बुद्धजन्मस्थलको प्रचार गर्न त्रिपिटक पाठ

बुटवल । बुद्धजन्मस्थल लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ सुरु भएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा शाही थाई मन्दिर र लुम्बिनी विकास कोषको सहकार्यमा अन्तर्राष्ट्रिय जगत्मा बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी उद्यानमा अन्तर्राष्ट्रिय सामूहिक त्रिपिटक पाठ सुरु भएको हो ।

अन्तर्राष्ट्रियस्तरको त्रिपिटक पाठ नेपालमा भएको यो पहिलोपटक हो । बुधबारबाट सुरु भएको पाठ तीन दिनसम्म चल्नेछ । विगत १५ वर्षदेखि बोधगयामा हुँदै आएको पाठ यसपटक लुम्बिनीमा गरिएको आयोजक संस्था अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताए ।

त्रिपिटकमा नेपाल, भारत, श्रीलंका, म्यानमार, क्याम्बोडिया, थाइल्यान्ड, चीन, कोरिया, जापानलगायत १८ देशका बौद्ध भिक्षु, लामा, भिक्षुणी, अनागारिकाहरू गरी करिब तीन सयले सामूहिक पाठ सुरु गरेका छन् । नेपालमा योभन्दा पहिला अमृतानन्द भन्तेले कल्पना गरेअनुसारको संगायना देशना ०४५ सालमा भएको थियो ।

त्यसयता यस किसिमको कुनै कार्यक्रम आयोजना हुन सकेको छैन । तीन दिनको कार्यक्रममा थाई भिक्षुहरूको नेतृत्वमा पाठ हुनेछ भने नेपाली भिक्षुहरूको नेतृत्वको सत्र पनि हुनेछ । त्यस्तै क्रमशः बर्मा, श्रीलंका र क्याम्बोडियाका भिक्षुहरूको नेतृत्वमा एक-एक घण्टा पाठ हुनेछ ।

अन्तिमदिन मायादेवी मन्दिरको वरिपरि मैनबत्तीसहितको शान्ति पदयात्रा तथा द्वीप प्रज्वलन कार्यक्रम गरिने आयोजकले जनाएका छन् । यसका साथै दुई दिन नेपालकै प्रतिष्ठित बौद्ध विद्वानहरूबाट धर्म देशना पनि हुने कार्यक्रम छ । संस्कृतिविद्हरूले त्रिपिटक पाठपछि अन्तर्राष्ट्रिय जगत्मा लुम्बिनीको महिमा थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

त्रिपिटक पाठमा लुम्बिनी क्षेत्रका स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रतिनिधि एवं रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर पनि सहभागी थिए ।

प्रतिक्रिया