काठमाडौंको ट्राफिक सधैं सकस

काठमाडौं । काठमाडौं उपत्यकामा ११ लाख सवारीसाधन नाघेपछि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

सबै मूल सडकका चोकमा ट्राफिक बत्ती नहुँदा र सीमित ट्राफिक प्रहरीबाट काठमाडौं महानगरको ट्राफिक व्यवस्थापन गर्नुपर्दा चुनौतीपूर्ण भएको उच्च ट्राफिक प्रहरी अधिकारीको भनाइ छ ।

विशेषगरी देशका अन्य १३ अञ्चलमा दर्ता भएका २० लाखभन्दा बढी गाडीको चापसमेत राजधानीमा परेकाले व्यवस्थापकीय पक्ष कठिन बनेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त बताउँछन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४-७५ मा मुलुकभर ३२ लाख २१ हजार ४२ सवारीसाधन दर्ता भएका छन् ।

तीमध्ये वाग्मती अञ्चलमा मात्रै ११ लाख ७२ हजार ४१३ सवारीसाधन दर्ता भएको छ । मुलुकभर दर्ता भएकामध्ये ३६ दशमलव ४० प्रतिशत सवारीसाधन बाग्मतीमा गुड्ने गर्छ ।

महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक पन्तले बाग्मती अञ्चलमा दर्ता भएका सवारी साधनमध्ये ९७ प्रतिशत निजी सवारी रहेको बताए । बाग्मतीमा दर्ता भएका गाडीमध्ये ९० प्रतिशत उपत्यकामा गुड्दा ट्राफिक व्यवस्थापन थप चुनौतीपूर्ण हुने गरेको उनी बताउँछन् ।

बाग्मतीमा दर्ता भएका सवारीसाधनमध्ये ९ लाख २१ हजारभन्दा बढी मोटरसाइकल मात्रै छ । बस र ट्रक ४८ हजार २ सय ४२, पावर टिलर र डोजरको संख्या १३ हजार ५ सय ५३ छ । यसैगरी, कार र जीपको संख्या एक लाख ४२ हजार ३ सय ३१ छ भने टेम्पो र माइक्रोबस ६ हजार ३ सय ३० दर्ता भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्ला समयमा अत्यधिक रूपमा निजी सवारी भित्रिएको र देशका ७७ वटै जिल्लाबाट गाडी काठमाडौंमा आउने र बाहिर दर्ता भएका सवारीसाधनसमेत काठमाडौंमै चल्ने हुँदा ट्राफिक व्यवस्थापन थप जटिल बन्ने गरेको छ । सडक विभागको तथ्यांकमा उपत्यकाको सडक दुई हजार १४ किलोमिटर छ ।

एक लेनको ६ सय ६० किमी, दुई लेन २ सय ३९ किमी र चार लेनको सडक १ सय ९३ किमी छ । उपत्यकामा एक जना ट्राफिक प्रहरीले औषत ८ सय १४ वटा सवारीसाधन व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसैगरी, एक जना ट्राफिक प्रहरीले एक दशमलव ५ किमी सडकको ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको प्रहरी वरिष्ठ उपरीक्षक पन्त बताउँछन् ।

काठमाडाैं उपत्यकामा दैनिक करिब १० लाख सवारी गुड्छन् । ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा एक हजार ४ सय ट्राफिक प्रहरीले काम गर्दै आएका छन् । ट्राफिक व्यवस्थापनमा प्रविधियुक्त नगरेसम्म प्रभावकारी हुन नसक्ने निष्कर्ष प्रहरीको छ ।

उपत्यकामा विभिन्न पूर्वाधार निर्माण तथा खाल्डाखुल्डीका कारण सडकको अवस्था कमजोर छ भने सबै क्षेत्रमा आकासे पुल बन्न सकेको छैन । व्यक्ति सडकबाट हिँड्ने अवस्था हटाउन सकिएको छैन । ट्राफिक संकेतहरूको समेत अभाव छ । पुलमुनी सडक खोल्न सकिएको छैन । फुटपाथ, खाल्डाखुल्डी र पोल व्यवस्थापन हुन नसक्दा ट्राफिक व्यवस्थापन हम्मेहम्मे पर्छ ।

निजी सवारी दिनप्रतिदिन बढ्दै गएको र तीन पांग्रे सवारीको प्रयोग, आधुनिक प्रविधिको कमी तथा नागढुंगा, कोटेश्वरमा प्रहरीले नै अभिलेख राख्नुपर्ने अवस्थाले जाम बढ्दो रहेको प्रहरीको निष्कर्ष छ । पार्किङको अभाव, मोटर ग्यारेजलाई व्यवस्थापन गर्न नसक्नु, चक्रपथबाहिर पार्किङको व्यवस्था गर्न नसक्नुले चुनौती कायमै छ ।

ट्राफिक ज्ञानको कमी र व्यक्ति कै धारणामा परिवर्तन हुन नसकेकाले ट्राफिक शिक्षालाई विद्यालय तहबाटै जोड्नुपर्ने माग प्रहरीको छ । ‘यहाँ ६० वटा गाडी ल्याउनु र ६० जना बोक्ने एउटा गाडी ल्याउनुमा निकै फरक पर्छ,’ प्रहरी वरिष्ठ उपरीक्षक पन्तले भने, ‘यसतर्फ ध्यान जानुपर्छ ।’ स्मार्ट लाइट, सिसी टिभीको व्यवस्था, डिजिटल अभिलेख प्रणाली, जिपिएसको प्रयोग र ट्राफिक चिल्ड्रेन पार्क बनाउन सके ट्राफिक व्यवस्थापन सहज हुने अनुमान प्रहरीको छ ।

निजी तथा साना एवं पुराना र तीन पांग्रे सवारीलाई निरुत्साहित गर्नेतर्फ ध्यान दिनुपर्ने प्रहरीले ठम्याई छ । उक्त विषय समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत ट्राफिक प्रहरीले प्रतिवेदन बुझाएको छ । नेपालमा १९५८ सालमा राणा प्रधानमन्त्री वीर शमशेरको पालामा पहिलोपटक कार भित्रिएको थियो । त्यसवेला रामदलबाट ट्राफिक नियन्त्रणको काम थालिएको थियो । ०५९ मा बल्ल आएर उपत्यकाको १० स्थानबाट ट्राफिक बत्तीको व्यवस्था सुरु गरिएको थियो ।

प्रतिक्रिया