चावहिल र माइतीघरमा आकाशे पुल

काठमाडौं । काठमाडौं महानगरपालिकाले पैदलयात्रुको चाप बढी भएको स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ । उपत्यकाको सवारी चाप साथै ट्राफिक व्यवस्थापनलाई मध्य नजर गर्दै आकाशेपुल निर्माण गर्न लागेको कामपाले जनाएको छ ।

कामपाले आर्थिक वर्ष ०७५-७६मा नयाँ आकाशे पुल निर्माण गर्न १२ करोड बजेट छुट्याएको छ । यही बजेटबाट अत्यावश्यक ठाउँमा पुल बनाउन लागिएको काठमाडौ महानगरपालिकाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर रामबहादुर थापाले जानकारी दिएका छन् ।

यी दुईबाहेक अरू कुन स्थानमा आकाशे पुलको आवश्यक छ भन्ने अध्ययन भइरहेको छ । उनले भने,‘माइतीघर र चाबहिलपछि अरू स्थानमा पनि त्यस्तो पुल निर्माण गरिनेछ ।’ पहिलो चरणमा यी दुई स्थानमा आकाशे पुल निर्माण गरिने भएको हो ।

अन्य स्थानमा आवश्यकता हेरी निर्णयको तयारी भइरहेको छ । दुबै स्थानमा निर्माण गर्न लागिएको पुलको लागि नमुना तयार भइसकेको छ । छठ लगत्तै निर्माणको लागि बोलपत्र आह्वान गरिने इञ्जिनीयर थापाले बताए ।

दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि कामपाले एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिने पुल निर्माण गर्न लागेको हो । ट्राफिक प्रहरी र सडक विभागसँग समेत सहकार्य गरी पुल निर्माणको काम अघि बढ्ने कामपाले जनाएको छ ।

कामपाले निर्माण गर्न लागेको आकाशे पुलको सम्पुण भाग स्टिलको हुनेछ । जगदेखि नै स्टलको नै बन्ने भएकाले आवश्यक परेको खण्डमा सो पुल सानैसमेत सकिने छ । इञ्जिनीयर थापाका अनुसार नट कस्ने भएकाले सो पुल सार्दासमेत कुनै क्षति वा असर पर्दैन ।

आकाशे पुल बनाउने अन्य सम्भावित स्थानका रूपमा टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल (काठमाडौं जिल्ला अदालत), पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोक रहेको छ । सवारीसाधनको अत्याधिक चाप हुने सो क्षेत्रमा त्यस्तो पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या पर्दै आएको छ ।

अब बन्ने सबै पुलमा विज्ञापन राख्न पाइने छैन । विज्ञापन राख्न नमिल्ने गरी नै आकाशे पुलको ढाँचा तयार भएको र अन्यको तयारी चरणमा छ । महानगरले यसअघि निर्माण गरेको आकाशे पुलमा विज्ञापन राखेर आम्दानी गर्दै आएको थियो ।

सहरको सुन्दरतालाई ध्यान दिँदै कामपाले केही समयदेखि जथाभावी विज्ञापन, पर्चा पम्पलेट, पोस्टर टाँस्न रोक लगाएको छ । यसअघि स्थानान्तरण गर्न सकिने पुल पहिलोपटक परीक्षणका रूपमा पुरानो बसपार्क अगाडि बनेको थियो ।

अहिले कामपाभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क-बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल सञ्चालनमा छन् । रत्नपार्कमा एउटा सव–वे छ । भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छ । अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताइएको छ ।

वीर अस्पताल अगाडिको पुल अत्यन्त जीर्ण छ । कामपाभित्रका यसअघिका पुल निजी क्षेत्रले बनाएकोले मर्मत पनि निजी क्षेत्रले नै गर्नुपर्ने उनले बताए । सबै पुराना पुल मर्मतको लागि पनि महानगरले समन्वय गरिरहेको छ । कामपाले चालु आव ०७५÷७६ को लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालु आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिनेछ ।

प्रतिक्रिया