मेयरको तलब सामाजिक कार्यमा

बाँके । तलब भत्ता सामाजिक कार्यमा लगाउँदै आएका नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले जेष्ठ नागरिकको उत्थानका लागि ५० हजार सहयोग गरेका छन् ।

नगरप्रमुख डा. राणाले एक महिनाको आफ्नो तलब र भत्ता नेपालगञ्जस्थित नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रलाई सहयोग गरेका हुन् ।

केन्द्रले बिहीबारदेखि बागेश्वरी मन्दिरमा सुरु गरेको ६ दिने निःशुल्क मनोक्रान्ति कार्यशाला उद्घाटन समारोहमा डा.राणाले ५० हजार रुपैयाँको चेक केन्द्र अध्यक्ष सरिता खनाललाई हस्तान्तरण गरेका हुन् । डा. राणाले सरकारबाट पाइएको सम्पूर्ण तलब र भत्ता मानवीय सेवामै खर्च गरिने उद्घोष गर्दै प्राथमिकताका आधारमा तलब सहयोग प्रदान गरिँदै आइएको स्पष्ट पारे ।

केन्द्रका प्रमुख संरक्षकसमेत रहेका मनोक्रान्ति अभियन्ता डा. योगी विकासानन्दले नगरप्रमुखको सहयोगले मानवीय सेवामा समर्पित व्यक्ति र संस्थालाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै धन्यवाद ज्ञापन गरे । आत्मज्ञान र सकारात्मक मनस्थिति निर्माण र सेवामा जनप्रतिनिधिको अहम् भूमिका हुने उनले दाबी गरे ।

केन्द्र अध्यक्ष सरिता खनालले मनोक्रान्ति प्रवचन र योगामा सहभागी भई लाभ लिन सबैमा अपिल गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेलले कार्यशाला सफलताको शुभकामना दिए । कार्यशालामा डा. योगीले सकारात्मक सोच, सहज र सरल योग ध्यानविधि, परिणाममुखी प्रणायाम, बुद्ध ज्ञान, महाज्ञान साधनाकाबारे प्रवचन दिने मनोक्रान्ति केन्द्र नेपालगञ्जका अध्यक्ष अमन सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया