कर्जा नतिर्ने कालो सूचीमा

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ ।

कोषले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेका कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट वञ्चित गर्ने, कालो सूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानुनी कारबाही गर्ने तयारी गरेको छ । कोषको भाखा नाघेको कर्जा उठ्न बाँकी २७ करोड ५ लाख ६४ हजार ५ सय ७९ रहेको छ । सो कर्जा नतिर्नेलाई कानुनी प्रक्रिया अगाडि बढाएको कोषका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद गौतमले बताए ।

कोषले हालसम्म ३ अर्ब ५९ करोड ३१ लाख ३३ हजार ८ सय ९६ लगानी गरेको छ । त्यसमध्ये ४ अर्ब २२ करोड ७ लाख ४१ हजार १ सय ४ लगानीमा रहेको छ । नेपालका १८ देखि ५० वर्षका बेरोजगार युवालाई स्वरोजगार बनाई तिनमा रहेको सीप, प्रतिभा र जाँगरलाई देशभित्रै प्रस्फुटित हुने अवसर प्रदान गर्ने लक्ष्यका साथ सरकारले ०६५ सालमा सो कोष स्थापना गरेको हो ।

आर्थिक रूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, अपांगता, घाइते तथा सहिद परिवार एवं परम्परागत रूपबाट पिछडिएका जातजाति र वर्गलाई तालिम र कर्जाको पहुँचमा विशेष प्राथमिकता दिई स्वरोजगार हुने अवसर प्रदान गर्ने कोषको प्रमुख लक्ष्य रहेको छ ।

कोषले व्यावसायिक खेती, कृषिजन्य उद्योग वा सेवामूलक कार्यक्रममा उद्यमशीलता विकास गरी स्वरोजगार बन्न व्यक्तिलाई प्रतिव्यक्ति २ लाखसम्म र समूहमा काम गर्न चाहनेलाई बढीमा २५ जनाको समूहमा आउनेलाई अधिकतम ५० लाखसम्म आवधिक ऋण बैंक, वित्तीय संस्था र सहकारी संस्थामार्फत प्रदान गर्ने गरेको छ ।

युवालाई स्वरोजगार बन्न तथा उद्यमशीलतालाई दिगो र सफल बनाउन आवश्यक व्यावसायिक तालिम निःशुल्क प्रदान गर्ने, स्वरोजगार बन्न आवश्यक पुँजी उपलब्ध गराएर विदेश पलायन हुने प्रवृत्तिलाई क्रमिक रूपमा घटाउँदै देश विकासमा टेवा पु¥याउने लक्ष्य रहेको छ । कोषको उद्देश्य र लक्षित कार्यक्रममा लगानी गरे÷नगरेको पनि अनुगमन गरिरहेको र कर्जा भुक्तानीका लागिसमेत ताकेता गरिरहेको कोषका कार्यकारी निर्देशक डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया