शोभराजलाई किन नछाडेकाे ?

काठमाडौं । विगत १५ वर्षदेखि नेपालको जेलमा रहेका कुख्यात सिरियल किलर चाल्र्स शोभराजले रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् । निवेदन दिएकै भोली पल्ट मंगलबार सर्वोच्चले सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

शोभराजले नेपालको संविधान, कारागार नियमावली, सजाय माफी मुल्तबी, परिवर्तनसम्बन्धी कार्यविधि, ज्येष्ठ नागरिक ऐन र सर्वोच्च अदालतकै विगतका नजिरका आधारमा आफूले छुट पाउनुपर्ने निवेदनमा दाबी गरेका छन् ।

२६ प्रतिशत मात्र कैद भुक्तान गर्न बाँकी रहेको अवस्थामा समेत सजाय माफी नभएको उनले निवदेनमा जिकिर गरेका छन् । शोभराजको निवेदनमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

न्यायाधीश राणाको इजलासले सरकारसँग लिखित जवाफ माग्दै १५ दिनभित्र जवाफ दिन भनेको छ । अधिवक्ता शकुन्तला थापाले शोभराजको उमेर ७५ वर्ष पुगिसकेको हुनाले सहुतिलय दिन माग गर्दै सोमबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी छन् ।

२ असोज ०६० देखि १ असोज ०८० सम्म २० वर्ष कैद भुक्तान गर्नुपर्नेमा १५ वर्ष भुक्तान गरेको निवेदनमा शोभराजले दाबी गरेका छन् । केन्द्रीय कारागार प्रमुखले २० वैशाख ०७५ मा कारागार नियमावलीअनुसार ज्येष्ठ नागरिकले पाउने छुट सुविधाअन्तर्गत २६ प्रतिशत मात्र कैद बाँकी रहेकाले सिफारिस गरेको तर सुविधा नपाएको उनको दाबी छ ।

शोभराजले यसअघि नेपालको कारागारमा रहेका अमेरिकी नागरिक फेनिज मेसिनटोसको नजिरलाई देखाउँदै छुट माग गरेका थिए । मेसिनटोसको मुद्दामा सर्वोच्चले ७ वर्ष कैद सजाय भएकोमा ३ वर्ष ८ महिना २१ दिन जेल बसेपछि छुट दिएको थियो । क्यान्सरको गम्भीर बिरामी भएका र ७५ वर्षको वृद्ध अवस्थाका आधारमा उनलाई ३ वर्ष ३ महिना ७ दिन कैद छुट दिने फैसला सर्वोच्चले गरेको थियो ।

कारागारमा रहेका उनी सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन लिएर गएका थिए । २५ भदौ ०७५ मा उनी रिहा भएको तर आफू भने ७० वर्ष उमेर पार गर्दासमेत उक्त सुविधावाट वञ्चित भएको शोभराजको जिकिर छ । शोभराजले आफू मात्र त्यस्तो विदेशी कैदी भएको जो १५ वर्षदेखि नेपालको जेलमा रहेको दाबी गरेका छन् । अन्य विदेशी कैदीहरू ८ देखि १० वर्षमा रिहा भएको तर आफूमाथि अन्याय भएको उनको निवेदनमा दाबी गरिएको छ ।

६ पुस ०३२ मा क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेको प्रकरणमा शोभराज भक्तपुर जिल्ला अदालतबाट दोषी ठहर भएका थिए । उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले ६ पुस ०३२ मा मुद्दा दायर गरेका थिए ।

त्यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्यामा उनकै संलग्नता थियो । अमेरिकन युवती कोनी ब्रन्चिजको हत्या मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज प्रहरीलाई छक्याउँदै भाग्न सफल भएका थिए । ०६० मा नेपाल आउँदा भने उनी प्रहरीको पञ्जाबाट फुत्किन सकेनन् ।

प्रतिक्रिया