात्कार र हत्याका दोषीलाई राज्यले संवेदनशील भएर कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन् । विकले भनिन्, ‘हाम्रो समाजमा हिंसा अन्त्य नै हुनुपर्छ, जिम्मेबार निकायले यसमा ध्यान दिनुपर्यो ।’

तीनै तहका सरकारले हिंसा न्यूनीकरणका लागि कानुन निर्माण गर्नुपर्ने विकको धारणा छ । दोषीलाई राज्यले उम्काउने प्रयास गरिरहेको भन्दै विकले दोषी जुन पार्टी र सम्बन्धको भए पनि कारबाहीको दायरामा ल्याउनुुपर्ने बताइन् ।

पूर्वसांसद तथा पत्रकार महासंघ रूपन्देहीका पूर्वअध्यक्ष बिनोद पहाडीले मुलुकमा दण्डहीनता मौलाउँदै गएको बताए । राज्यसँग धेरै संयन्त्र हुँदा पनि राज्य दण्डहीनताको बाटोमा अगाडि बढेको भन्दै उनले राज्य नै यसमा संलग्न रहेको दाबी गरे । मिडिया पनि सतही रूपमा दौडेको भन्दै धेरै विषयबस्तु लुकेको बताए । मिडियाले सरकारलाई खबरदारी गर्नुपर्ने उनको भनाइ छ । ‘अहिले दरबार नहँुदा पनि दोषीलाई कारबाही गर्न कसले रोक्यो ?’ उनको प्रश्न छ ।

अधिवक्ता महेन्द्र पाण्डेले कानुन बलियो भए पनि कार्यान्वयन फितलो भएको बताए । पाण्डेले अहिले बलियो सरकार बने पनि हिंसा न्यूनीकरणमा सरकार फेल भएको धारणा राखे । ‘अदालती प्रक्रिया पनि दूधले नुहाएका छैनन् । तर, राज्य संयन्त्र पनि यसमा सहभागी छ, नागरिक विश्वस्त हुन सकेनन् । कानुन कागजी बाघजस्तो भयो, पढ््ने मात्र होइन कार्यान्वयन हुनुपर्छ’, उनको भनाइ छ ।

इन्सेक रूपन्देही प्रतिनिधि रिमा बिसीले हिंसा न्यूूनीकरणका लागि सामूहिक प्रतिबद्धता हुनुपर्ने बताइन् । हिंसा गर्दिनँ र सहन्न भन्ने प्रतिबद्धता चाहिने उनको भनाइ छ । उनले हिंसा विगतमा पनि हुने तर अहिले बाहिर आउने क्रम बढेको बताइन् ।

रूपन्देहीमा दुुई सयभन्दा बढी हिंसा वार्षिक रूपमा हुने र १० भन्दा बढी पुरुष पनि हिंसामा परेको बताइन् । निर्मला पन्त काण्डमा राज्य हरेक तरहले चुकेको उनको धारणा छ । अपराधलाई प्रोत्साहित गर्ने काम प्रहरी प्रशासनबाटै भएको बिसीको भनाइ थियो ।

रिपोर्टर्स क्लब प्रदेश–५ का प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रदेश सदस्य कपिल ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया